आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस रुपान्तरण अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

लोकतान्त्रिक विधिभन्दा पनि व्यक्तिको विचार अनुसार पार्टी चलेको टिप्पणी
आइतबार, २८ जेठ २०८०, १८ : १९
आइतबार, २८ जेठ २०८०

दाङ । नेपाली कांग्रेस रुपान्तरण अभियानले आइतबार दाङमा लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गर्दै पार्टीभित्र देखिएको विकृतिबारे कार्यकर्तालाई सचेत तुल्याएको छ । लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा रुपान्तरण अभियानका नेताहरुले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे ।

कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए । उनले त्यो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरुले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।

केसीले पार्टीभित्र सीमित व्यक्तिको मनोमानी चल्दै आइरहेको आरोप लगाउँदै अब नेपाली कांग्रेस एकढिक्का बनाएर लैजाने प्रयासमा रुपान्तरण अभियान केन्द्रित भएको बताए । उनले भने, ‘पार्टी अहिले सीमित व्यक्तिको हातमा छ । जसले पार्टीलाई लथालिङ्ग अवस्थामा पु¥याएको छ ।’

पार्टीमा नातावाद मात्रै नभई अहिले धनवाद समेत हाबी हुँदै गएको चर्चा गर्दै केसीले सच्चा कार्यकर्ताहरु पार्टीको हरेक अवसरवाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको बताए । उनले भने, ‘तीन तहको निर्वाचनको टिकट वितरण होस् या समानुपातिक आरक्षण सिट वितरण होस्, त्यो कुरामा आर्थिक चलखेल वा नातावाद हाबी भएको छ ।’

कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपी जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरु हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए । नेतृत्वकर्मीहरु पार्टी र कार्यकर्ताहरुको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता आयोजित कार्यक्रममा बिजुला बर्मा राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप