सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममाथि सुझाव माग्दै छलफलमा बागमती सरकार

बुधबार, २७ वैशाख २०८०, ०९ : ५४
बुधबार, २७ वैशाख २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफललाई तीव्रता दिएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम बारे सुझाव सङ्कलनका लागि छलफललाई तीव्र बनाएको हो ।

गत सोमबार प्रदेशसभा सदस्यहरूसँग सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार भने प्रदेश सरकार मातहतका निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।

मुख्यमन्त्रीसहित प्रदेशका मन्त्री, सचिव र विभिन्न निकायका प्रमुखहरू सम्मिलित उक्त छलफल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सुरु भएको छ । कार्यालयमा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, अन्य मन्त्रालयका मन्त्रीहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्य, सरकारका प्रमुख सचिव र मन्त्रालयका सचिवहरू बीच सरकारको नीति तथा कार्यक्रम निर्धारण र कार्यान्वयनका विषयमा छलफल भइरहेको हो । 

बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम कस्तो हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । विगतको सरकारहरुले ल्याएका नीति तथा कार्यक्रमको समीक्षासमेत गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

विगतका नीति तथा कार्यक्रम जनताका अपेक्षालाई समेट्न नसकेको गुनासो बढेपछि सरकारले आगामी आर्थिक वर्षमा त्यसलाई परिमार्जन गर्ने उद्देश्यले छलफललाई तीव्रता दिएको हो । सरकारले ल्याएका कतिपय कार्यक्रमहरू कार्यान्वयनमा समेत जान नसक्ने अवस्थाको रहेकोले त्यसलाई परिमार्जन गरी फरक प्रकृतिको कार्यक्रम र योजना कार्यान्वयनमा नीति गत सुधार गर्ने मुख्यमन्त्री जम्कट्टेलको योजना रहेको छ ।

मुख्यमन्त्री जम्कट्टेल कै योजना अनुसार नीति तथ कार्यक्रम निर्माण गर्ने, कार्यान्वयन गर्ने र समस्याको समाधान गर्ने पक्षहरूसँगको छलफलबाट प्राप्त सुझावको आधारमा प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम निर्धारण हुने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप