मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणको मोबाइल जाँच रिपोर्ट आयो तर, भेटिएन शरणार्थी सम्बन्धी प्रमाण

सोमबार, ०८ जेठ २०८०, २१ : ००
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइल परीक्षण रिपोर्ट आएको छ । वैशाख २७ मा खाणलाई पक्राउ गर्दा प्रहरीले उनको मोबाइल पनि जफत गरेर विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । मोबाइल परीक्षण रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।

खाणले आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । ल्याबमा परीक्षण गर्दा ‘फ्याक्ट्री रिसेट’ गरिएको अवस्थाबाट थोरै मात्र डेटा रिकभर भएको छ । तर, भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको घटनासँग प्रमाण लाग्ने तथ्य मोबाइलमा फेला नपरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

ति अधिकृत भन्छन्–‘खाणको मोबाइल परीक्षण रिपोर्ट अनुसार शरणार्थी प्रकरणबारे कनेक्सन खुल्ने प्रमाण भेटिएन ।’ मोबाइलको ल्याब रिपोर्ट प्रहरीले अनुसन्धान प्रतिवेदनसँगै सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृह सचिव टेकनारायण पाण्डेले ‘बालकृष्ण खाणसँगको समन्वयमा काम गरेको’ बयान दिएका छन् । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउने गिरोहका सदस्य सानु भण्डारी र तत्कालीन गृह सचिव पाण्डेको बयानका आधारमा खाण पक्राउ परेका हुन् ।

खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयमा सचिव थिए पाण्डे । पाण्डेले गिरोहका सदस्य सानु भण्डारीलाई म्यासेज गरेर भनेका छन्–‘नरेन्द्रले पनि आश गर्छ उसलाई ५ लाख फालिदिनु ।’

सचिवको सोही म्यासेजका आधारमा तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि अहिले प्रहरी हिरासतमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप