आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उपमहानगरबाट उपलब्ध निःशुल्क खानेपानी सुविधा सबै नागरिकमा पुगेको छैन : मेयर लामा

सोमबार, ०८ जेठ २०८०, १९ : ३४
सोमबार, ०८ जेठ २०८०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले उपमहानगरबाट उपलब्ध गराइएको निःशुल्क खानेपानी सुविधा सबै नागरिकले उपभोग गर्न नसकेको बताएकी छन् । उपमहानगरले मासिक १० हजार लिटर पानी प्रतिघर उपलब्ध गराउँदै आएको छ ।

सोमबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख लामाले स्थानीय स्तरमा रहेका खानेपानी उपभोक्ता समितिहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको स्वामित्वमा नआएकाले नागरिकहरु १० हजार लिटर पानी निःशुल्क उपभोग गर्न पाउने अधिकारबाट बञ्चित बन्नु परेको बताइन् ।

स्थानीय समितिहरुले व्यक्तिगत लाभलाई ध्यान दिँदा समस्या भएको उनको भनाइ छ । उक्त सुविधा नगरका सबै नागरिक माझ पु¥याउन सबै उपभोक्ता समितिलाई बोर्डको स्वामित्वमा ल्याउने पहल भइरहेको उनले बताइन् ।

उपमहानगर प्रमुख लामाले ४ वटा पानी प्रशोधन प्लान्ट निर्माणको तयारी भइरहेको जानकारी दिइन् । उपमहानगरपालिकाले हरेक नागरिकको घरमा खानेपानी पु¥याउने योजना अनुसार काम गरिरहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले नेपाल जलस्रोतमा धनी देश भए पनि खानेपानी वितरणमा कमजोर रहेको बताए । उनले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवाबाट नागरिकहरु सन्तुष्ट रहेको र स्थानीय सरकारले दिएका सेवा सुविधालाई सबै नागरिकको पहुँचमा पु¥याउन बोर्डले थप पहल गर्नुपर्ने बताए ।

बोर्डले उपमहानगरका वडा नम्बर ३, ११, १२ र १३ नम्बर वडा बाहेकका वडामा बसोबास गर्ने एक लाख ५५ हजार नगरवासीहरुलाई दैनिक एक करोड ८८ लाख लिटर पानी वितरण गर्दै आइरहेको छ । करिब २३ हजार ५०० धाराबाट दैनिक ६ देखि ७ घण्टा खानेपानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

हेटौंडा उपमहानगरले नगरबासीहरुलाई राहत स्वरुप गत भदौ महिनादेखि न्यूनतम खानेपानी महसुलमा १० हजार लिटर बराबरको शुल्क छुटको व्यवस्था समेत गरेको छ । उक्त छुट योजना विस्तारका लागि बोर्डले स्थानीय खानेपानी उपभोक्ता समितिलाई बोर्डमा ल्याउने कार्य भइरहेको जनाइएको छ ।

हाल बोर्डले खानेपानी वितरण गरेबापत मासिक रुपमा  ९५ लाख रुपैयाँ शुल्क संकलन गर्दै आएको अध्यक्ष विष्टले बताए । बोर्डमार्फत् चालु आर्थिक वर्षमा हेटौंडा–१, २, ४, ७, ८, ९, १४ र १ट नम्बर वडामा खानेपानी पूर्वाधार निर्माण सम्पन्न गरेको जनाइएको छ । बोर्डले चालु आर्थिक वर्षको वैशाखसम्ममा आन्तरिक आयतर्फ १० करोड ६८ लाख ६५ हजार रुपैयाँ (८०.६४ प्रतिशत) र बाह्य आयतर्फ ९२ लाख ३८ हजार रुपैयाँ (३४.७७ प्रतिशत) गरी कुल १४ करोड ५१ लाख ४६ हजार रुपैयाँ (७७.१२ प्रतिशत) संकलन गरेको छ ।

यस्तै चालु खर्चतर्फ ४ करोड १८ लाख ४१ हजार रुपैयाँ (७७.५७ प्रतिशत) र पुँजीगत खर्चतर्फ ३ करोड ६३ लाख ६२ हजार रुपैयाँ (३७.८८ प्रतिशत) गरी कुल १० करोड ६४ लाख ७० हजार रुपैयाँ (५६.५७ प्रतिशत) खर्च गरेको छ ।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछि अहिलेसम्म भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोर्डको स्थापनाकालमा काम गरेर सहयोग पु¥याउने तत्कालीन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, हेटौंडा उपमहानगरपालिकाका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोज कुमार सुवेदीलाई विशेष सम्मान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप