मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेश : संघीय सरकारलाई चुनौती दिँदै सचिव पदमा २ कर्मचारी सिफारिस

मङ्गलबार, २३ जेठ २०८०, २० : ४४
मङ्गलबार, २३ जेठ २०८०

मकवानपुर । संघीय सरकारलाई चुनौती दिँदै बागमती प्रदेश सरकारले शिक्षा तथा प्रशासन सेवाका २ कर्मचारीलाई ११ औं तह (सचिव)मा बढुवा सिफारिस गरेको छ ।

प्रदेश सरकार मतहतको बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार मतहतका संरचनामा कार्यरत दशौं तहका २ कर्मचारीलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको हो ।

संघीय निजामती ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारले संघीय सरकारलाई चुनौती दिँदै प्रदेश निजामती ऐन अनुसार ११ औं तहका कर्मचारी सचिव हुने गरी लोकसेवा आयोग समक्ष बढुवा सम्बन्धी सूचना प्रकाशनका लागि सिफारिस गरेको हो ।

प्रदेश सरकारले पहिलो पटक आन्तरिक बढुवा मार्फत् मतहतका निकायम कार्यरत दशौं तहका कार्मचारीलाई सचिव पदमा बढुवाको प्रक्रिया आरम्भ गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव निश्चलराज पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारले गत फगुन १८ गते प्रदेश निजामती सेवा ऐन जारी भएपश्चात उक्त ऐनमा भएको प्रावधान अनुसार ११ औं तहमा कर्मचारी बढुवा गरेको सचिव पाण्डेको भनाइ छ ।

बढुवा समितिको सिफारिस अनुसार प्रदेश लोकसेवा आयोगले बुधबार ती २ कर्मचारीको बढुवाका लागि सूचना प्रकाशन गर्ने उनले बताए । उनले भने, ‘हाललाई शिक्षा तथा प्रशासन सेवाका कर्मचारीको योग्यता पुग्ने भएकाले सो सेवा समूहको बढुवा सिफारिसका लागि निर्णय गरिएको हो । शिक्षा तथा प्रशासन सेवाका २ जना ११ औं तहका लागि सिफारिस भएका छन् ।’

अन्य सेवाहरुको पनि बढुवा प्रक्रिया जारी रहेको उनले बताए । ऐन अनुसार प्रदेश सरकारमा ११ औं तह वा सचिव पद रिक्त रहेको अवस्थामा १५ दिनभित्र लोकसेवा आयोगलाई जानकारी गराएर सूचना प्रकाशन गरी बढुवा प्रक्रिया प्रारम्भ गर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

‘प्रदेशको ऐन जारी भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ेका हौं । संघीय निजामती सेवा ऐन बन्न नसकेको अवस्थामा प्रदेश सरकारले उक्त निर्णय गरेको र भविष्यमा संघीय निजामती ऐन जारी भइ कानुनी समस्या देखिए आवश्यक सुधार गरेर अघि बढ्ने सरकारको तयारी छ,’ सचिव पाण्डेले भने ।

बढुवा समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । सदस्यहरुमा प्रदेशका मुख्य सचिव, सम्बन्धित विषयका विज्ञ सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रशासन तथा बैठक महाशाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था रहेको उनले बताए ।

सो समितिले विभिन्न चरणमा बैठक सञ्चालन गरेर शिक्षा तथा प्रशासन सेवाका २ कर्मचारीलाई ११ औं तहमा बढुवा सिफारिस गरेको पाण्डेको भनाइ छ ।

‘उहाँहरु प्रदेश सचिवका लागि योग्य हुनुहुन्छ र सूचना प्रकाशनको चरणमा छ । जसमा शिक्षा विकास निर्देशनालयमा कार्यरत पूर्णबहादुर दर्जी र सार्वजनिक निर्माण कार्यान्वयन इकाई, काभ्रेमा कार्यरत डा. चन्द्र प्रसाद लुइटेल छन्,’ उनले भने ।

उनीहरुलाई अग्रज, तालिम अनुभव, कार्य सम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता लगायतका आधारमा बढुवा गरिएको सचिव पाण्डेले बताए । बढुवा सिफारिसका लागि प्राप्त आवेदनका आधारमा दुई जना छनौट गरिएको उनको भनाइ छ ।

बढुवा सिफारिस भएकाहरुको सूचना प्रकाशन भएको २१ दिनसम्म दाबी विरोधको समय निर्धारण गरिएको र उनीहरुमाथि उजुरी नपरेको खण्डमा नियुक्ति प्राप्त गर्ने सचिव पाण्डेले बताए । उनका अनुसार सिफारिस भएका व्यक्तिहरुमाथि उजुरी परेको खण्डमा लोकसेवा आयोगका सदस्यहरुले छलफल तथा अध्ययन गर्ने र दाबी विरोधमा फेरबदल नभएको खण्डमा २२ औं दिनको ज्येष्ठता कायम गरेर नियुक्ति पत्र प्रदान गरिनेछ ।

जस अनुसार ज्येष्ठ व्यक्ति सचिव पदमा पदस्थापन हुने र अर्का व्यक्ति ११ औं तहको दरबन्दी कायम भएको प्रदेश सरकार मातहतका संरचनामा खटाइने सचिव पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप