बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको आरोप–प्रधानमन्त्रीले नै अराजक प्रवृत्तिलाई प्रोत्साहन गर्नुभयो

बिहीबार, १४ वैशाख २०८०, १६ : २५
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको आरोप लगाएको छ ।  

एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार भएको आक्रामणका बारेमा बिहीबार सिंहदरबारस्थिच गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएपछि बोल्दै एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले प्रदेश नामाकरण कानुनी रुपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको दाबी गरेका छन् । 

एमालेले देशको शान्ति सुरक्षामा चुनौतीका देखिएको भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको गराएको छ  । एमालेका विदेश विभाग प्रमुख  भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । 

उनले मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ ? भन्ने स्पष्ट पारेको बताए । उनले गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको पनि बताए । 

यस्तै नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या ८ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले वर्तमान एकपछि अर्को असफलतामा गुज्रिरहेको बताए ।  उनले वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए । 

यस्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताइन् । उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । 

उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढिरहेको पनि बताइन् । 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप