शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेसका मुख्यमन्त्री काठमाडौँमा, आजै मन्त्रिपरिषद् विस्तारको निर्णय हुनसक्ने

शुक्रबार, २२ वैशाख २०८०, १६ : ०८
शुक्रबार, २२ वैशाख २०८०

जनकपुरधाम । प्रदेश सरकार विस्तार गर्ने विषयमा छलफल गर्न मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बिहीबार काठमाडौँ पुगेका छन् । 

तीनै तहका सरकार स्वायत्त भएपनि निर्णय भने केन्द्रीय शीर्षस्थ नेताहरुकै पोल्टामा छ । त्यसैले, मुख्यमन्त्री यादव सरकार विस्तारबारे टुंगोमा पुग्न काठमाडौँ गएका हुन् । 

एमाले बाहिरिएपछि सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुने भएका छन् ।

सरकारमा सहभागी हुन लागेको नेपाली काँग्रेस र लोसपा दुबैले नेतृत्वमै दाबी गर्दा जसपा नेतृत्वको सरकारलाई कठिन भएको छ । मधेसमा जसरी पनि उपेन्द्र यादवले आफ्नो नेतृत्वको सरकार राख्ने अडानमा छन् । 

मुख्यमन्त्री निकट स्रोतका अनुसार जुनसुकै अवस्थामा मधेस प्रदेश सरकारको नेतृत्व जसपाले नै गर्छ । यता उपचुनावको बेलासरकारको नेतृत्व आफूलाई दिइनेसम्झौता भएको नेपाली काँग्रेस र लोसपाले दाबी गरिरहेका छन् । यद्यपि मुख्यमन्त्रीसहित जसपाका शीर्षस्थ नेताहरु भने यस विषयमा मौन छन् ।

त्यसो त गठबन्धन घटक दलका शीर्ष नेताहरु पनि जनकपुरधाममै आएर नेतृत्व परिवर्तन हुने पटक पटक अभिव्यक्तिहरु दिइरहेका छन् । यसअघि जनकपुरधाममा नै आएर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड, वरिष्ठ नेता विमलेन्द्र निधि र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि यस्ता अभिव्यक्ति दिइसकेका छन् ।

उनीहरुले नेतृत्व लिन कसरत गरिरहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव भने मधेसमा आफ्नै नेतृत्व जोगाउने कसरतमा छन् ।

पहिलेको गठबन्धनमा जसपा र जनमतबीच सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको थियो । सो अनुरुप पहिलो चरणमा जसपाले नेतृत्व गरिरहेको छ । तर, उपराष्ट्रपतिको निर्वाचन र बारामा भएको उपनिर्वाचनमा जनमत पार्टीले गरेको असहयोगका कारण सम्बन्ध चिसिएको छ । 

यस क्रममा जसपा जनमतलाई मधेस सरकारबाट धपाउने मुडमा छ । तर जनमतको बर्हिगमनले केन्द्र सरकारलाई समेत असर पर्ने देखिएकोले गठबन्धनबाट ननिकाल्न कुरा उठिरहेको छ ।

स्रोतका अनुसार जसपाले सरकार आफ्नै नेतृत्वमा राखेर काँग्रेसलाई ३ मन्त्रालय र १ राज्यमन्त्री र नेकपा एस तथा लोसपालाई १÷१ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा छ ।

यता मधेस प्रदेश नेपाली काँग्रेस दलका नेता कृष्णा यादवले गठबन्धनमा रहेका दलहरुका बैठक आज शुक्रबार ४ बजे बस्न लागेको जनाएका छन् । उनले सरकार विस्तारबारे सम्भवतः आजै निर्णय भइसक्ने बताए । तर पद बाँडफाँटबारे औपचारिक रुपमा केही जानकारी नभएको उनको भनाई थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप