शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आधुनिक गीत र अर्चना धाख्वाको गीतियात्रा

सोमबार, ०८ जेठ २०८०, १० : १६
सोमबार, ०८ जेठ २०८०

यस युगकै महान् लेखक लियो टाल्सटोयले भनेका छन्– “सङ्गीत आत्माको मौन पुकार हो । शब्दको अपेक्षा ध्वनि सर्वदा धुलोमुलोरहित हुन्छ । त्यसैले सङ्गीत स्वच्छ र पवित्र हुन्छ तर शब्द त एउटा झोला जस्तो हो, जसमा आफ्ना विषाक्त विचार, अश्लील आशय र कुटिल भावनालाई समेत कोच्न सकिन्छ ।”
तसर्थ सङ्गीत एक स्वच्छ, निर्मल र पवित्र हुन्छ । गीत बन्नका लागि शब्द, सङ्गीत र आवाजको जरुरत पर्छ, तब मात्र एउटा गीत बन्छ ।

गीत मानवको उत्पत्तिसँगै विकास भएको एक पुरानो सांस्कृतिक उपज हो । मानवका दुःख र पीडाका उच्छवास र सुस्केरा नै आजको गीतको आधुनिक स्वरूप हो । मनका सुखका अनि दुःखका भावनालाई ओठमा ल्याएर गुन्गुनाउनु र व्यक्त गर्नु नै गीतको प्रारम्भिक स्वरूप हुन् ।
त्यसैले गीतले खुसी मात्र होइन, दुःख पनि बोकेको हुन्छ । किनकि गीत जीवनको लयसँगै बहँदै जान्छ । खुसीमा गीतका सुस्केरा पनि सुखमय बन्छ भने दुःखमा त्यही गीत नै अश्रुपूर्ण बनेर मनभित्र बस्न जान्छ । 
गीतले मानवको इतिहास बोकेको हुन्छ । यसले हाम्रो परम्परा, संस्कृति अनि समाजको धरातल प्रष्ट्याइ दिन्छ । मानव समाजको विकाससँगै गीतले पनि आफ्नो स्वरूप बदलेको पाईन्छ ।

भनिन्छ, आजभन्दा पैँतीस हजार वर्षदेखि गीत गाउन सुरु गरिएको हो । तर कसले, कहाँ र कसरी भन्ने यकिन छैन । गीत पहिला कसले गाउन सुरु गर्यो र कहाँबाट सुरु भयो भन्ने आजसम्म खुल्न सकेको छैन । 
तर मानिसले सङ्गीतको धुन दुवै हात पड्काएर भनौँ ताली बजाएर जन्मेको अनुमान गरिन्छ । गीत मान्छेले ओठबाट निस्कने सुसेलीको ध्वनिबाट शब्दमा रूपान्तरित भएको विश्वास गरिन्छ । 

त्यसै गरी, आजभन्दा कैयौँ वर्ष पहिले हात पड्काएर, ढुङ्गाको घर्षणबाट र काठदाउराको घर्षणबाट उत्पन्न हुने ध्वनिलाई नै सङ्गीतको प्रारम्भ बिन्दु मानिन्छ । त्यसैले गीत सङ्गीतको आदिम इतिहास आजसम्म पनि संसार अनभिज्ञ नै छ । 
सुखमा गीत, दुःखमा गीत एक्लै हुँदा गीत अनि समूहमा पनि गीत । यथार्थमा मानव जीवनको नसा नसामा गीत समेटिएको छ । सङ्गीत शक्ति बारेमा एउटा मिथक छ । उहिले तानसेनको दरबारमा मेघ रागको अलाप गाउन थालेपछि आकाशबाट वर्षा सुरु हुन थाल्थ्यो । आज पनि पश्चिमी मुलुकमा गाईभैँसीबाट अत्यधिक मात्रामा दूध उत्पादन गर्न सङ्गीतको धुन निरन्तर सुनाइँदो रहेछ । यसबाट पनि सङ्गीतको शक्ति बुझ्न सकिन्छ ।

गीतले आफ्नो परिवेश र पहिचान पनि खुलाएको हुन्छ । त्यसैको आधारमा यसको वर्गीकरण पनि गरिएको पाइन्छ । लोकगीत, आधुनिक गीत, शास्त्रीय सङ्गीत, प्यारोडी, पप, रक र ¥याप आदि केही सङ्गीतका किसिम हुन्, जो गीतमा वर्गीकरण गरिएको हुन्छ । स्थान, उमेर र रुचि अनुसारका गीत फरक फरक हुन्छन् । 

पहिले पहिले गाउँघरतिर गाइने गीतलाई गाइने गीत या लोकगीत भन्ने गरिन्थ्यो । तर अचेल सहर बजार जताततै लोकगीतको सङ्गीत बजेको पाइन्छ । पहिले आधुनिक गीत सहर बजारमा मात्र बजाइन्थ्यो भने अचेल गाउँ, सहरबजार सबैतिर यस्ता गीत सुनिन्छ । 

मान्छेले आफ्नो रुचि, विचार र उमेर अनुसारको पनि फरक फरक स्वादका गीत सुन्न मन पराउँछन् । शास्त्रीय सङ्गीतलाई पाका उमेरका मानिसले अत्यधिक मन पराएको पाइन्छ भने पप र रक सङ्गीत युवा जमातले अत्यधिक मन पराएको पाइन्छ । तर, आधुनिक सङ्गीतलाई सबै उमेर समूहले मन पराउँछन् ।
यस लेखमा आधुनिक गीतका गीतकार अर्चना धाख्वाको गीत र उनको गीति यात्राको बारेमा प्रकाश पारिएको छ । 

विगत दुई दशकदेखि अमेरिकाको विस्कनसिन राज्यको म्याडिसन सहरलाई कर्मथलो बनाउँदै आएकी गीतकार अर्चनाको हालसम्म बाह्रवटा गीत प्रकाशनमा आइसकेका छन् । चार वटा गीतको भिडियो पनि बनेको छ । 
सन् १९९८ सालदेखि अमेरिकाको म्याडिसन सहरमा बसोबास गरिरहेकी गीतकार अर्चनाका सबै गीतका सङ्गीतकार हुन् श्रीजन श्रेष्ठ । उनका सबै गीत ‘आर्जन डाइनामिक्स’ ब्यानरबाट प्रसारण भएका छन् ।

सन् २००५ सालमा म्याडिसन सहरमा स्थापना भएको नेपाल अमेरिकी मैत्री सङ्घको संस्थापक सदस्य हुन् गीतकार अर्चना धाख्वा । नाफाद्वारा सञ्चालित नेपाली पाठशालामा उनी निकै पहिलेदेखि बालबालिकालाई नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेकी छिन् ।
बुबा देवरत्न धाख्वा र आमा विमला धाख्वाको सुपुत्रीका रूपमा काठमाडौँमा जन्मिएकी हुन् उनी । 

उनको अति नै चर्चित गीत ‘ए मन’ हो । ‘ए मन तिमी सुनी सुनी नसुने झैँ नगर’ गीत एउटा प्रेमिल जीवनको एउटा मर्मस्पर्शी गीत हो । मलाई मन पर्ने उनको अर्को गीत हो, ‘तिम्रो गीत सुमधुर मैले नगाए कसले गाउने...’ । 
‘तिमीबाहेक मेरो भन्नु को छ र, यहाँ धरतीबिना आकाश हुन्छ कहाँ..” भन्ने अर्को एउटा लोकप्रिय गीत हो । गीतकार धाख्वाका सम्पूर्ण गीत प्रेमसँग सम्बन्धित छन् ।

त्यसो त गीतकार अर्चनाले आफ्नो मातृभाषामा पनि गीत रचना गरेकी छिन् । ती गीत पनि आफ्नो नेवारी समुदायमा अत्यन्तै लोकप्रिय भएका छन् । त्यो गीत हो– ‘स्वे छकन मखनि लुमन्ती जक हे जुइन’ । यस गीतको भिडियोमा गीतकार आफँैले मोडलिङ पनि गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ
लेखकबाट थप