सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बागमती सरकारले ६० अर्ब बढीको बजेट ल्याउँदै

शुक्रबार, ०१ असार २०८०, ०८ : ३६
शुक्रबार, ०१ असार २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंलामाले आगामी आर्थिक वर्षका लागि निर्धारित बजेट प्रस्तुत गर्नेछन् ।

बजेट सार्वजनिक गर्नु पूर्व मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारको आगामी आर्थिक वर्षको बजेटलाई संसद्मा पेस गर्न स्वीकृतिका लागि आज शुक्रबार दिउँसो १ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ ।

उक्त बैठक पश्चात् प्रदेश सरकारको बजेट सदनमा पेस गर्ने सरकारको तयारी रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

आर्थिक संकटका कारण चालु आर्थिक वर्षको तुलनामा बजेटका आकार खुम्चिएको र सोही अनुसार चालु खर्चलाई कम गरी कार्यान्वयन गर्न सकिने प्रकृतिको बजेट आउने उनले बताए ।

‘सरकारले चालु आर्थिक वर्षको तुलनामा आकार घटाएर बजेट निर्माण गरेको छ । आर्थिक सङ्कटको असरका कारण प्रदेश सरकारको राजस्व सङ्कलनको अवस्था कमजोर देखिन्छ । यद्यपि प्रदेश सरकारले ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउँछ ।’ उनले भने, ‘सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ७० अर्ब ९३ करोड रुपैयाँको मध्ये ५४ अर्ब रुपैयाँ सम्म खर्च हुने अनुमान राखेको छ । सोही अनुसार राजस्वको दायरा र सङ्कलन दर बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।’

विगतका बजेटमा कार्यान्वयन हुन नसकेको भीमफेदी कुलेखानी सुरुङ मार्गलाई परिमार्जन गरी हेटौँडा चोभार सुरुङ मार्गको योजना समेत सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न छलफल चलाएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सरकारले ससद विकास कोषलाई बजेटमा समावेश गर्ने गरी छलफल गरेको छ । विगतमा उक्त कोष मार्फत प्रत्यक्ष तर्फका सांसदलाई ३ र समानुपातिक सांसदलाई एक करोड रुपैयाँका दरले बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा भने रकम दुरुपयोग भएको भन्दै सो बजेट कटौती गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोष अन्तर्गत प्रत्यक्ष तर्फका सांसदलाई ५ र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सरकारले विगतको भन्दा फरक शैलीमा सो कोष कार्यान्वयन गर्ने तयारी गरेको छ । सांसदले बजेट तर्जुमाका क्रममा हालेका योजनाहरूबाट आवश्यकताका आधारमा छनौट गरी प्रत्यक्ष तर्फका सांसदको ५ करोड रुपैयाँ बराबरको योजना र समानुपातिक तर्फका सांसदको ३ करोड रुपैयाँ बराबरका योजना सो कोष अन्तर्गत रहेर कार्यान्वयन गर्ने गरी बजेटमा समावेश गरेको स्रोत बताउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप