शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इतिहास

गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज

मङ्गलबार, १६ जेठ २०८०, ०९ : ४०
मङ्गलबार, १६ जेठ २०८०

हामीकहाँ गणतन्त्रको दियोमा सबैभन्दा पहिले आगो कसले झोँसो ? जवाफमा एउटा नाम आउँछ, रामराजाप्रसाद सिंह ।  सिंहलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन माओवादीले उम्मेदवार बनाएको थियो, त्यतिबेला २६ मतान्तरले कांग्रेसका उम्मेदवार डा. रामवरण यादव राष्ट्रपतिमा चुनिएका थिए ।

इतिहास इतिहास नै हुन्छ, २७ भदौ २०६९ मा ७७ वर्षको उमेरमा रामराजा भौतिक रूपमा अस्ताए, गणतन्त्रको आधार वा जग खोतल्दा रामराजा मूर्त रूपमा भेटिन्छन् । 

रामराजाका बारेमा केही पुस्तक र थुप्रै आलेख छापिएका छन् । जमिनदार परिवारमा जन्मेका रामराजा कसरी गणतन्त्रवादी बन्न पुगे ? उनको उठानको कथा रोमाञ्चकारी छ ।

उनका बारेमा लेखिएका दुई पुस्तक (सीताराम बरालको संकलनमा ‘आत्मवृत्तान्त’ र भावना शर्माको ‘गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंह’) उल्लेखनीय छन् । यी दुई पुस्तकमा उनी कसरी गणतन्त्रवादी बन्न पुगे भन्ने कथा रोचक ढंगले आएको छ । 

रगतको विम्ब 

ऊ बेला सप्तरीको कोइलाडी गाउँमा सात ठूला जमिनदारको रजगज थियो, जसमध्ये एक थिए– रामराजाका हजुरबुवा दर्पनारायण सिंह । भारतमा समेत उनको जग्गा–जमिन प्रशस्त थियो । रामराजा केटाकेटी हुँदा उनका पाँच भाइ बुवाहरूबीच सम्पत्ति बाँडफाँड भइसकेको थियो । छुट्टाभिन्न हुँदा उनका बुवा जयमंगलप्रसादको भागमा हात्ती, घोडा, गाईभैँसी सबै गरी पशुधन मात्र करिब एक हजारजति परेका थिए । 

त्यतिबेला उनको घरमा ‘सेभरलेट कार’ नामको मोटर थियो । कोइलाडी गाउँमा कच्ची सडकमा मोटर चल्थ्यो, पछि कोसीको बाढीले बाटो बिग्रियो र कार त्यत्तिकै थन्कियो । उनको घरमा एउटा फिलिप्स रेडियो पनि थियो, त्यो रेडियोको ब्याट्री चार्ज गर्न भारत पुग्नुपथ्र्यो । त्यसबेलाका विद्वत् मानिएको वर्गले उनको घरमा रेडियो सुन्थे । 

घरका हरेक सदस्यका लागि नोकर राखिएको थियो । रामराजाका लागि पनि नोकर थिए । यत्तिका सुखसयलका बीचमा रामराजालाई सानैमा गम्भीर बिरामीले छोप्यो । उनको उपचारका लागि डाक्टर हात्ती चढेर भारतबाट आए । ती बंगाली डाक्टरले भने, ‘टाइफाइड भएजस्तो छ, दरभंगा लैजानुस्, उपचार त्यहाँ मात्रै सम्भव छ ।’

टाइफाइडलाई त्यो जमाना असाध्यै ठूलो बिमारीका रूपमा लिइन्थ्यो । उनलाई दरभंगा लैजान रातारात ठूलो तयारी भयो । उनको उपचारका लागि जानेमा आमा, बुवा, दिदी, बज्यै लगायत अरु नोकचाकर थिए । घरमा उनलाई पढाउने मास्टर पनि गएका थिए । बस्ने ठाउँको व्यवस्था गर्न अगाडि नै केही मानिस गएका थिए । 

दरभंगाबाट समस्तिपुरतिर जाने बाटोमा लहेरियासराय भन्ने स्टेसन छ, यसकै छेउमा रहेको एउटा बंगलामा करिब तीन महिना राखेर उनको उपचार भयो । इंग्ल्यान्डबाट भर्खर पास गरेर आएका नाम चलेका डा. शीतलप्रसाद सिंह उनको उपचारमा खटिएका थिए । उनले दिनकै पाँच रुपैयाँ फी लिन्थे । त्यो बेला पाँच रुपैयाँमा एक क्विन्टलभन्दा बढी धान आउँथ्यो । यो सन् १९४२ तिरको कुरा हो, जतिबेला भारतमा अंग्रेजविरोधी आन्दोलन चलिरहेको थियो । यहीँ उपचार गर्दा रामराजाले आफ्नो स्मृतिबाट कहिल्यै नमेटिने क्रान्तिको झलक देखे । 

उनलाई राखिएको कोठामा एउटा झ्याल थियो, त्यो झ्यालबाट उनले स्टेसनतिर हेरिरहन्थे । ‘महात्मा गान्धी जिन्दावाद ! जवाहरलाल नेहरु जिन्दावाद !’ नारा उनको कानमा गुन्जिरहन्थ्यो, यो दृश्य र ध्वनिले उनलाई रोमाञ्चित तुलाउँथ्यो ।

उनलाई राखेको घरमा चिनजानका मानिस आउन थाले । दरभंगादेखि केही पर रहेको खैडा गाउँमा उनका बुवाको मामाघर थियो । भारतमा रहेका आफन्त त्यतिबेला गान्धीको मुठिया चामल आन्दोलनमा सरिक थिए, उनका बुवा पनि त्यसमा सामेल भए । यसरी उनीहरू उपचारका लागि बसेको घर आन्दोलनकारीको सेल्टर बन्न पुग्यो ।

रेलबाट आएका आन्दोलनकारीलाई पुलिसले स्टेसनमा झार्थे । आन्दोलन दबाउन बेलाबेला फायरिङ पनि हुन्थ्यो । एकपटक रामराजाले झ्यालबाट हेरिरहेका थिए, तल एक आन्दोलनकारीलाई गोली लाग्यो । उसको शरीरबाट रगत बगिरहेको थियो । आन्दोलनकारी उसलाई घेर्न पुगे, केहीबेरमै सबैले चिच्याए– ‘सहिद हो गया, सहिद हो गया !’ आन्दोलनकारीले जमिनमा पोखिएको रगत निधारमा लगाउँदै चिच्याए– ‘अमर हो गया, अमर हो गया !’ यो दृश्य र नाराले राजारामको हृदयमा अमिट छाप पा¥यो ।

केटाकेटीमै जेल

रामराजा ८–९ वर्षका थिए । उनको घरमा दुई जना नयाँ मानिस आएका थिए– जयप्रकाश नारायण र राममनोहर लोहिया । भारतमा चलिरहेको सुभासचन्द्र बोसको आजाद हिन्द क्रान्तिलाई सफल बनाउन यी दुई नेताले आजाद दस्ता बनाउने तयारी गरिररहेका थिए । 

उनको घरको अर्कापट्टि कुशाहा गाउँ पर्छ, त्यसपछि उता कोसी नदी । कोसीपारि पनि उनीहरूको जमिन थियो । त्यहीँ भारतीय स्वतन्त्रता संंग्रामका योद्धालाई तालिम गराउन ‘आम्र्स ट्रेनिङ क्याम्प’ बनाइएको थियो । 

जयप्रकाशहरूले निश्चिन्त भएर तालिम लगायतका गतिविधि गरेका थिए, प्रशासनले थाहा पाएर निगरानी बढायो । जयप्रकाश, लोहिया लगायत ६–७ जना पक्राउ परे । रामराजाका बुवाले उनीहरूलाई छुटाउन प्रशासनसँग कुरा राखे, तर सुनुवाइ भएन । भारतमा नाम चलेका नेता पक्राउ पर्नु सामान्य थिएन । त्यसमाथि आफ्नो घरमा पाहुना बनेर आएका व्यक्ति ! उनीहरूलाई छुटाउन हनुमाननगर (सप्तरीको तत्कालीन सदरमुकाम)मा आक्रमण भयो । 

यसका लागि जयमंगल प्रसादले हनुमाननगर नजिकै रहेको दलित बस्तीमा आगो लगाउने योजना बनाएका थिए । दलितहरूलाई राम्रै पैसा दिएर सात–आठ घरमा आगो लगाइयो । सेना–प्रहरी आगो निभाउन कुदे । त्यसै बेला जयमंगल र उनका साथीहरूले गोश्वारा कार्यालय तोडेर नेताहरूलाई भगाए । यस काण्डमा उनका बुवा समातिए, सम्पत्ति पनि रोक्का गरियो । 

२००० सालको फागुनतिर जुद्धशमशेर वीरगन्ज आएका बेला सम्पत्ति रोक्का नगर्न निवेदन लिएर नौ वर्षीय राजाराम र उनका माहिला भाइ लक्ष्मणबाबु वीरगन्ज गए । त्यतिबेला जुद्ध शमशेरको आदेशमा उनीहरूलाई उलिनकाठ चढाएर काठमाडौं पठाइयो, उनीहरू पनि १६ महिना बुवासँगै जेल बसे ।

गणतन्त्रको उद्घोष 

घरमै प्राथमिक शिक्षा लिएका रामराजाले दरभंगाबाट म्याट्रिक्स, बनारस हिन्दू विश्वविद्यालयबाट बिए र बिहार विश्वविद्यालयबाट कानुनमा स्नातक गरे । 

बनारसमा पढ्दा सोसलिस्ट पार्टीका नेतासँग उनको सम्बन्ध भयो । त्यसकारण उनी राष्ट्रप्रेमी बने । यही बेला राजा महेन्द्रको राज्याभिषेक हुँदै थियो । उनले राजाविरोध लेख लेखे, छाप्नका लागि टाइम्स अफ् इन्डिया लगायत पत्रिकामा पठाए, तर छापिएन । ‘हामीलाई गुलाम बनाउनेको राज्याभिषेकमा नाच्न–गाउन के हाम्रो नैतिकताले दिन्छ ?’ यस्तै प्रश्नलाई केन्द्रमा राखेर उनले सो आलेख लेखेका थिए । 

बनारस हिन्दू विश्वविद्यालयमा पढ्दा उनले एक दिन आमहडतालको आह्वान गरेका थिए, सोही कारण उनले चार वर्ष पढिसकेको कलेज छाड्नुपर्ने भयो । त्यसपछि उनी सन् १९५६ मा दिल्ली युनिभर्सिटी पुगे ।

त्यहाँ उनको भेट क्लारासँग भयो । क्युबाली क्रान्तिका नायक चे ग्वेभाराकै मुलुक अर्जेन्टिनाकी क्लारा चेकी शिष्यसमेत थिइन् । क्लाराको संगतले रामराजामा क्रान्तिकारी चेतको विकास हुन थाल्यो । 

रामराजाले क्लारामार्फत अप्रत्यक्ष संवादसमेत गरेका थिए । चेले भनेका थिए, ‘क्रान्ति पहिले आफ्नै घरबाट सुरु गर, अनि देशमा क्रान्ति गर । क्रान्तिको ज्वाला लिएर अघि बढ, म सहयोग गर्छु ।’ यस भनाइबाट रामराजा प्रभावित भए ।  

सन् २०६२ को जनवरी १, २ र ३ मा पटनामा अल इन्डिया कांग्रेसको अधिवेशन हुँदै थियो । देशमा क्रान्ति गर्न चाहने रामराजाले यस अधिवेशनलाई उपयोग गर्ने ठाने । भारतभरका कांग्रेस नेता जम्मा भएको अधिवेशनमा पुगेर उनले राजतन्त्रविरोधी पर्चा छरे । जवाहरलाल र इन्दिरा गान्धीको हातैमा पर्चा थमाए । पर्चा हात पर्नेबित्तिकै इन्दिरा गान्धीले सरसर्ती पढिन् र मुस्काउँदै भनिन्, ‘यो सपना पूरा गर्न तिमीसँग संगठन छ ? क्रान्तिका लागि संगठन र परिपक्व योजना चाहिन्छ । विचारले मात्रै क्रान्ति सम्भव हुँदैन । नेपाल जाऊ र संगठन बनाऊ, आवश्यक परे सहयोग माग ।’

यसअघि नै उनी इन्दिराको घरमा गएर कफी पिइसकेका थिए । इन्दिराको सुझावलाई उनले ग्रहण गरे । त्यस अधिवेशनमा नेपालबाट अतिथि भएर गएका सुवर्ण शमशेरले पर्चा पाएछन् । सुवर्णलाई भेटेर रामराजाले भने, ‘स–साना दस्ता बनाएर नेपालमा क्रान्ति गरौँ ।’

‘कहाँ चे ग्वेभाराको पछि लागेको !’ भन्दै सुवर्णले उनको प्रस्ताव अस्वीकार गरिदिए । यसपछि रामराजा काठमाडौं आए, सर्वोच्च अदालतमा वकालत गर्न थाले । उनको मनमा क्रान्ति गर्ने विचार छँदै थियो । 

राजा महेन्द्रद्वारा २०१७ साल पुस १ गते सैन्यबलमा जननिर्वाचित सरकार अपदस्थ र संसदीय व्यवस्था खारेज गरेर ल्याइएको निर्दलीय पन्चायती प्रणालीको व्यवस्थापिका, राष्ट्रिय पञ्चायतका सदस्य अप्रत्यक्ष निर्वाचन पद्धतिबाट छानिन्थ्यो । २०२३ सालमा निर्दलीय पञ्चायती व्यवस्थालाई ‘निर्विकल्प’ घोषणा गरियो । अप्रत्यक्ष निर्वाचन पद्धतिको आलोचना टार्न संविधान संशोधन गरी चार जना स्नातक क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरियो । स्नातक क्षेत्रका उम्मेदवार मात्र हैन, मतदातासमेत स्नातक हुन्थे र निर्वाचन क्षेत्र देशव्यापी हुन्थ्यो । त्यसैअनुरूप २०२४ र २०२८ सालमा स्नातक क्षेत्रबाट चार/चार जना राष्ट्रिय पञ्चायत सदस्यमा निर्वार्चित भएका थिए । 

२०२४ सालमा रामराजाले स्नातक चुनावमा भाग लिएका थिए । पुतलीसडकस्थित एक हलमा उनले राजनीतिक यात्राको पहिलो भाषण अंग्रेजी भाषामा दिए, उनलाई नेपाली भाषा त्यति आउँदैनथ्यो । भाषणमा उनले राजाको विरोध गरेका थिए, उनलाई पक्रन पुलिस आइपुग्यो, प्रहरीलाई छलेर उनी सप्तरी पुगे, त्यहाँ पनि उनले राजाविरोधी भाषण गरे । अन्ततः उनलाई जलेश्वरबाट पक्राउ गरियो र एक दिनमै छाडियो । भारततिर निर्वासित जीवन बिताउन दिने ध्येयले यसो गरिएको थियो, तर उनी काठमाडौं आए र पुनः पक्राउ परे, उनको उम्मेदवारी पनि रद्द गरियो । 

जमानतमा छुटेका उनले २०२८ सालको स्नातक चुनावमाफेरी उम्मेदवारी दिए । राजा महेन्द्रको २०१७ साल पुस १ गतेको कदमको विरुद्धमा केन्द्रित रामराजाको वजनदार पर्चा सर्वत्र चासो र चर्चाको विषय बन्यो । राजतन्त्रविरोधी उनको भाषण रोकिएन, प्रहरी उनको पछाडि परेकै थियो । उनले चुनाव जिते, ४० दिन भूमिगत रहेर राष्ट्रीय पञ्चायत भवन, ग्यालरी बैठकमा पुग्दा उनलाई पक्राउ गरियो र जेलमा हालियो । उनी जेलमा हुँदा राजा महेन्द्रले उनलाई प्रधानमन्त्रीकै अफर गरेका थिए, तर उनले मानेनन् । २०३३ सालमा जतिखेर उनी कारामुक्त भए, त्यतिखेर पञ्चायती संविधानमा गरिएको दोस्रो संशोधन (२०३२ )ले स्नातक निर्वाचन क्षेत्र नै खारेज गरी सकेको थियो ।

रिहा भएपछि रामराजा वकालतसँगै संगठन विस्तारमा लागे । २०३५ साल चैतमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको विरोधमा जुर्मुराएका विद्यार्थीहरूमाथि पञ्चायती शासकले दमन गर्यो । त्यो दमनको विरुद्धमा विद्यार्थी आन्दोलित भए । आन्दोलन चर्कंदै जाँदा २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्र ‘निर्विकल्प’ भनिएको निर्दलीय पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने भन्ने विषयमा जनमत सङ्ग्रह हुने घोषणा गर्न बाध्य भए ।

त्यो घोषणा लगत्तै रामराजाले बहुदलको पक्षमा प्रचार प्रसार गर्न बहुदलीय जनवादी मोर्चा गठन गरे । उनले पञ्चायती शासकहरूलाई प्रजातन्त्रको विरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिंदै षड्यन्त्र गरिए जनताले ‘मङ्गलमय विध्वंश’ गर्ने जनाउ दिएका थिए । तत्कालीन बहुदलीय जनवादी मोर्चाका एक नेता ज्योतिरत्न शाक्य साउन ८ गते टुँडिखेलको खुल्लामञ्चमा आयोजित आमसभा स्मरण गर्दै भन्छन्, 'वर्षातको बेला, पानी परिरहेको थियो । छाता हुनेले ओडेर र नहुनेले भिजेरै रामराजाजीको जोशिलो भाषण सुने । उहाँले पंचायती शासकहरुलाई चेतावनी नै दिनुभएको थियो- 'ए, अतिक्रमणकारी शासकहरू हो, कान खोलेर सुन ! जनता जागेको दिन यी हातहरू नै तरबार बन्ने छन्, रुखमा आँप–अम्बा हैन, बम फल्ने छन् बम !’

शाक्य थप्छन्, 'नभन्दै, पञ्चायती शासकले षड्यन्त्र गरेरै छाड्यो ।  बहुदलको पक्षमा प्रचार प्रसार गर्दै नेपालगञ्ज पुग्नुभएका रामराजाजी र खेमराज भट्ट मायालुलाई जनमत सङ्ग्रह हुनु एक साताअघि पक्राउ गरियो । जनमत सङ्ग्रहको नतिजा घोषणा गरेको भोलिपल्टै २०३७ जेठ २ गते काठमाडौंमा म लगायत दर्जनौँ नेता–कार्यकर्तालाई पक्राउ गरी जेल चलान गरियो । महिनौँको जेलजीवनबाट मुक्त भएपछि रामराजाजीले भूमिगत हुने र सशस्त्र सङ्घर्ष गर्ने प्रस्ताव गर्नुभयो । हामी केही साथीहरूलाई त्यो उचित लागेन । तर आफ्नो विश्वासमा अटल रामराजाजी सहमत साथीहरू लिएर भूमिगत हुनुभयो ।'

रामराजाले भूमिगत रुपमै सशस्त्र क्रान्तिका लागि दस्ता पनि तयार पारिरहेका थिए । सशस्त्र क्रान्तिका लागि हतियार खोज्ने क्रममा उनको भेट भेल्लुपिलाइ प्रभाकरणसँग भयो, जो श्रीलंकामा सशस्त्र क्रान्ति गरिरहेका थिए । रामराजाले पहिलो भेटमै प्रभाकरणलाई मन पराएनन् ।

०४२ असार ६ गते रामराजाले गणतन्त्रको नाराका साथ नारायणहिटी दरबार, सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवन र अन्नपूर्ण होटलमा बम विस्फोट गराए । कसैको ज्यान नजाओस् भनी बिदाको दिन पारिएको थियो, तर त्यसै दिन पानी परेकाले लमजुङका राष्ट्रिय पञ्चायत सदस्य डम्बरजंग गुरुङ पञ्चायत भवनमा ओत लिन पुगेका रहेछन्, उनी लगायत केहीको मृत्यु हुन पुग्यो । 

‘बम विस्फोटनबारे राजनीतिक वृत्तमा परस्परविरोधी मतहरू थिए । कोही विस्फोटन भारतले गराएको भन्थे, कोही त्यसमा दरबारकै हात रहेको देख्थे । दरबारनिकटका व्यक्तिहरू यसमा भारतीय हात देख्थे भने नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरू यसलाई दरबारले नै गराएको हो भन्ने दाबी गर्थे,’ सीताराम बरालले लेखेका छन्, ‘नारायणहिटी राजदरबार र सिंहदरबारजस्ता सुरक्षा व्यवस्था कडा भएका स्थानमा कुनै नेपाली संघ–संगठन वा व्यक्तिले विस्फोटन गराउन सक्छ भन्ने विश्वास कसैमा थिएन ।’

नेपाल सरकारले विस्फोटको अभियोगमा रामराजा, उनका भाइ लक्ष्मण, विश्वेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्मालाई मृत्युदण्डको सजाय सुनायो । रामराजा भूमिगत रहे, जनआन्दोलनको बलमा २०४६ सालमा निर्दलीय पञ्चायत ढले पनि अन्तरिम शासन कालभर रामराजा र उनका साथीहरुको सजाय यथावत रह्यो । उनीहरुले २०४८ सालको आमनिर्वाचनमा भाग लिन पाएनन् तर त्यो निर्वाचनबाट निर्वाचित गिरिजाप्रसाद कोइराला नेत्तृत्वको सरकारले भने आममाफी दिलायो।

तैपनि सिंह २०५१ सालमा मात्र खुल्ला राजनीतिमा आए । त्यसको अर्को वर्षबाट माओवादीले गणतन्त्र स्थापनाको लक्ष्यसहित सशस्त्र सङ्घर्ष सुरु गर्यो, जसलाई रामराजाले बिभिन्न तरिकाले सघाए।

जेलमा नाटक, रगतको आहाल

२०२८ सालको स्नातक चुनावपछि जेल पर्दा रामराजाले जेलभित्रै नाटक देखाए । उनी आफैँ नाटक लेख्थे, खेल्थे र खेलाउँथे । 

जनवादी मोर्चाका उपाध्यक्ष रहिसकेका खेमराज मायालुका अनुसार जेलभित्र जहाँ मिल्छ त्यहीँ मञ्च बनाएर नाटक देखाइन्थ्यो । मायालु भन्छन्, 'दर्शकहरू जेलभित्रकै हुन्थे । जेलभित्र  चे ग्वेभाराकी चेली क्लाराबारेको नाटक पनि देखाइएको थियो।  म, रामशरण महत लगाएतका बन्दीहरुले नाटक खेलेका थियौं । क्लाराको भूमिकामा ईश्वर लामा (२०४२ सालको बम काण्डका बेला बेपत्ता बनाइएका) ले अभिनय गरेका थिए ।'

नाटकमा खुब रगत बगाइएको दृश्य हुन्थ्यो । उपचारका लागि दरभंगा बस्दा रामराजाले जे दृश्य देखे– रगतको आहालमा डुबेको क्रान्तिकारी र उसको रगतको पवित्रता, यसले उनलाई लाग्यो– आन्दोलनमा बगेको रगत पवित्र हुँदोरहेछ !

नाटकमा बढी रगतको प्रयोग देखेपछि साथीहरू भन्थे– ‘के भएको छ, किन यस्ता नाटक लेख्नुहुन्छ ?’

जेलमा रहेका बेला खासगरी वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले भन्थे, ‘के हो रामराजाबाबु ! तपाईंको तपाईंको नाटकमा रक्तप्रवाह हुनैपर्ने !’

आत्मवृत्तान्तमा रामराजाले लेखेका छन्, ‘हामीले राजतन्त्र उन्मूलनका लागि जुन सशस्त्र क्रान्तिको सुरुवात २०४२ सालमा ग¥यौँ, क्रान्तिको त्यो सुरुवातपछिको पहिलो पर्चामा मैले लेखेको छु— यो क्रान्ति एउटा रक्तिम त्योहार हो, यसमा बगेको रगत अमृतधारा हो, यसले मृत्यु होइन, अमरत्व दिन्छ । यो दरभंगामा भएको त्यही घटनाको अनुभव स्वतः प्रवाहित भएको हो । त्यस बेला म सानो थिएँ । क्रान्तिप्रतिको मेरो जो उन्मूखता हो, त्यसैलाई नै आफ्ना पम्प्लेटमा पनि मैले चर्चा गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप