बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

भारतमा प्रधानमन्त्रीको साढे ७३ घण्टा : भ्रमण कति सफल कति असफल ?

गेरुवस्त्र लगाएर पूजापाठ गर्दा आलोचना, आशा गरिएका जुन विषय अधुरै रहे
शनिबार, २० जेठ २०८०, २२ : २५
शनिबार, २० जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतमा साढे ७३ घण्टा बिताएर स्वदेश फर्किएका छन् । आफ्नो चार दिने भ्रमण फलदायी भएको प्रधानमन्त्री प्रचण्डको जिकिर छ । भारत भ्रमण ऐतिहासिक बनाउने उद्देश्य बोकेर जेठ १७ गते दिल्ली उडेका प्रचण्डले सो क्रममा केही ‘असहज अवस्था’ पनि भोगे । यद्यपि ती सबै असहज अवस्थालाई चिर्दै भ्रमण फलदायी बनाउन सकिएको प्रचण्डको दाबी छ । 

दिल्लीस्थित आफू बसेको होटल आईसीटी मौर्यमा सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्दै होस् या मध्यप्रदेशको उज्जैनमा किन नहोस् उनले आफ्नो भ्रमण फलदायी भएको प्रतिक्रिया दिए । यस्तै शनिबार स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनले सोही कुरा दोहोर्याए । उनको भनाइ थियो, ‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ । केही महत्त्वपूर्ण दूरगामी समझदारी भएका छन् । यो आफैंमा महत्त्वपूर्ण सुरुवात हो ।’


ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भारतले किन्नेसम्बन्धी सहमति ऐतिहासिक भएको प्रचण्डको भनाइ थियो । भारतीय समकक्षी नरेन्द्र मोदी आफैंले यसबारे घोषणा गर्नु महत्त्वपूर्ण भएको प्रचण्डको धारणा छ । 

भ्रमणको उपलब्धी के ?
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच मुख्यतः सात विषयमा सम्झौता भएका छन् । जसअनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण गर्ने सहमति बनेको छ । यस्तै सीमापार पेट्रोलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) एवं टर्मिनल निर्माण सम्झौता भएको छ  । यसैगरी नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता हुनुका साथै चाँदनी दोधारामा एकीकृत जाँचचौकी स्थापना गर्ने सम्झौतासमेत भएको छ । 

भारतीय कम्पनीद्वारा फुकोट कर्णाली आयोजना निर्माण गर्ने, डिजिटल पेमेन्ट (नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच) सहकार्य गर्ने सम्झौता पनि भएको छ ।  यस्तै विकास निर्माणसम्बन्धी केही आयोजना पनि भारतले घोषणा गरेको छ ।

जसमा प्रधानमन्त्री मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । तर, दीर्घकालीन व्यापार सम्झौता हुन सकेको छैन । अहिले समझदारी बनेको बताइएकाले निकट भविष्यमा यसमा नतिजा निस्कने विश्वास लिइएको छ । 
प्रधामन्त्रीकै भारत भ्रमणको अवसर पारेर बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरिएको छ । यसैगरी नेपालगन्ज र रुपैडिहामा तथा भैरहवा र सुनौलीमा एकीकृत जाँच चौकी उद्घाटन गरिएको छ । यसैगरी मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनअन्तर्गतको दोस्रो चरणपनि उद्घाटन प्रधानमन्त्रीको भारत भ्रमणकै क्रममा गरिएको छ । 
यसैगरी गोरखपुर–बुटवल प्रसारण लाइनको भारतीय भागको शिलान्यास गरिएको छ । यी सबै विषयमा बिहीबार हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता र दुई पक्षीय प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि सहमति जुटेको हो । 

यी विषय अधुरै
नेपालको मुख्य सरोकार रहेको विषय हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजना हो । जुन विषय प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा फलदायी बन्न सकेन ।  महाकालीको पानी बाँडफाँटको विषयमा ठोस सहमति हुन नसक्नु नै नेपालका लागि नमिठो भयो । नेपालको मुख्य एजेन्डामा रहेका यी विषयमा भारत सहमत नभएपछि अन्य एजेन्डामा मात्रै सम्झौता भएको हो ।  यस्तै तत्कालका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी अनुमति दिन भने भारत सहमत भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिएका छन् । यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् । नेपालको मुख्य चासो भने हवाई रुट नै हुन् । भारतले रुट नदिँदा नेपालको ठूलो लगानी रहेको भैरहवा विमानस्थल प्रभावित हुँदै आएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि दु्ई पक्षबीच पर्याप्त छलफल र तयारी नहुँदा सीमित सम्झौतामात्रै भएको बताइएको छ । त्यसमाथि प्रधानमन्त्री दिल्ली पुगेकै साँझ होटल मौर्यमा भेट्न पुगेका मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तुतीले तनावको अवस्था निम्तिएको भ्रमणका सहभागी एक अधिकारीको भनाइ छ ।

ती अधिकारीका अनुसार विद्युत व्यापारसम्बन्धी २५ वर्षे दीर्घकालीन सम्झौता गर्न नसकिने सन्देश डोभालले सुनाएपछि अवस्था तनावपूर्ण बनेको थियो । यस्तै नेपाललाई थप हवाइ रुट दिने, पञ्चेश्वरसम्बन्धीलगायतका विषयमा पनि सो दिन निराशाजनक संवाद भएको थियो ।

जुन कुरालाई प्रचण्डले पनि स्पष्ट पारेका छन् । अघिल्लो दिन सन्देश सकारात्मक नभएपनि बिहीबार मोदीसँगको भेटवार्तापछि माहोल पुनः सच्चिएको प्रचण्डको भनाइ छ । शुक्रबार प्रचण्डले सञ्चारकर्मीहरुसँग भने, ‘मेरो उहाँ (मोदी)सँग तीनचोटी वान टु वान भयो । छोटो पिरियडमा पहिले झण्डै २०–२५ मिनेट, पछि पाँच–सात मिनेट गरेर वान टु वान मिटिङ जसरी भयो, त्यसले परिस्थितिलाई धेरै नै सहज बनाइदियो ।’ सायद त्यही कुराकानीबाट कन्भिन्स भएर मोदीले दुई देशबीचको सम्बन्ध सुपर हिट र हिमालयको हाइटमा जान्छ भनेर मोदीले भनेको हुनसक्ने प्रचण्डको भनाइ छ । 

प्रचण्डले थप भनाइ थियो, ‘एकचोटि त बिग्रिन्छ क्यारे, भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुहुन्छ भने एम्बेसीमा मेरो अनुहार ठूलो दबाव परेको जस्तो थियो । तर यसमा मोदीजीले नै बढी इनिसियटिभ लिएको देख्छु, वातावरण सहज बनाउन ।’ स्मरणरहोस्, बुधबार डोभालसँग भेटवार्तापछि प्रचण्ड साँझ दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका थिए । 

उसो त प्रचण्डको भारत भ्रमणका क्रममा ईजीपी प्रतिवेदन, अग्निपथलगायत विषयमा पनि सहमति बनेन । जुन विषयलाई नेपालले सुल्झाउन चाहेको छ । यस्तै सीमासम्बन्धी समस्यामा समेत कुनै प्रगति भएन ।  नेपालका कतिपय चासो सम्बोधन नभएको बिहीबारको छलफलपछि भारतीय प्रधानमन्त्री मोदीले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधारमा गहन छलफल भएको प्रतिक्रिया दिएका छन् ।

 ‘विगत केही वर्षमा भारत–नेपाल सम्बन्धमा भएको प्रगति र भारत–नेपालबीचको सहकार्यलाई थप बलियो बनाउने उपायबारे म र प्रधानमन्त्री पुप्षकमल दाहालबीच फलदायी वार्तालाप भयो । विशेषगरी वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधारजस्ता प्रमुख क्षेत्रहरूबारे गहन छलफल भयो’, ट्वीट्मार्फत मोदीको भनाइ थियो । 

प्रचण्डको भ्रमण नेपाल–भारतबीचको सम्बन्धमा सुधारमा महत्वपूर्ण सहयोगी भएपनि कतिपय नेपाली चासो सम्बोधन नभएकाले भ्रमण फलदायी भने हुन नसकेको कतिपयको भनाइ छ । कति विषयमा नेपाली पक्षकै तयारी र पहल नपुगेको तथा कतिपय विषयमा थप संवाद र पहलकदमी लिनुपर्ने देखिन्छ । 

उसो त प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासको भूमिका पनि कमजोर देखियो । नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदा दूतावासले जति समन्वय गर्नुपर्ने थियो, त्यति हुन नसकेको सरोकारवालाको भनाइ छ । 

यसैपनि दिल्ली दूतावासको कार्यशैलीमाथि विगतदेखि नै गुनासो आउने गरेकोे छ, अहिले भ्रमणका बेला पनि दूतावासको उस्तै कमजोर भूमिका देखिएको नेपाली समुदायकै भनाइ छ । दूतावासको कमजोर व्यवस्थापनका कारण नेपाली सञ्चारकर्मीलाई समाचार संकलनमा समेत अवरोध भएको थियो ।

भ्रमणका दुई विवाद र आलोचना
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अजित डोभालसँगको भेटवार्तामा छोरीलाई प्रचण्डले साथमा राखेको तर नेपाली कूटनीतिज्ञ नराखेको भनेर आलोचना भयो । डोभालसँगै रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा टिपोटमा जुट्दा प्रचण्डको स्वकीय सचिव समेत रहेकी गंगा दाहाल हातमा मोबाइल खेलाउँदै बसेको तस्बिर आलोचनाको विषय बनेको थियो । तर, प्रचण्डले त्यो भेटवार्ता वान टु वान जस्तै भनिएको र त्यही अनुसार तयारी भएको स्पष्ट पारेका छन् । यस विषयमा अनावश्यक प्रचार गर्दै उछाल्ने काम भएको उनको गुनासो छ ।

उसो त प्रचण्डले भारतमा पिताम्बर (गेरुवस्त्र) ओढेर मन्दिरमा पुजाआजा गरेको विषय पनि आलोचनाको विषय बन्यो । यो विषय आलोचनाको विषयमात्रै बनेन कम्युनिस्ट विचारधारामा आएको विचलनको रुपमा पनि बहस भइरहेको छ । अरु त अरु प्रचण्डकै कुनैबेलाका सहकर्मी डा.बाबुराम भट्टराईले समेत प्रश्न गरेका छन् ।

प्रचण्ड शुक्रबार दिल्लीको भेटवार्ता पुरा गरेर मध्यप्रदेशको इन्दौर पुगेका थिए । त्यहाँ उनी महाकालेश्वर मन्दिरमा पूजाआजामा जुटेका थिए । सो क्रममा उनले १०८ किलोको रुद्राक्ष चढाउँदै दानदक्षिणा मात्रै गरेनन् पुरै गेरुवस्त्र धारणा गरेका थिए । यस विषयमा प्रचण्डले भने आफूले इन्दौर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरुवस्त्र धारण गर्नु परेको दाबी गरेका छन् । 

सो मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा आस्था राख्नेहरुको मनमा चिसो पस्ने भएकाले गेरुवश्त्र धारण गरेको उनको भनाइ छ ।  ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्मविरोधी होइन नि’, स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा प्रचण्डले भने, ‘सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बिहरुप्रति समान व्यवहार गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो । प्रधानमन्त्रीले त सबैलाई समेटनुपर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुवस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिस गर्नुभयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाउँ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त ? म लगाउन्न भनेको भए के हुन्थ्यो ? एक अर्व मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ?’

उनले आफूले सहज ढंगले गेरुवश्त्र लगाउँदा सबै खुशी भएको भन्दै यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने धारणा राखे ।   प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते २ बजेर ५० मिनेटमा नयाँ दिल्लीस्थित इन्दिरा गान्दी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । भारत पुगेपछि प्रचण्डले पहिलो दिन मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव क्वात्राबाट भेटवार्ता सुरु गरेका थिए । दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गरेका थिए । सोही दिन नेपाल भारत बिजनेश समिटलाई सम्बोधन गरेका प्रचण्ड शुक्रबार भने मध्यप्रदेश पुगेका थिए । 

यस्तै शुक्रबार र शनिबार मध्यान्नसम्म मध्यप्रदेशमा मन्दिरको दर्शनका साथसाथै फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्ली फर्किएका थिए । त्यसपछि उनी इन्दिरा गान्धी विमानस्थलबाट अपराह्न ४ बजेर २० मिनेटमा काठमाडौँका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत र बिदाइ विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरेकी थिइन् ।

प्रधानमन्त्रीको भारत भ्रमण टाइमलाइन
जेठ १७ गते बुधबार
१३ः२५ मा नेपाल एयरलाइन्सको विमानमार्फत भारत प्रस्थान
१४ः५० मा दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण, विदेश राज्यमन्त्री मिनाक्षी लेखीद्वारा स्वागत
१५ः१० मा सरदार पटेलमार्गस्थित होटल मौर्यमा पुगेर आराम
१८ः०० मा अजित डोभाल र विनयमोहन क्वात्रासँग भेट
१९ः०० दिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासमा । सम्बोधन र रात्रिभोजमा सहभागी
२१ः२० मा होटल मौर्य पुगेर आराम

जेठ १८ गते बिहीबार
१०ः३० मा राजघाट पुगेर माहात्मा गान्धीको स्मारकमा माल्यार्पण
११ः०० मा हैदरावाद हाउसमा । नरेन्द्र मोदीसँग भेटवार्ता, सम्झौता, उद्घाटन र संयुक्त पत्रकार सम्मेलन 
१६ः०० मा उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता
१६ः३५ मा राष्ट्रपति द्रौपदी मूर्मुसँग भेटवार्ता
१८ः१८ मा नेपाल–इन्डिया बिजनेश समिटलाई सम्बोधन 

जेठ १९ शुक्रबार
८ः३० मा इन्दौरका लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान
१०ः०० मा इन्दौर विमानस्थल
११ः१५ मा महाकालेश्वर मन्दिरमा गेरुवश्त्रमा पूजापाठ
१६ः०० मा मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता, त्यसपछि वेस्ट मेनेजमेन्ट प्लान्टको अवलोकन
१९ः०० मा मुख्यमन्त्री चौहानले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सहभागी

जेठ २० शनिबार
११ः४५ मा विशेष आर्थिक क्षेत्रको भ्रमण
१४ः३० मा नेपाल प्रस्थानका लागि इन्दौरबाट दिल्ली अवतरण
१६ः२० मा नेपाल एयरलाइन्सबाट काठमाडौँ प्रस्थान
१८ः१० मा काठमाडौँ अवतरण, स्वदेश फिर्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप