सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुर्खेतमा हावाहुरीको वितण्डा : सयौँ घरमा क्षति, छैन सरकारको अनुभूति

स्थानीय भन्छन्–आपत्–विपद्का बेला सहयोग नगर्ने यो कस्तो सरकार ?
मङ्गलबार, ०९ जेठ २०८०, २० : १४
मङ्गलबार, ०९ जेठ २०८०

सुर्खेत । सोमबार रातीको भीषण हावाहुरीका कारण पश्चिम सुर्खेतमा ठूलो मात्रामा क्षति भएको छ । स्थानीयका सयौँ घरहरुमा क्षति पुगेको छ भने विभिन्न कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ । 

पश्चिमका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा ठूलो मात्रामा क्षति भएको त्यहाँका स्थानीयले बताएका छन् । स्वास्थ्य चौकीका भवन, विद्यालयका भवनमा पनि क्षति भएको छ । 

यस क्रममा चौकुने गाउँपालिका–८ स्थित भट्टेसरका पहिरो पीडितका १२ वटा घर–टहरा पूर्णरुपमा क्षति भएका छन् । वर्षौँ पहिलेका पहिरो पीडितलाई के खाऊँ के लाऊँ भन्ने चिन्ताले पिरोलिरहेका बेला जेनतेन गरी जोडेका घर–टहरा नै उडाएपछि उनीहरु बिचल्लीमा परेका छन् । 

तर, अहिलेसम्म कुनै निकायबाट पनि खान र बासको व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ । चौकुनेका अन्य वडाहरुमा पनि ठूलो मात्रामा स्थानीयका घरमा क्षति भएको छ । यद्यपि अहिलेसम्म कति घरधुरीमा क्षति भयो भन्ने एकिन तथ्यांक संकलन भइसकेको अवस्था छैन । 

विपतको बेला चौकुनेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पालिका बाहिर छन् भने पालिकाका कर्मचारीलाई यो विषयमा कुनै जानकारी नै छैन । ‘वडाध्यक्षज्यूहरुले अनुगमन, तथ्यांक संकलन गर्ने काम गरिरहनु भएको होला । हामीलाई यकिन थाह भएन,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले रातोपाटीसँग भने ।

चौकुनेमा सञ्चारको समस्या भएकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको कर्मचारीहरु बताउँछन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले पालिकाभर करिब २ सयको हाराहारीमा घरधुरी, कार्यालयको भौतिक संरचनामा क्षति पुगेको आकलन गरिएको बताए । यद्यपि आफू वीरेन्द्रनगरमा रहेको र बुधबार पुगेर क्षतिको विवरण संकलन गरिने उनले बताए । 

यस्तै पञ्चपुरीमा पनि सयौं घरधुरी र कार्यालयका भवनमा क्षति पुगेको स्थानीयले बताएका छन् । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालविर भण्डारीका अनुसार पञ्चपुरी–८ को दुललाथाई भन्ने ठाउँमा २९ वटा स्थानीयका घर र एउटा विद्यालयको भवनमा क्षति पुगेको छ । क्षति पुगेको अधिकांश घरको छाना उडाउनेदेखि भत्किएको स्थानीयले बताएका छन् । 

यस्तै, वडा नम्बर ९ का पनि ७ भन्दा बढी घरमा तथा वडा नम्बर १० को सरस्वती माध्यमिक विद्यालय, सरस्वती प्राविको भवनमा पनि क्षति पुगेको छ ।

इलाका प्रहरी चौकी बाबियाचौरका सहायक हवल्दार मोहन विकका अनुसार पञ्चपुरी–११ मा ७ घर, एउटा विद्यालय र एक संस्थाको जस्तापाता उडाएको छ । नगरप्रमुख भण्डारीले  बुधबारसम्म सबै तथ्यांक संकलन गरिने र त्यसपछि सहयोग गरिने बताए । 

बराहताल गाउँपालिका–४ तरङ्गाकोसरस्वती आधारभूत विद्यालयको छाना उडाएको छ । क्षति भएका विद्यालयमा पठन–पाठनमा समस्या पुगेको छ । तर, विपद्को समयमा स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला विपद् शाखाबाट हुनुपर्ने सहयोग स्थानीयले नपाएको गुनासो गरेका छन् ।

घर भत्किएर आफै पीडित भएका पञ्चपुरीको बाबियाचौरका पत्रकार जगतदल जनाला विक, बाबियाचौरका लालवीर सुनारले विपतमा सरकारको अनुभूति नभएको बताए । 

माओवादी पञ्चपुरी नगर कमिटीका अध्यक्ष केशव शाहीले क्षतिपूर्तिको व्यवस्थापन, विद्यार्थीलाई पठनपाठनको वैकल्पिक व्यवस्थापन गर्न, जोखिममा रहेका बस्तीका स्थानीयलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना र बासको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारलाई अनुरोध गरेको बताए । 

उता सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा भने मुचुल्काका लागि प्रहरी खटिसकेको र विवरण संकलन गर्ने काम भइरहेको बताउँछन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप