शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुडान द्वन्द्वः युद्धविरामका लागि बढ्दो बाह्य दबाब

शुक्रबार, ०८ वैशाख २०८०, २१ : ०६
शुक्रबार, ०८ वैशाख २०८०

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तरराष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । 

संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् । 

आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । 

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानले अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । 

आज बिहानैदेखि युद्धविराम लागू गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोली र विष्फोटका आवाज बन्द भएका छैन । यसअघि दुई पटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन । 

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।  

राष्ट्रसङ्घ अनुसार युद्धको विभिषिकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षलाई कम्तीमा आगामी आइतबारसम्म युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । 

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका  ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । 

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । 

यसैबीच, करिब एक साताअघि देशमा द्वन्द्व शुरु भएपछिको  पहिलो भाषण्मा सेनाप्रमुख बुरहानले नागरिक नेतृत्वको सरकारका लागि आफू  प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो सेना विजयी हुने र त्यसले सुरक्षित रुपमा नागरिक शासन बहाली गराउने उनले वाचा पनि गरेका छन् । 

सुडानी सेनाले आजै एक विज्ञप्ति निकालेर सेनाप्रमुख वुरहानलाई टर्कीए, दक्षिण सुडान तथा इथियोपियाली नेताका साथै अमेरिकी र कतारी विदेशमन्त्रीले फोन गरेको जनाएको छ ।-(रासस /एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप