रेशम चौधरीको मुद्दामा बहस सकिएन, मंगलबार नै अर्को पेसी

काठमाडौँ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाई दिनुपर्ने माग गरिएको थियो ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो । तर सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको छ ।
२०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए । तर सोमबारको सुनुवाइमा पनि बहस नसकिएपछि अब जेठ २ गते मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन