शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासङ्घको ऐक्यबद्धता

शनिबार, १६ वैशाख २०८०, १० : २७
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित कार्य समितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई स्वागत गरे ।

सो अवसरमा परिसंघ र महासङ्घले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठनहरू मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए । एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै अग्रवालले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए । ढकालले निजी क्षेत्रले सङ्गठित रूपमा उठाएका विषयहरूलाई सरकारले गम्भीरता पूर्वक लिएको बताउँदै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरूसहित सरकारलाई सुझाउनुपर्ने बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रूपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपायहरू खोज्नुपर्ने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप