बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : वार्ता र संवादमा आउन मुख्यमन्त्रीको आह्वान

सोमबार, १५ जेठ २०८०, १६ : ३५
सोमबार, १५ जेठ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् । 

गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित एक समारोहमा उनले आफ्ना गतिविधि शान्तिपूर्ण बनाउन र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । प्रदेशसभामा सहभागी एमाले बाहेकका सबै दलहरूले सरकारलाई तत्काल वार्ता समिति बनाउन आग्रह गरिरहेका बेला मुख्यमन्त्री कार्कीले भने वार्ताको आव्हान गरेका हुन् । 

‘अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौँ, नयाँ प्रदेश सभामाको निर्वाचनसँगै छैटौँ वर्षमा प्रवेश गरेपछि प्रदेशको नामकरण गरेका छौँ । कोशी नामकरणपछि यसको विपक्षमा रहनु भएका केही पहिचानवादी शक्तिहरूले यसको विरोधमा केही कार्यक्रमहरू गरिरहनु भएको छ । म उहाँहरूलाई आफ्ना गतिविधिहरू शान्तिपूर्णरुपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु,’ वार्ताको आव्हान गर्दै कार्कीले भनेका छन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरू भए आगामी निर्वाचन मार्फत कानुन र संवैधानिक प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गर्दछु । तपाइँहरुलाई आफ्ना हिंसात्मक गतिविधिहरू छाडेर सरकारसँग संवाद र छलफल गर्न आह्वान गर्दछु । हामी संवाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौ । विश्वका जुनसुकै ठुला समस्याहरू वा नेपालकै सन्दर्भमा पनि धेरै राजनीतिक घटना, परिघटनाहरू र असहमतिहरू वार्ता र संवादबाट नै सार्थक र सफल बनाएका छौँ, त्यसलाई परिणाममा पुर्‍याएका छौँ ।’  

उनले मुलुकको सामाजिक सद्भाव र शान्तिको प्रवृत्तिलाई नबिगार्नका लागि सबै संयमित हुनुपर्ने अवस्था रहेको पनि उल्लेख गर्दै आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गणतन्त्रले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकता हाम्रो सामाजिक सद्भावलाई अझ सुदृढ गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षा गर्दै उनले साझा चुनौतीको विषयमा साझा ढङ्गले लड्नुपर्नेमा जोड दिएका छन् । 

‘पहाडी क्षेत्रको बढ्दो बसाइँ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जनचाहाना अनुसारको शासकीय सुधार र नकारात्मक आर्थिक सुचाङ्कहरु चूनौतिका रुपमा देखिएका छन्,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, राष्ट्र सेवक कर्मचारी साथीहरू, नागरिक समाज र हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरू एक जुट भएर आफ्नो विवेक प्रयाग गर्दै यी साझा चुनौती विरुद्ध लड्न जरुरी छ ।’

उनले गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको बताएका छन् । ‘भौतिक विकास तर्फ निर्माण भएका सडक सञ्जाल, पुल पुलेसा  र सामुदायिक भवन, शिक्षा र स्वास्थ्य  क्षेत्रमा  भएका नीतिगत तथा संरचनागत सुधारका प्रयासहरू, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मूल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरू गणतन्त्रकै प्रतिफल हुन् । जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारहरू निर्माण गर्दैछन्,’ उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप