शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पन्ध्र वर्षको समीक्षासहित गणतन्त्र दिवस तीन दिन मनाइने

आइतबार, ०७ जेठ २०८०, २३ : ००
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । सरकारले गणतन्त्र दिवस भव्य बनाउने तयारी गरेको छ । विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । 

गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रविधि एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतकहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सदस्य तथा गृह सचिव सदस्य सचिव रहेका छन् ।

समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । जसअनुसार जेठ १४ गते सञ्चारमाध्यममार्फत गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामूलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकाशन/प्रसारण गरिने छ । 

सोही दिन सबै जिल्लाहरुमा सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदान कार्यक्रम आयोजना गर्नेछ भने सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाइ र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् । 

जेठ १४ गते नै विभिन्न आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरुलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकुद सामग्री वितरणलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।

यस्तै जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिने छ भने सबै सरकारी कार्यालय, महत्त्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा जनताका घरघरमा साँझ दीपावली गर्न आव्हान गरिने मन्त्री शर्माले जानकारी दिइन् । 

गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय गरिएको छ । जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ ।  

नेपाल सरकारले सबै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको नेपाल सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्।  

नेपाल सरकारले पन्ध्र वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने तयारी पनि थालेको छ । जेठ १६ गते साँझ टुडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप