मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विदेश भागेर फर्किएको व्यक्ति कराते महासंघमा बसेको भन्दै कारबाहीको माग

बुधबार, ३१ जेठ २०८०, १२ : ५४
बुधबार, ३१ जेठ २०८०

काठमाडौं । प्रतियोगिता खेल्न गएको बेला विदेशमै भागेर पछि नेपाल फर्किएको व्यक्ति खेलकुदको महासंघमा पदाधिकारी बनेको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी परेको छ । कराँतेका स्वयंसेवक प्रशिक्षक देवचन्द्र कार्कीले नेपाल कराते महासंघका सदस्य रवि महर्जनविरुद्ध मंगलबार राखेपमा उजुरी हालेका हुन् ।
कराँते महासंघमा सदस्यको रूपमा महर्जनको उपस्थिति गैरकानुनी भएको दाबी कार्कीले गरेका छन् ।

केही समयअघि चितवनमा भएको नेपाल कराँते महासंघको महाधिवेशनले महर्जनलाई सदस्य पदमा निर्वाचित गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को परिच्छेद ६ दफा २२ को उपदफा ५ (च) ‘राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा’ त्यस्तो व्यक्ति खेल संघमा निर्वाचित वा मनोनीत हुन नसक्ने’ उल्लेख गरिएको छ ।

कार्कीले आफ्नो उजुरीमा महर्जन सन् २००६ मा राष्ट्रको प्रतिनिधित्व गरी कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दक्षिण कोरिया गएको र उतै भागेको दाबी गरेका छन् । महर्जन कोरियामै भागेपछि राखेपले उनलाई परिषद्को स्थायी जागिरबाट समेत बर्खास्त गरेको दाबी पनि कार्कीले आफ्नो उजुरीमा गरेका छन् । त्यतिबेला महर्जन करातेको सहायक प्रशिक्षक पदमा कार्यरत थिए ।

‘विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा खेल संघमा निर्वाचित तथा मनोनीत हुन सक्ने छैन भन्ने स्पष्ट व्यवस्था भएको हुँदा निजलाई ऐन, नियममा उल्लेख भए बमोजिमको कारबाही गरी खेल र खेलाडीको हकहितका साथै ऐन नियमको कार्यान्वयन गराउनु हुन हार्दिक अनुरोध गर्दछु,’ राखेपका सदस्यसचिवलाई सम्बोधन गरेर हालिएको उजुरीमा भनिएको छ । उक्त उजुरी राखेपको ६४९५र०८० मा दर्ता नम्बरमा मंगलबार दर्ता भएको छ ।

rakhepa1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप