शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय सरकारको एक बर्ष

पोखराका मेयर धनराजको एक वर्ष : चुनावी प्रतिबद्धता घोषणापत्रमै सीमित

बुधबार, २४ जेठ २०८०, १५ : ३०
बुधबार, २४ जेठ २०८०

पोखरा । गत स्थानीय निर्वाचनमा गठबन्धन गरी मेयरको उम्मेदवार बनेका धनराज आचार्य जनतासँग मत माग्न जाँदा समय सीमा नै तोकेर समृद्ध पोखरा निर्माणका लागि विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए । तिनै प्रतिबद्धता र आवश्वासनका कारण उनले भनेजति मत पाए र निर्वाचन पनि जिते । 

मेयर आचार्यले कार्यभार सम्हालेको एक वर्ष पूरा भइसकेको छ । चुनावी घोषणामा उनले तीन महिना, छ महिना वा एक वर्षभित्र गरिसक्छु भनेका अधिकांश प्रतिबद्धता अहिलेसम्म सुरु नै गरेका छैनन् । 

ती महिनाभित्र महानगरको करको दायरा फराकिलो बनाउने कार्यविधि बनाउने घोषणा गरेका थिए । तर त्यो घोषणामै सीमित भयो, विगतमा उठ्दै आएको कर पनि अहिले उठ्न सकेको छैन । 

अघिल्ला आर्थिक वर्षहरूमा महानगरले नदीजन्य पदार्थ बिक्रीवितरण गरेर बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । तर यस वर्ष पोखराका ३३ वडामध्ये चालु आर्थिक वर्षमा आधाभन्दा बढी घाट ठेक्कामा जानै सकेका छैनन् । यसले गर्दा चालु आर्थिक वर्षमा महानगरको करोडौँ रुपैयाँ राजस्व गुम्ने भएको छ ।

मेयर आचार्यले तीन महिनाभित्रै ज्येष्ठ नागरिक भत्ता घरदैलोमा उपलब्ध गराउने घोषणा गरेका थिए । ज्येष्ठ नागरिकले त्यो अवसर अझै पाएका छैनन् । 

घुम्ती अस्पताल सञ्चालन, सुन्दर पोखरा स्वास्थ्य पोखरेली कार्यक्रम, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने र प्राथमिकताको आधारमा परिचयपत्र वितरण गर्ने घोषणा मेयर आचार्यले गरेका थिए तर ती कामको सुरुवात अझै हुन सकेको छैन । 

उनले छ महिनाभित्रै सक्षम पोखरा परियोजनाको कार्यविधि बनाउने भनेका थिए । तर यसका लागि अझसम्म कार्यपालिका बैठकमा प्रस्तावसमेत गरिएको छैन । एक वडाध्यक्षले भने, ‘खोइ, यो कार्यविधिको बारेमा त तपाईँले भनेपछि मात्र थाहा पाएँ । यस्ता विषयमा अहिलेसम्म प्रस्ताव पनि पेस भएको थाहा छैन ।’ 

आमा समूहमार्फत ‘एक समूह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा, महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, वेस्ट बैङ्कमार्फत फोहोर खरिद गर्ने प्रणाली सुरु गर्ने कार्यका लागि उनले समय सीमा नै तोकेका थिए । तर यो एक वर्षको समय गुज्रिँसक्दा पनि केही सुरु भएको छैन । 

महानगरभित्र ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने, निःशुल्क विद्यालय शिक्षाको कार्यान्वयन गर्ने आचार्यको प्रतिबद्धता थियो । पोखरालाई पर्यटनसँग जोड्न रारा तालसम्म ‘इन्टर लेक एअर कनेक्सन’ गर्ने भने पनि यी सबै प्रतिबद्धता सुरुसमेत हुन सकेको छैन । 

महानगरभित्र मेट्रिक ठेगाना प्रणाली लागु गर्ने र स्कुल टु वर्क कार्यक्रम सञ्चालन जस्तो प्रतिबद्धता गरे पनि पूरा नहुँदा मेयर आचार्य आलोचित बन्दै गइरहेका छन् । 

पहिलो निर्णय नै गुमनाम

पदभार ग्रहणका क्रममा मेयर आचार्यले पोखरालाई विश्वमा चिनाउन ‘सिम्बोल अफ पोखरा’ बनाउने निर्णय गरेका थिए । पोखरालाई पर्यटनसँग जोड्ने र चिनारी दिने सो निर्णय थियो पनि गुमनाम छ । महानगरले निर्णय नै गरेर प्रदेश सरकारलाई पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । तर अहिलेसम्म सङ्घीय सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको छैन । 

यस्तै गरी मेयर आचार्यले पहिलो दिन नै व्यक्तिगत घटना दर्तालाई सहज र सर्वसुलभ बनाउने निर्णय गरेका थिए । यो निर्णय पनि अझै कार्यान्वयन आएको छैन

‘फेवा–बेगनास जोड्ने मेट्रो रेल’ कागजमै सीमित

आचार्यले चुनावका बेला उम्मेदवारी दिँदै गर्दा मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना सुनाएका थिए । उनले एक तालदेखि आर्को तालसम्म मेट्रो रेल चलाउने योजना घोषणापत्रमा नै उल्लेख गरेका थिए । लेकसाइडसम्म सडकका दायाँ–बायाँ इलेक्ट्रिक ट्रेन चलाउने योजना सो घोषणापत्रमा समावेश छ । उनले पोखरामा सुरुङ मार्ग निर्माणको गर्ने योजनासमेत उल्लेख छ । तर अहिलेसम्म न त अध्ययन भएको छ न बजेट नै छुट्याइएको छ । 

यसैगरी उनले फेवालगायत पोखराका तालहरूको संरक्षण एवं सेती नदीको संरक्षण गर्ने घोषणा गरेका छन् । तर त्यसका लागि कुनै काम सुरु गरेका छैनन् ।

महानगरभित्र शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका मुद्दालाई सम्बोधन गर्ने, पोखराका ग्रामीण क्षेत्रमा ‘स्याटलाइट टाउन’ बनाउने उल्लेख छ । ग्रामीण इलाकामा ‘ग्रेटर पोखरा’ को अवधारणासँग तालमेल मिल्ने गरी पाँचवटा स्याटलाइट टाउन निर्माण गर्ने मेयर आचार्यले घाषणा गरेका थिए । यी योजनाले मेयर आचार्यलाई पछ्याइरहेका छ । चोक चोकमा आकासे पुल तथा अन्डर पास बनाउने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, स्वचालित ट्राफिक सिग्नल राख्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार गर्ने, अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने जस्ता पूर्वाधार निर्माण गर्ने मेयर आचार्यले घोषणा गरेका थिए । आफ्नो कार्यकालको एक वर्ष बित्दा पनि देखिने गरी कुनै कामको सुरुवात नहुँदा संशय उत्पन्न भएको छ । 

फेवा जोगाउन कमजोर साबित...

फेवाताल संरक्षण हरेक निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको छ । फेवाताल जोगाउने एजेन्डा मेयर आचार्यको पनि थियो । तर यो ताल दिन प्रतिदिन अतिक्रमण हुँदै आएको छ । तालको मापदण्ड ६५ मिटर भनिएको छ । तर तालमै ढेपेर संरचना निर्माण गर्ने क्रम रोकिएको छैन । रातारात फेवाताल नै पुरेर होटेल, रेस्टुरेन्ट बनिरहेका छन् । 

यसअघि सर्वोच्च अदालतले मापदण्डभित्रका संरचना हटाउन र नयाँ निर्माण रोक्न निर्देशन दिए पनि महानगरले उक्त कार्य रोक्न सकेको छैन । 

पोखरा–८, महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पोखरा पुस्तकालय हटाएर मेयर आचार्यले झन्डा पार्क बनाउँदैछन् । सर्वसाधारणले सो कार्यको विरोध हुँदै आएको छ । त्यस क्षेत्रमा डोजर चलाएपछि पोखराको कला साहित्य र शैक्षिक क्षेत्रका व्यक्तिले भने ‘स्टन्ट’ को संज्ञा दिए । उनीहरूका अनुसार महानगरमा रहेका अन्य अवैध संरचनामा डोजर चलाउनुको सट्टा आफ्नै स्वामित्वका संरचनामा डोजर चलाउनु ‘स्टन्ट’ भएको नगरवासीको भनाइ  छ । यो पुस्तकालय महानगरको आफ्नै जमिनमा भएकाले पुस्तकालय र आर्ट ग्यालरी भत्काउन हतार गरेको आरोप स्थानीयले लगाएका छन् । 

महानगरले सो पुस्तकालय र आर्ट ग्यालरीलाई पृथ्वीचोकस्थित ट्राफिक प्रहरीको भवनमा सार्ने जनाएको छ । 

केही सकारात्मक प्रयास

मेयर आचार्यले केही सकारात्मक प्रयास पनि गरेका छन् । महानगरका कार्यालयमा सेवा प्रवाह गर्दा कोठा कोठा चहार्नु पर्ने अवस्थाको अन्त्य गरेका छन् । 

निर्वाचित भएको तीन महिनापछि मेयर आचार्यले महानगरको सेवा प्रवाहमा ‘एकद्वार नीति’ कार्यान्वयन ल्याएका छन् । महानगरको भित्री कोठाका सबै शाखालाई बाहिर सारिएको छ । अब सेवाग्राहीले कागजात लिएर हरेक कोठामा पुग्नै पर्दैन । काउन्टरमा फाइल बुझाए पुग्छ ।

उनले हेलो मेयरमार्फत नगरवासीका गुनासा सुन्न थालेका छन् । महानगरमा भएका कुशासन, अव्यवस्थाबारे गुनासो पोख्न सिधै मेयर धनराज आचार्यलाई सम्पर्क गर्न सकिन्छ । कतिपयले सन्देशमा समाचार, सुझाव र व्यक्तिगतदेखि सार्वजनिक चासोका गुनासो टिपाउन सक्छन् । आफ्नो गुनासो भए ११८१ मा फोन गरेर टिपाउन सकिन्छ । 

यस्तै मेयर आचार्यले परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण दिनेभने पनि अहिले दुई लाखबाट सुरु गर्न सूचना जारी गरेका छन् । यो ऋण लिन महानगरभित्रका २५० जनाले फर्म भर्न सक्छन् ।

मेयर आचार्यको अर्को प्रशंसायोग्य काम हो– नियमविपरीत अघिल्लो नेतृत्वले लगाएको ठेक्का सम्झौताको खारेजी । पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको जग्गा चोर बाटोबाट ठेक्का लगाइएको थियो । त्यसलाई रद्द गरिएको छ । यसरी फिर्ता गरिएकामध्ये गल्फ कोर्सको जग्गामा महानगरपालिकाको कार्यालय बनाउने तयारी उनले गरेका छन् । 

यस्तै पोखरा–१४, बाच्छेबडुवास्थित ल्यान्डफिल्ड साइट मेयर अर्को स्थानमा सारिएको छ । ल्यान्डफिल्ड साइट नसर्दा सोही वडामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने हो कि भन्ने थियो । स्थानीयको विरोध भए पनि उनले अस्थायी रूपमा पोखरा–३२, लाम आहालमा ल्यान्डफिल्ड साइट सारेका हुन् । अस्थायी रूपमा लाम आहालमा ल्यान्डफिल्ड साइट सरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । 

अन्डरग्राउन्ड पार्किङको व्यवस्था 

विसं २०७४ मा निर्वाचित जनिप्रतिनिधिहरूले पार्किङलाई व्यवस्थित गर्न अन्डरग्राउन्ड खाली गर्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको थिएन । सडकमै पार्किङ शुल्क उठाउन ठेक्का लगाइयो । त्यो ठेक्काले पनि नागरिकले कर तिरेअनुसार पार्किङको समस्या उस्तै थियो । मेयर आचार्यले सो पार्किङ ठेक्का रद्द गरेर अन्डरग्राउन्ड खाली गर्ने कार्य गरिरहेका छन् ।

अन्डरग्राउन्ड पार्किङ अनुमति लिएर बनाएका घरमा अन्य पेसा व्यवसाय गर्नेलाई समयमै खाली गरिसकिएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सा पास गर्दा महानगरले दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको थियो । यो आर्थिक वर्षमा अन्डरग्राउन्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइएको छ । राजस्व छुट लिए पनि महानगरभित्रका २५० भन्दा बढी घरले अन्य व्यापार व्यवसाय सञ्चालन पाइएपछि खाली गर्न पटक पटक सूचना जारी गरेको थियो । यीमध्ये अधिकांशले खाली गरेको महानगरले जनाएको छ । सडकमा पार्किङ व्यवस्थित बनाउन चालिएको उक्त कदमको सबैले प्रशंसा गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप