बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाज

कानको झुम्का बेचेर विदेश पठाएको श्रीमान्‌ले नै दाइजोको निहुँमा आगो लगाइदिएपछि...

शनिबार, ०९ वैशाख २०८०, १२ : ४५
शनिबार, ०९ वैशाख २०८०

जनकपुरधाम । धनुषामा दाइजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाइजो बापत तीन तोला सुन नदिएपछि श्रीमतीलाई आगो लगाई हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो । ससुराले दाइजो बापत तीन तोला सुन नदिएपछि श्रीमान्‌ले शरीरमा आगो लगाइदिएको प्रादेशिक अस्पताल जनकपुरधामको वर्न वार्डमा उपचाररत वर्ष २८ की श्वेता झाले बताइन् । 

भारतको कोठिया दरभंगा माइती भएको श्वेताको विवाह १० वर्ष पहिले देवपुरा रुपैठाका शिवशङ्कर झा र द्रोपती देवीका छोरा राजीव झासँग बिहे भएको थियो । बुवाको दुई दाजुभाइ र एक्ली छोरी भएको श्वेताको विवाह १६ अप्रिल २०१२ (२०६८ चैत्र ३०) मा भएको थियो । केटा राम्रो पढे लेखेको छ, जागिर हुने वाला छ भन्दै झुकाएर उनको विवाह राजीवसँग भएको श्वेताको परिवारजनको आरोप छ । 

बिहेमा श्वेताको बुवाले दाइजोमा तीन तोला सुनसहितका अन्य सरसामानहरू दिने भनेका थिए । तर भारतको मुम्बईमा मजदुरी गरेर जीवनयापन गर्ने श्वेताको बुवाले  राजीवका घरपरिवारलाई दाइजो स्वरूप स्वीकारेका मध्ये दुई लाख भारु रुपैयाँ, होण्डा कम्पनीको मोटरसाइकल र आठ आना सुन मात्रै दिएको थियो । तर, दाइजोको रूपमा दिन स्वीकारेका अन्य सरसामानहरू दिए पनि बाँकी राखेको सुनको लागि उनको हत्याको प्रयास गरिएको श्वेताको बुवा जयकुमार झाले बताए ।

'दाइजोको कारण १० वर्षदेखि पारिवारिक यातना खेप्दै आएको छु । श्रीमान् विदेश जाँदा पनि मैले नै कानको झुम्का बेचेर दिएपछि उहाँ विदेश जानुभएको थियो । तर, विदेश गएपछि एक सुको पठाउनु भएन । '

वैशाख १ गते मदिरा सेवन गरेर ९ वर्षीय छोरा शिवमलाई कुटपिट गर्दा बचाउने क्रममा श्रीमान् राजीव झाले आफूलाई पनि कुटपिट गरेको श्वेताको भनाइ छ । त्यसपछि कुटपिट कै क्रममा सासू द्रोपति झा र देबर कमल झालाई बोलाएर श्रीमान्ले मरणासन्न हुने गरी कुटपिट गरेर शरीरमा आगो लगाइदिएको श्वेताले बताइन् । उनले भनिन्, 'मेरो जिउमा लागेको आगो घरमा सल्किन सक्ने देखेपछि आँगनमा ल्याएर राखिदिए । केही बेर जिउँमा आगो धम्की रहेको थियो । म छटपटाई रहँदा पनि कसैले बचाउन आएर । पछि छिमेकीहरूले आएर मेरो उद्धार गरे ।’

swaita

घटनापछि अस्पताल भर्ना गराउँदा प्रहरीले समात्ने डरले परिवारले आफूलाई अस्पताल लान पनि नमानेको श्वेता बताउँछिन् । भात पकाउने बेलामा भातको माड जिउँमा पोखियो भन्ने सर्तमा श्रीमानले अस्पताल ल्याएको उनको आरोप छ । 

‘उपचारको लागि ल्याएको जानकी हेल्थ केयरमा पनि झुटो नै बोल्न लगाए, कुटपिट गरिरहँदा मेरो छोराले मलाई कुटपिट गरिरहेको भिडियो कलमार्फत मेरो भाइलाई खबर गरेको थियो । र मेरो जिउँमा आगो लगाएको पनि देखाइदिएको थियो । त्यसपछि मेरो परिवारजन जानकी हेल्थ केयरबाट मलाई उद्धार गर्‍यो,’ उनले भनिन् । घटना घटेकै दिन उनको परिवारजन जनकपुर आएर श्वेताको उद्धार गरेको थियो । त्यसपश्चात् जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनलाई भर्ना गरेर राखिएको छ ।

‘दाइजोको कारण बिहेको डेढ वर्ष त माइती जानै दिएनन्' श्वेताले भनिन्, 'दाइजोको कारण १० वर्षदेखि पारिवारिक यातना खेप्दै आएको छु । श्रीमान् विदेश जाँदा पनि मैले नै कानको झुम्का बेचेर दिएपछि उहाँ विदेश जानुभएको थियो । तर, विदेश गएपछि एक सुको पठाउनु भएन । '

प्रादेशिक अस्पतालमा उपचाररत स्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । अस्पतालको बेडबाटै श्वेताले श्रीमान्‌सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएकी छिन् । 

श्रीमान् विदेश गएपछि उनी करिब ५ वर्ष माइती बसिन् । कोरोना कालमा ससुरा फर्केपछि ब्याचलर पढेकी श्वेता छोराछोरीको लालन पालन गर्न जनकपुरधामस्थित एक निजी स्कुलमा पढाउन थालेकी थिइन् । तर एक वर्षअघि फागुनमा विदेशबाट श्रीमान् घर फर्केपछि श्वेताले स्कुल पढाउन पनि छोडेकी थिइन् । 

श्रीमान् विदेशबाट फर्किदा जहिले रक्सी खाएर आउँने र घरमा यातना दिएपछि भदौमा स्थानीय प्रहरी चौकी फुलगामा सहयोगको लागि ३ पटक गुहार गरेको श्वेताको भनाई छ । तर, प्रहरी पनि श्रीमान्सँगै मिल्दा न्याय नपाएको उनको भनाइ छ । 

प्रादेशिक अस्पतालमा उपचाररत स्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । अस्पतालको बेडबाटै श्वेताले श्रीमान्‌सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले उजुरी प्राप्त भएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको र आरोपतिहरुको खोजी भइरहेको बताए । डिएसपी गौतमले यसअघि पनि उजुरी दिएको जनाउँदै पीडितले प्रहरीबाटै भएको कमीकमजोरीको समेत अनुसन्धान हुने आश्वासन दिए । 

धनुषामा २०७९ सालमा दाइजो सम्बन्धी घटना पाँच वटा र २०८० मा हालसम्म एउटा घटना घटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप