आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
टिकापुर घटना

रेशम चौधरी भन्छन्–न्याय माग्न अब म कहाँ जाऊँ ?

बुधबार, ०३ जेठ २०८०, १६ : ३७
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशम चौधरीले अब न्याय माग्न जाने ठाउँ कतै नभएको बताएका छन् । सर्वोच्च अदालतबाट समेत सफाई नपाएपछि न्याय दिने थलोबाट पनि न्याय प्राप्त नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

२०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको नरसंहारमा दोषी ठहर भएका चौधरीको मुद्दामा सर्वोच्च अदालतले समेत दोषी ठहर गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले अन्तिम आशा राखिएको सर्वोच्च अदालतले पनि न्याय दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

चौधरीले रातोपाटीसँग भने, ‘मलाई सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास थियो । किनभने आन्दोलनको नेतृत्व गर्नुबाहेक हत्याको घटनामा मेरो कुनै संलग्नता थिएन । तर सर्वोच्च अदालतले पनि मलाई नै दोषी देखाइदियो । अब म न्याय माग्न कहाँ जाऊँ ?’

चौधरीले भने, ‘तपाईँहरू (मिडिया) टिकापुर जानुस्, त्यहाँ प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै सोध्नुहोस् । रेशम चौधरीको अपराध के हो भनेर सोधिदिनोस् । त्यहाँका अछामी समुदाय र थारु समुदाय के चाहन्छन्, त्यो पनि सोध्नुहोस् । उनीहरुले म दोषी नै हुन् भनेर भन्छन् भने म फाँसीमा चढ्न पनि तयार छु ।’

यसअघि टिकापुर क्षेत्रबाट संघीय सांसदमा निर्वाचितसमेत भएका चौधरी आफूलाई फसाइएको दाबी गर्छन् । उनी भन्छन्, ‘मेरो संलग्नता कसले कहाँ देखेको हो ? मैले कसलाई मारेको हो भनिदिनु प¥यो नि त ? हक अधिकारको माग गर्दै भएको राजनीतिक आन्दोलनको जिम्मा मैले लिन्छु, तर अपराधको जिम्मा लिन म सक्दिन । तर तीन तहको अदालतबाटै सह प्रतिवादीको पोलकै आधारमा मलाई दोषी देखाइयो, प्रमाण खोजिएन ।’

डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका चौधरीले जनताले न्याय दिएपनि अदालतले न्याय दिन नसकेको बताए । उनले भने, ‘पहिलोपटक म आफैँ निर्वाचित भएँ, त्यो पनि संघीय सांसदमा । मलाई कति प्रतिशत जनताले भोट दिएका थिए हेरे हुन्छ । त्यसपछि स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा म संलग्न रहेको पार्टीलाई दिएको मत हेरे हुन्छ । यसको अर्थ जनताले मलाई बुझेका छन्, जनताबाट मलाई न्याय भएको छ । तर अदालतबाट भने मलाई न्याय हुन सकेन ।’

न्यायाधीश फैसलाधीश बने

चौधरीले सर्वोच्च अदालतका न्यायाधीशसमेत न्यायाधीश नबनेर फैसलाधीश बनेको बताए । उनले भने, ‘अन्तिम अदालतबाट आएको फैसला नमान्ने भन्ने भएन । फैसलालाई स्वीकार गर्नुको विकल्प मसँग छैन । तर अन्तिम अदालतले पनि मिसिल हेरेन, म विरुद्धको प्रमाण खोजेन । बरु रेशम चौधरीलाई आजीवन जेल पठाएर वाहवाही पाउने र पपुलर बन्ने चाह राखियो र मलाई जन्मकैदमा हालियो । न्यायाधीशजस्ता माननीयज्यूहरुले न्यायिक मनको प्रयोग गर्नुभएन, न्यायको रोहमा राखेर हेर्नुभएन । उनीहरु न्यायाधीश नभएर फैसलाधीश जस्ता देखिनुभयो ।’

फैसलापछि अब के गर्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा फैसला स्वीकार गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘फैसला स्वीकार गर्नुको विकल्प मसँग छैन । तर फैसला अदालतबाट मात्रै होइन, जनताबाट पनि हुन्छ भन्ने मैले बुझेको छु । अब जनताका माझबाटै फैसला गराउने र न्याय मिल्ने मैले आश गरेको छु ।’

फैसलाविरुद्ध जनतामा गएर आन्दोलन गर्छौ भन्नुभएको हो भन्ने प्रश्नमा चौधरीले भने, ‘पार्टीका साथीहरु छलफलमा हुनुहुन्छ । कैलालीबाट पार्टीका साथीहरु पनि काठमाडौँ आउँदै हुनुहुन्छ । अब सरकारका बस्ने कि नबस्ने भन्ने विषयमा छलफल हुन्छ र पछि निर्णय हुन्छ । त्योभन्दा पहिले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउँदै छौँ । जनताबाट पूर्ण अनुमोदित हुनु भनेको जनस्तरबाट न्याय मिल्नु हो । फैसलाको पूर्णपाठ नआइसकेको कारण त्यसपछि मात्रै आगामी रणनीति तयार हुन्छ । अहिले नै आन्दोलन गर्ने भन्ने कुरा होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप