सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सम्राट् चार्ल्सको राज्याभिषेकको खर्च कति, आधिकारिक व्यञ्जन के  ?

बिहीबार, २१ वैशाख २०८०, १५ : २१
बिहीबार, २१ वैशाख २०८०

बेलायतका सम्राट् चार्ल्सको राज्याभिषेक मे ६, २०२३ अर्थात् शनिवार हुनेछ । कार्यक्रम लन्डनको ऐतिहासिक शाही क्याथेड्रल वेस्टमिन्स्टर एबेमा हुनेछ । समारोहमा सम्राट् चार्ल्स र उनकी पत्नी रानी क्यामिलालाई राज्याभिषेक गरिनेछ ।

यस कार्यक्रमलाई ‘अपरेसन गोल्डेन ओर्ब’ नाम दिइएको छ । यस दिन के के हुन्छन्, त्यसबारे जानकारी लिऔँ ।

king charles1राज्याभिषेक कहिले हुनेछ ?

लन्डनमा स्थानीय समय अनुसार बिहान ११ बजे राज्याभिषेक समारोह सुरु हुनेछ । राजाको शाही जुलुस योभन्दा केही अघि वेस्टमिन्सटर एबेमा पुग्नेछ ।

राज्याभिषेक खासमा के हो ?

बेलायतको राजाको राज्याभिषेक एक प्रतीकात्मक धार्मिक समारोह हो । यति बेला राजालाई ताज लगाइन्छ । यो प्रतीकात्मक समारोहका बेला सम्राट्को टाउकोमा साँच्चै नै मुकुट राखिएको हुन्छ ।

यस राज्याभिषेकसँगै राजा औपचारिक रूपमा चर्च अफ इङ्गल्यान्डको प्रमुख बन्नेछन् र उनले यससँग सम्बन्धित उपाधिका साथै अधिकार प्राप्त गर्नेछन् । 

एड वर्ड सप्तमले राज्याभिषेक बिना शासन गरे । महारानी एलिजाबेथको मृत्युपछि चार्ल्स स्वतः राजा भएका थिए ।

king charles2राज्याभिषेकको मौकामा बैङ्कको बिदा कहिलेसम्म ?

सोमबार, मे ८, को दिन सम्पूर्ण बेलायतमा अतिरिक्त बिदा हुनेछ ।

बकिङ्घम प्यालेसले सप्ताहान्तको लागि कार्यक्रमहरूको आयोजनाको घोषणा गरेको छ । आइतबार, मे ७ मा विन्डसर क्यासलमा कन्सर्ट पनि हुनेछ । यसमा केटी पेरी, टेक द्‌याट र लियोनेल रिची जस्ता कलाकारहरू समावेश हुनेछन् ।

राज्याभिषेकको सप्ताहान्तको मौकामा शुक्रवार र शनिवार बेलायत र वेल्समा पब, क्लब र बार दुई घण्टा थप समयका लागि खोल्न सकिनेछ ।  

मानिसलाई सडकमा पार्टी गर्न र आफ्नो स्थानीय समुदायबीच स्वयंसेजाको काममा सहभागी हुनका लागि आमन्त्रित गरिएको छ । यी सबै कार्यक्रमहरू बिग हेल्प आउट पहल अन्तर्गत हुनेछन् ।

king charles3राज्याभिषेक कार्यक्रममा को को सहभागी हुनेछन् ?

बेलायतमा राज्याभिषेक एक सरकारी कार्यक्रम हो । यसको अर्थ कार्यक्रममा समावेश हुने पाहुनाको सूची सरकारले निश्चित गर्छ ।

शाही परिवारबाहेक बेलायतका प्रधानमन्त्री, संसद्का दुवै सदनका सदस्य, राज्याध्याक्ष र विश्वभरिका अन्य शाही परिवारका सदस्यलाई यो कार्यक्रममा समावेश हुनका लागि आमन्त्रण गरिएको छ । नेपालका परराष्ट्र मन्त्री एन पी साउद पनि चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बेलायत प्रस्थान गरिसकेका छन् ।

सम्राट् चार्ल्सका कान्छो छोरा ड्युक अफ ससेक्सले आफ्ना पिताको राज्याभिषेकको अवसरमा अमेरिकाबाट बेलायत पुग्ने बताएका छन् । तर, उनकी श्रीमती डचेस अफ ससेक्स समारोहमा उपस्थित हुने छैनन् ।

जनवरीमा आफ्नो विवादास्पद पुस्तक स्पेयरको प्रकाशन पछि राजकुमार ह्यारी शाही परिवारसँग पहिलो पटक सार्वजनिक रूपमा देखिनेछन् । 

संयोगवश, सम्राट् चार्ल्सको राज्याभिषेकको दिन प्रिन्स ह्यारी र मेघन मार्कलका छोरा राजकुमार आर्चीको चौथो जन्मोत्सव पनि परेको छ । तर, यस अवसरमा राजकुमार आर्ची आमासँग अमेरिकामा हुनेछन् ।

डचेज अफ योर्क पनि सम्राट् चार्ल्सको राज्याभिषेकको समारोहमा समावेश हुने छैनन् । उनलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा नपठाएको स्रोतले पुष्टि गरेको छ ।

डचेज अफ योर्कको, राजा चार्ल्सका भाइ ड्युक अफ योर्कका प्रिन्स एन्ड्र्यूसँग विवाह भएको थियो । यद्यपि, सन् १९९६ मा यी दुईको सम्बन्ध विच्छेद भएको थियो । 

सम्राट् चार्ल्सको राज्याभिषेकको समारोह हेर्नका लागि वेस्टमिन्स्टर एबेमा उनका नाति–नातिना र प्रिन्स विलियम्सका छोरा प्रिन्स जर्जका साथै महारानी क्यामिलाका नाति–नातिना पनि समावेश हुनेछन् ।

राज्याभिषेकको समारोहमा अमेरिकाका राष्ट्रपति जो बाइडेन त सहभागी हुने छैनन् । उनकी श्रीमती जिल बाइडेन भने कार्यक्रममा उपस्थित हुनेछिन् ।

यसका साथै, राज्याभिषेकको कार्यक्रममा ८५० सामुदायिक प्रतिनिधित्वलाई समेत आमन्त्रित गरिएको छ । परोपकारमा उनीहरूको योगदानको सम्मान गर्दै यो निमन्त्रणा दिइएको हो । 

king charles4राज्याभिषेक समारोहमा के–के हुन्छ ?

बेलायतमा राजाको राज्याभिषेकको प्रक्रिया विगत एक हजार वर्षदेखि लगभग एकै तरिकाले हुँदै आएको छ । बेलायतमा राजाको राज्याभिषेक, युरोपमा अब यस्तो एक्लो समारोह हो, जुन अहिलेसम्म जारी छ । 

यद्यपि, सन् १९५३ मा महारानी एलिजाबेथको राज्याभिषेकको तुलनामा राजा चार्ल्सको राज्याभिषेकको कार्यक्रम छोटो र कम समयमा सम्पन्न हुँदै छ । यस राज्याभिषेकमा महारानी एलिजाबेथको तुलनामा अन्य धार्मिक प्रतिनिधिहरूको पनि धेरै प्रतिनिधित्व हुनेछ ।

राज्याभिषेकको जुलुस पछिल्लो पटकको तुलनामा कम चहलपहल हुने अनुमानसमेत गरिएको छ । महारानी एलिजाबेथको राज्याभिषेक जुलुसमा १६,००० मानिस सहभागी थिए । करिब सात किलोमिटरको दूरी तय गर्न ४५ मिनेट लाग्यो ।

यस पटक सम्राट् चार्ल्स र रानी क्यामिला आधुनिक बग्गीमा बसेर वेस्टमिन्स्टर एबे जानेछन् । यो बग्गीमा बिजुलीबाट चल्ने ढोका र एयर कन्डिसनको सुविधा हुनेछ ।

उनीहरू डायमन्ड जुबली स्टेट कोचमा बसेर जानेछन्। यो बग्गी पहिलो पटक सन् २०१४ मा प्रयोग भएको थियो । राज्याभिषेक पछि, सम्राट् चार्ल्स र रानी क्यामिला गोल्ड स्टेट कोचमा बसेर राजमहल फिर्ता हुनेछन् । यो बग्गी सन् १८३० पछि हरेक राज्याभिषेकमा प्रयोग हुँदै आएको छ । 

विगत ७० वर्षमा हुन लागेको सबैभन्दा ठुलो सैन्य समारोहमा सशस्त्र सेनाका ६ हजारभन्दा बढी सैनिक सहभागी हुनेछन् ।

बेलायत र राष्ट्र मण्डलका सदस्यहरूका सेनाहरू लन्डनमा शाही जुलुसमा सामेल हुनेछन् ।

सम्राट् चार्ल्सको राज्याभिषेक हेर्न हजारौँ पूर्व सैनिकलाई पनि निमन्त्रणा गरिएको छ । यी पूर्व सैनिकहरूका लागि विशेष मञ्च पनि बनाइएको छ । उनीहरूलाई बकिंघम प्यालेसको अगाडि बनाइएको मञ्चमा बसाइनेछ, जहाँ बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका सदस्यहरू पनि उपस्थित हुनेछन् । 

king charles5वेस्टमिन्स्टर एबेमा राज्याभिषेकको बेला के–के हुन्छ ? 

राज्याभिषेकको यो प्रक्रिया धेरै चरणहरूमा हुन्छ :

मान्यता दिनु

 सम्राट् राज्याभिषेकको लागि प्रयोग हुने ७०० वर्ष पुरानो कुर्सीको छेउमा उभिन्छन् । क्यान्टरबरीको आर्कबिशपले उनलाई वेस्टमिन्स्टर एबेमा भएका मानिसको अगाडि प्रस्तुत गर्नेछन् । त्यहाँ जम्मा भएका भीडले चर्को स्वरमा नारा लगाउँछन् ‘ईश्वर, सम्राट्को रक्षा गर’ । त्यसपछि तुरही बजाइन्छ । 

शपथ लिनु

राजाले त्यसपछि कानुन र चर्च अफ इङ्गल्याण्डलाई कायम राख्न शपथ लिन्छन् । 

king charles6राज्याभिषेक

राजाको औपचारिक पोसाक हटाइनेछ र उनी राज्याभिषेक गर्ने कुर्सीमा बस्नेछन् । त्यसपछि कुर्सीको चारैतिर सुनौलो कपडाको घेरा बनाइन्छ । यति बेला राजालाई देखिँदैन । त्यसपछि क्यान्टरबरीको आर्कबिशपले सम्राट्को हात, छाती र टाउकोमा पवित्र तेलले अभिषेक गर्छन् ।

यो तेल गोप्य तरिकाबाट बनाइएको हुन्छ । यद्यपि, के कुरा थाहा छ भने यसलाई गुलाब, सुन्तला र फुलको चमेली र दालचिनीको तेलबाहेक ह्वेलको पेटमा पाइने सुगन्धित मैन मिसाएर तयार गरिन्छ । 

अभिषेकको संस्कार

यति बेला राजाको शिरमा सन्त एडवर्डको ताज राखिन्छ । 

सिंहासनमा विराजमान र निष्ठा प्रकट गर्नु

त्यसपछि राजा राज्याभिषेकको कुर्सीबाट उठेर सिंहासनमा बस्छन् । राजाप्रति निष्ठा प्रकट गरिन्छ । त्यहाँ जम्मा भएको भीडले चर्को आवाजमा नारा लगाउँछन्, ‘ईश्वर, सम्राट्को रक्षा गर्नुहोस्’ । त्यसपछि तुरही बजाइन्छ ।

त्यसपछि महारानीको राज्याभिषेकको पनि यही प्रक्रिया अपनाइन्छ  र उनको टाउकोमा पनि ताज राखिन्छ ।

 

king charles7राज्याभिषेकका बेला कस्तो मुकुट लगाइनेछ ?

राज्याभिषेकका बेला राजालाई सत्रौँ शताब्दीको ठोस सुनले बनेको सन्त एडवर्डको मुकुट लगाइनेछ । यो निकै भारी छ र यसको प्रयोग राज्याभिषेकका बेला मात्रै गरिन्छ । 

रानीको मृत्युपछि बेलायतको शाही घरानामा रहेको हिरा र गहनाको बारेमा फेरि बहस भयो । शाही खानदानसँग भएका यी हिरा गहनाका लागि के आरोप लगाइन्छ भने यसलाई उपनिवेशबाट जबरजस्ती वा छल गरेर हासिल गरिएको थियो । 

विवादको केन्द्रमा ती प्रसिद्ध हीराहरू छन्, जुन दुई अन्य मुकुटमा राखिएका छन् ।

यी मध्ये एक इम्पीरियल स्टेट क्राउन हो, जुन सम्राट्ले राज्याभिषेक समारोहको अन्त्यमा लगाउनेछन् । बकिङ्घम प्यालेसको बालकनीमा उभिएर सर्वसाधारणलाई दर्शन दिँदा पनि सम्राट्ले यो मुकुट लगाउनेछन् ।

मुकुटमा कलिनन द्वितीय हिरा राखिएको छ जसलाई कहिलेकाहीँ सेकेन्ड स्टार अफ अफ्रिका भनिन्छ । यो हिरा, ट्रान्सवालको सरकारले एड वर्ड सप्तमलाई उनको ६६ औँ जन्मदिनमा उपहारस्वरूप दिएका थिए । ट्रान्सवाल त्यति बेला ब्रिटिस राजपरिवारको उपनिवेश थियो । र अब त्यो दक्षिण अफ्रिकाको हिस्सा हो ।

दोस्रो विवादास्पद हिरा कोहिनुर हो, जुन महारानीकी आमाको राज्याभिषेक गरिएको मुकुटमा राखिएको छ । यो विश्वको सबैभन्दा ठुलो हिरामध्ये एक हो । भारत, पाकिस्तान, अफगानिस्तान र इरानले पनि यसमा आफ्नो अधिकार जताइसकेका छन् । 

बकिङ्घम प्यालेसले कोहिनुरलाई राज्याभिषेक समारोहमा समावेश नगर्ने पुष्टि गरेको छ ।

यसको सट्टा, रानी क्यामिलालाई रानी मेरीको मुकुट लगाइनेछ । यस विशेष अवसरमा यो मुकुट प्रयोग गर्न, यसलाई लन्डनको टावरबाट निकालेर र रानी क्यामिलाको टाउको अनुसार बनाइएको छ ।

king charles8राज्याभिषेकमा कति खर्च लाग्छ ?

यो राज्याभिषेक कार्यक्रम सरकारी हुने भएकाले यसको खर्च बेलायत सरकारले बेहोर्ने छ ।

आज जनताले जीवनयापनको चर्को बोझ झेलिरहेका बेला सरकारले संवेदनशीलता देखाएर यो झन्झट घटाउनुपर्थ्यो भन्ने तथ्यलाई लिएर बेलायती सरकारको आलोचना हुनसक्छ ।

तर बेलायती सरकारले सम्राट् चार्ल्सको राज्याभिषेकको यो कार्यक्रमलाई महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा प्रयोग गरी बेलायतको उज्यालो छवि विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

king charles9राज्याभिषेकको आधिकारिक व्यञ्जन के हो ?

मुख्य शाही सेफ मार्क फ्लानागन द्वारा बनाइएको एक विशेष पेस्ट्री, वा क्विचलाई राज्याभिषेक पार्टीको आधिकारिक डिश घोषित गरिएको छ । यसलाई बनाउन पालुङ्गो, सिमी र सौंफ जस्ता ताजा जडीबुटीहरू प्रयोग गरिएको छ । राज्याभिषेकको यो आधिकारिक व्यञ्जनलाई शाही परिवारको सोसल मिडियामा साझा गरिएको छ ।

यो पेस्ट्री शाही व्यञ्जनहरूको लामो सूचीमा थपिएको नयाँ परिकार हो । सन् १९५३ मा, रानी एलिजाबेथको राज्याभिषेक को समयमा, एक विशेष पकवान कोरोनेशन चिकन तयार गरिएको थियो । उनको शासनकालको प्लेटिनम जुबलीमा, कागती र बदामको हलुवालाई आधिकारिक परिकारको दर्जा दिइएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप