बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पौडीमा तेन्जिङले आफ्नै कीर्तिमान तोडे

बुधबार, १० जेठ २०८०, २१ : ३२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । काठमाडौँका तेन्जिङ नाम्दोल रायन गुरुङले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत भएको पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । तेन्जिङले बुधबार भएको हिट चरणको खेलमा ५० मिटर ब्याकस्ट्रोको दुरी ३०.०५ सेकेन्डमा पूरा गदै कीर्तिमान बनाएका हुन् ।

यसअघि उनकै नाममा ३१.३१ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन् २०१९ मा भारतको बेंलोरमा आयोजना भएको १०औं एशियन उमेर समूह प्रतियोगितामा उक्त कीर्तिमान बनाएका थिए । बुधबार ८ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ५० मिटर ब्याकस्ट्रोकमा तेन्जिङले ३०.४२ सेकेन्ड समयका साथ स्वर्ण पदक जिते । ललितपुरका अनुभव सुब्बाले रजत र काठमाडौँका जाडेन श्रेष्ठले कांश्य  पदक पाए ।

महिलातर्फ काठमाडौँका आर्या महर्जनले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् । उक्त स्पर्धामा काठमाडौँकी अनुसिया तण्डुकारले रजत र काठमाडौँकै राभ्या श्रेष्ठले कांश्य पदक जिते ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको १ सय मिटर ब्रेष्टस्ट्रोक स्पर्धामा महिलातर्फ ललितपुरकी उपास्ती महर्जनले स्वर्ण पदक जितिन् । उनले उक्त दूरी १ मिनट २५.५० सेकेन्डमा पुरा गरिन् । उक्त स्पर्धामा रोयल प्रजापतीले रजत र राभ्या श्रेष्ठले कांश्य जिते ।

सोही स्पर्धाको पुरुषतर्फ ललितपुरका शेरेन सिंहले १ मिनट १५.३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जिते । उक्त स्पर्धामा काठमाडौँका सनिलकुमार थापामगरले रजत र ललितपुरका लेसन डंगोलले कांश्य पाए ।

यसैगरी १ सय मिटर बटरफ्लाइ स्पर्धामा पुरुषतर्फ अनुभव सुब्बाले स्वर्ण पदक जिते । ललितपुरका उनले निर्धारित दूरी १ मिनट ५.१० सेकेन्डमा पूरा गरे । काठमाडौँका युभानलाल श्रेष्ठले रजत र काठमाडौँकै आयोन श्रेष्ठले कांश्य पदक पाए ।

महिला १ सय मिटर फ्रिस्टायलमा स्पर्धामा महिलातर्फ काठमाडौँकी अनुशिया तण्डुकारले १ मिनट ४.३९ सेकेन्डका साथ स्वर्ण पदक जितिन् । काठमाडांैकी रोयल प्रजापतीले रजत र आर्या महर्जनले कांश्य पदक पाए । सोही स्पर्धाको पुरुषतर्फ काठमाडौँका तेन्जिङ नाम्दोल रायन गुरुङले ५७.५८ सेकेन्डका साथ स्वर्ण पदक जिते । ललितपुरका अल्भिन महर्जनले रजत रसेरेन सिहले कांश्य जिते ।

यसैगरी २ सय मिटर ब्यक्तिगत मिड्ले स्पर्धाको पुरुषतर्फ काठमाडौँका सनिलकुमार थापामगरले स्वर्ण पदक जिते । उनले उक्त दूरी पार गर्न २ मिनट २८.६७ सेकेन्ड समय लगाए । ललितपुरका अल्भिन महर्जनले रजत र काठमाडौँका युभानलाल श्रेष्ठले कांश्य पदक हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप