शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश

गण्डकीमा मन्त्रालय भागबण्डामा सकस, मनाङेलाई मन्त्री बनाउने तयारी

शनिबार, २३ वैशाख २०८०, १० : ४५
शनिबार, २३ वैशाख २०८०

पोखरा । गण्डकीका पाँचौँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाए । उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीकाबाट एक गरी ३५ सांसदको विश्वासको मत दिएका थिए । सरकार गठन भएको छोटो समयमै विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेले अहिलेसम्म मन्त्रालय हाँक्ने सारथि टुङ्ग्याउन सकेका छैनन् । 

मन्त्रालय विस्तार गर्न नसक्नुमा सत्ता गठबन्धनमा भागबण्डा नमिल्नु नै मुख्य कारण देखिएको छ । माओवादी केन्द्रले तीन मन्त्रालय दिनुपर्ने र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

मुख्यमन्त्री पाण्डेका अनुसार एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन छलफल भइरहेको छ । उनले भने, ‘कुन दलबाट कति मन्त्री बन्ने छिट्टै टुङ्ग्याउँछौ । सत्ता गठबन्धनको घटक एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेकाले अब छिट्टै मन्त्रिपरिषद् विस्तार गर्छौँ ।’ मुख्यमन्त्री पाण्डेले अब एक हप्ता भित्र मन्त्रालय विस्तार गरिसक्ने बताए । उनी भन्छन्, ‘मन्त्रिपरिषद् विस्तार नजिक छौँ । सत्ता गठबन्धनका दलसँग मन्त्रालय विस्तारको सहमति नजिक छौँ । अब एक हप्तामा अन्तिम निर्णयमा पुगिसक्छौँ ।’ 

माओवादी केन्द्रले तीन मालदार मन्त्रालय दाबी गर्दा पनि सरकारले पूर्णता पाउन नसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले भौतिक पूर्वाधार, उद्योग पर्यटन वन तथा वातावरण र कृषि, ऊर्जा तथा खानेपानी मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा छन् ।  यसअघि प्रमुख सचेतक सुशीला सिम्खडालाई सरकारमा पठाए पनि उनले मन्त्रालयको जिम्मेवारी पाएकी छैनन् । माओवादीले तीन मन्त्रालय पाए अब रेशमबहादुर जुग्जाली, फणीन्द्र देवकोटा सरकारमा पठाउने तयारी गरेको छ । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चमानले पनि आफूहरूले ३ वटा मन्त्रालय दाबी गरिरहेको बताए । ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत पनि लिनुभयो । अब मन्त्रिपरिषद् विस्तार गर्नुहोला,’ उनले भने, ‘माओवादीबाट सरकारमा सहभागी हुने मन्त्री पनि टुङ्ग्याइसकेको छौँ ।’ 

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले पनि मन्त्रिपरिषद् विस्तार लम्बिएको मुख्यमन्त्री पाण्डे बताउँछन् । उनका अनुसार विश्वासको मत लिनुअघि नेता चुमानसँग छलफल भए पनि त्यसपछि कुनै कुराकानी भएको छैन । 

यता कांग्रेसमा मन्त्री बन्नेको लर्को हुँदा पनि मुख्यमन्त्री पाण्डेलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको हो । कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, कास्कीकै प्रकाश बराल, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी मन्त्री बन्न लबिङमा छन् । मन्त्री बन्न आकाङ्क्षी बढी हुँदा भागबण्डा मिलाउन कांग्रेसमै सकस भइरहेको कांग्रेसकै सांसदहरुले बताउँदै आएका छन् । 

मन्त्रालय बाँडफाँड मुख्यमन्त्रीले निर्णय गर्ने होइन, केन्द्रका तीन नेता मिल्नुपर्छ: सांसद मनाङे 

एकीकृत समाजवादीका एक्ला सांसद दीपक मनाङेले आफू मन्त्री बन्ने कुरा प्रदेशमा थाहा नहुने बताएका छन् । उनले मुख्यमन्त्री पाण्डेले चाहे मन्त्री हुने र नहुने कुराले अर्थ नराख्ने बताए । ‘यहाँ कुन नेताले के भन्यो मलाई थाहा छैन । प्रदेशमा मिटिङ गरेर हुँदैन,’ मनाङेले भने, ‘केन्द्रमा तीन नेता मिल्नुपर्छ । उहाँहरूको छलफलले कुन मन्त्री बन्ने भन्ने बल्ल टुङ्गो लाग्छ ।’

मन्त्री बन्न आफूले १ महिना अघि छलफल गरे पनि अहिले कोहीसँग पनि छलफल नगरेको उनको भनाइ छ । आफू मन्त्री भए पुरानै मन्त्रालय समाल्ने उनले बताए । 

‘हामीलाई धेरै ठुलो मन्त्रालय चाहिँदैन । पुरानै मन्त्रालय भए पुग्छ,’ उनले भने । मनाङेले यसअघि पृथ्वी सुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । खगराज अधिकारी नेतृत्वको सरकारले १२ बाट ७ मा मन्त्रालय सङ्ख्या झारेपछि यो मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गाभिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप