शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियतामा सौदाबाजी

बिहीबार, ११ जेठ २०८०, २१ : ००
बिहीबार, ११ जेठ २०८०

२०१६ को डिसेम्बर ३१ मा भुटानी शरणार्थीलाई अमेरिका लाने कुरा शरणार्थीसम्बन्धी उच्च आयोगले बन्द गरेको भनिसकेको थियो । त्यसकारण यो कार्यदल किन गठन भयो, कसको आदेशमा भयो ? पहिलो विन्दु यहीबाट सुरु हुन्छ । नीतिगत भ्रष्टाचार त्यहीबाट सुरु भयो । केही मान्छेलाई मोरङ, झापाबाट विदेश पठाउने भनेर डरलाग्दो खेल सुरु भएको छ । यहीबाट सौदाबाजी भएको छ । 

दोस्रो बिन्दु भनेको कार्यदलमा कसैले चिन्दै नचिनेको मान्छे, त्यो विषयमा विज्ञता नभएको मान्छे कसरी नियुक्त गरियो ? पुराना सचिव र मन्त्रीले नाम आयो, मैले चिनेको थिइन भनेका छन् । प्रहरीको एउटा केसीको भनेर सोचेका थिएँ अर्को केसी पर्‍यो भन्ने आएको छ । 

हेर्नुहोस्, क्याबिनेटबाट नियुक्ति हुने प्रक्रियाबारे हामीलाई पनि थाहा छ । मन्त्रीपरिषद्बाट निर्णय भएको कुरा ४८ घण्टापछि मात्रै परिपक्व हुन्छ । कृष्ण पहाडी भन्ने मानिस नियुक्त भयो भने संखुवासभा बस्ने हो कि अमेरिकाको हो भन्ने सबै प्रक्रिया पुर्‍याएर गरिन्छ । बायोडाटा जान्छ । गृह मन्त्रालयले तलबाट टिप्पणी उठाउनु पर्छ । 

तर, यहाँ त बिचौलियाले भनेका मान्छेहरू कार्यदलमा नियुक्त गरिएका छन् । भलै कार्यदलको प्रतिवेदन गलत छ भन्ने कुरा होइन । अहिले सार्वजनिक भएकै छैन । त्यो थपेको मात्रै भन्ने छ । तर, नियुक्त कसरी भए त ? नियुक्ति प्रक्रियामा बिचौलिया, दलाल र कमिसन एजेण्टहरुको पहुँच कहाँबाट पुग्यो ? प्रश्न यहाँबाट सुरु हुन्छ । 

तेस्रो विन्दु भनेको कति मानिस नक्कली शरणार्थी बनेर गइसकेका छन् ? यो मूल्यको कुरा हो । राष्ट्रिय अस्मितामाथि घात भएको छ । सौदाबाजी गरेर यसलाई टुंगोमा पुग्न नदिने प्रयत्न गरिँदैछ । यसलाई टुंगोमा पुर्याउन सकिएन भने नागरिक समाज र लोकतन्त्रको अपमान हुन्छ । 

लोकतन्त्र एक दिनमा जाँदैन । यही भ्रष्टतन्त्रको कारणले गर्दा २०६१ सालसम्ममा देश अत्यन्तै विग्रिएर गएको थियो । अहिले त्यही अवस्थामा पुगेको छ । 

नक्कली शरणार्थी प्रकरणमा नामहरू प्रशस्तै आएको छ । त्यो फेक नाम हो कि सही नाम हो । त्यस विषयमा तथ्य जाँच हुनुपर्छ । अनुसन्धान गहिराइमा हुनुपर्छ । जो मानिसहरु अमेरिकातिर छिरिसकेका छन्, उनीहरुले दिएको बयानको कुरालाई अहिले कसैलाई थाहा नभएको कारण रोकिएको भन्ने छ । यो विषयमा अन्तर्राष्ट्रिय कम्युनिटीबाट पनि रिपोर्ट सार्वजनिक हुन सक्छ । स्वार्थमा लेनदेन भयो भने अर्को कुरा हो । 

भ्रष्टाचारको अहिलेको विषयलाई नागरिक समाजले निचोडमा पुर्याउन चाहन्छ भने नागरिक समाजले पनि श्वेतपत्र जारी गर्न सक्नुपर्छ । पब्लिकले त्यसैलाई मान्छ । यो विन्दुसम्म हुनुपर्छ भन्ने कुरामा । 

त्यसैले मैले प्रष्ट कुरा भनेको छु । एउटा सौदाबाजी भएको छ । अहिले शीर्ष नेतामा देखिएको छटपटाहटको कारण के हो त ? तपाईंहरुले बिस्तारै बिस्तारै सौदाबाजीका मोडलहरु देख्दै जानु हुनेछ । 

अर्को लोकतान्त्रिक गणतन्त्र भनेको व्यक्तिको होइन, विधिको सर्वोच्चता हो । कानूनभन्दा माथि कोही पनि छैनन् भन्ने हो । हिजो राजा महाराजालाई कानूनभन्दा माथि थिए भनियो । अहिले नेतालाई कानूनभन्दा माथि राखियो भने यो व्यवस्था कसरी चल्छ ? यो प्रश्नको जवाफ खोज्नु पर्छ । 

हामीले खोज्नुपर्ने अर्को कुरा के हो भने एउटा दुईवटा चुनाव जित्दैमा उन्मुक्ति पाइँदैन । कानून आफ्नो ठाउँमा हुन्छ । म नाम लिन चाहन्न । तर, नेपालमा के भयो भने भ्रष्टाचारको विषयमा मुद्दा चलाएर सांसद पद निलम्बन भएको छ । तर, यहाँ त्यस्तो मान्छे फेरि जितेर आए । फेरि ती मानिस निलम्बनमा परे । त्यो कस्तो पार्टी हो ? संसारमा कहीँ पनि यस्तो उदाहरण पाइँदैन । 

भ्रष्टाचारमा मुद्दा परेर निलम्बन गरेको मान्छे फेरि निलम्बनमा पर्छ भन्ने जान्दा जान्दै फेरि टिकट किन दिइयो ? यो नागरिक सर्वोच्चतामाथि चुनौती हो । मेरो पार्टी, मेरो नेताबाटै, मेरो सर्वोच्चतालाई दास बनाएर राजतन्त्रको निरन्तरता दिन खोजियो । त्यसकारण आन्दोलनको धुवाँ आइरहेको छ । त्यो हाम्रो नियन्त्रणमा नरहन सक्छ । एउटा पार्टीको कसैलाई ७० करोडको आरोप लाग्यो । उनले फेरि टिकट पाएर फेरि जिते । त्यो भनेको उनी दोषबाट मुक्त भएको होइन । त्यसकारण कुनै पनि पार्टीहरु चोखो छैनन् । 

इन्स्योरेन्सको लाइसेन्स दिँदा १२ वटा कम्पनीबाट १०–१० करोड खाएको कुरा आएको छ । अरबको बैंकमा पैसा छ, अस्टे«लियाको बैंकमा पैसा छ भन्ने आएको छ । हिन्दुस्तानको बैंकमा पैसा छ । सिंगापुरमा पैसा राखेको कुरा आएको छ । नेताहरुलाई यति ठूलो आरोप छ । जसका कारण अब कुनै पनि आन्दोलन अराजकतावादी हिसाबले अगाडि बढ्छ कि भन्ने खतरा छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण सुरुवात हो । यसलाई निष्कर्षमा पुर्याउन सकियो भने नागरिक समाजको आन्दोलन बढ्दै जान्छ । होइन भने भोलि यो अराजकतातिर जाने अवस्था छ । त्यसकारण, यो नागरिक समाजको आन्दोलनबाट नयाँ नेता जन्मिने, भोलिको राजनीतिक नेता जन्मिने यो अवसर पनि हो । अहिले अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनलाई सशक्त बनाउन आवश्यक छ । 

– भ्रष्टाचारविरुद्ध विराटनगरमा आयोजित कार्यक्रममा पहाडीले राखेको मन्तव्यको सम्पादित अंश

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण पहाडी
कृष्ण पहाडी
लेखकबाट थप