मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न आयोगको आग्रह

बिहीबार, १४ वैशाख २०८०, १५ : १०
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राजधानीको भुगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको जीवन रक्षा गर्न आग्रह गरेको छ । घिमिरे कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागहरू राखी गत वैशाख ५ गतेदेखि आमरण अनशनमा छन् । 

आयोगले घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जीवन अधिकारको रक्षा गर्न र सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो । 
‘अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरूको कार्यान्वयन हुन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘साथै आफ्ना मागहरू राख्दा आमरण अनसन जस्तो कठोर बाटो नरोज्नसमेत आयोग अनशनरत पक्षलाई अनुरोध गर्दछ ।’  

यसैबिच आयोगले अनसन स्थल पुगेर अनुगमन गर्नुका साथै अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । स्वास्थ्य परीक्षण गराउँदा उनको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको अनुगमनबाट पाइएको आयोगको भनाइ छ । 
आयोगले २०७५ सालमा किसानको अधिकारसम्बन्धी कानुनहरूको पुनरावलोकन तथा अध्ययन प्रतिवेदन तयार गरी नेपाल सरकारलाई १५ बुँदे सिफारिससमेत गरेको समेत विज्ञप्तिमा स्मरण गराएको छ ।  ‘जसमा कृषि प्रविधि, उपकरण तथा सूचनाको पहुँचको अधिकार, नीतिगत निर्णयहरूमा सहभागिताको अधिकार, किसान परिचय पत्र उपलब्ध गराई विशेष सहुलियतको व्यवस्था गर्न, किसानले उत्पादन गरेको खाद्यान्नको भण्डारण र सुरक्षण, बजार व्यवस्थापन र अन्नको सुरक्षा गरी किसानसहित सबै नागरिकलाई खाद्यान्नमा सहज पहुँचको व्यवस्था गर्न लगायतका सिफारिसहरू रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
नुवाकोटको ककनी निवासी घिमिरे खाली खुट्टाले हिँड्दै काठमाडौँ आएर असन सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप