शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेवाताल अतिक्रमणको विषयमा प्रदेशसभा सदस्यले गराए ध्यानाकर्षण

आइतबार, १४ जेठ २०८०, २० : ५०
आइतबार, १४ जेठ २०८०

पोखरा । गण्डकी प्रदेशसभा बैठकमा सांसदहरुले फेवाताल अतिक्रमण रोक्न माग गरेका छन् । आइतबार प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले फेवाताल अतिक्रमणको मुद्दा उठान गरेका हुन् ।

एमाले सांसद देवका पहारीले यतिबेला फेवातालले अन्तिम सास फेरिरहेको बताइन् । उनले प्रदेश सरकारलाई फेवातालको सिमसार क्षेत्रलाई बचाउन अनुरोध गरिन् । ‘सिमसार क्षेत्रमा दिनहुँ डोजर देखिन्छ । माटोले पुरिरहेको जमिन देखिन्छ । यो भनौं कि फेवाताल अन्तिम सास फेरिरहेको छ । गुहार मागिरहेको छ,’ उनले भनिन् ।

फेवाताल बचाउने हो भने अब आइसीयूमा राखेर उपचार गर्नुपर्ने उनको भनाइ थियो । ‘नागरिकले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । तर, सुनुवाइ भएको छैन । यो हाम्रो सरोकारको विषय वस्तु हो कि होइन ?’ उनको प्रश्न थियो ।

आफू बच्चा हुँदा पानी खाएर हुँर्किएको फेवाताल अहिले पोखरीमा परिणत भएको उनले बताइन् । ‘फेवाताल विश्व रामसार सूचीमा पर्छ । हिजो मलाई समुन्द्र जस्तो लाग्ने त्यो ताल अहिले ठूली पोखरी जस्तो भएको छ,’ उनले भनिन् ।

महानगरको नक्कली अनुमति पत्र देखाउँदै फेवाताल अतिक्रमण हुँदा पनि सरोकारवाला निकाय मौन रहेको उनको भनाइ थियो । दुई दिनको स्वीकृति लिएर दुई महिनासम्म डोजर चलाइएको भन्दै सांसद पहारीले प्रदेश सरकारसँग फेवातालको विषयमा जवाफ माग गरेकी छन् ।

कांग्रेस सांसद प्रकाश बरालले सरोकारवाला निकायको असक्षमताले गर्दा नै फेवाताल अतिक्रमणमा परेको बताए । उनले कार्यान्वयन गर्ने निकायले निर्णय लिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको सुनाए ।

‘गण्डकी प्रदेशको एउटा समृद्धिको सूचक बनेको फेवाताल आजभोलि मानवीय अतिक्रमणले रोइरहेको छ,’ बरालले भने । उनले फेवाताल कसैको व्यक्तिगत विषय नभएको बताए । ‘फेवातालमा घर बन्दा समृद्धि हुँदैन, फेवाताल जोगियो भने मात्र समृद्धि हुन्छ भन्नेमा हाम्रो तीनै तहका सरकारको ध्यानकर्षण गराउन चाहन्छु,’ उनले भने ।

नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना छुटे

शनिबार सीमसार क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन पुगेका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने सात जना युवालाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले सोधपुछपछि उनीहरुलाई रिहा गरेको बताए ।

हिरासतमा राखेको २४ घन्टा नपुग्दै उनीहरुलाई छाडिएको हो । ‘नगर प्रहरीमाथि दुर्व्यवहार भएको भनेर हिजो पक्राउ गरिएको थियो । आज सोधपुछ गरेर परिवारको जिम्मामा छुट्नुभएको छ,’ विकले भने ।

अनधिकृत रूपमा टिपरमा माटो ओसार्ने गरेको पाइएपछि सोधपुछ गर्ने क्रममा युवाको जमातले नगर प्रहरीमाथि हुल हुज्जत गरेको थियो । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार पोखरा–२४ पामेमाथि घाँटीछिनाको बीचमा इजाजत बिना टिपरमा सामान ल्याउँदै गरेको सूचना पाएपछि नगर प्रहरी अनुगमनमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप