बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश बजेट

कर्णाली बाहेक ६ वटा प्रदेशको बजेट घट्यो, सबैभन्दा बढी बागमतीको कटौती !

शुक्रबार, ०१ असार २०८०, २२ : ०२
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संघको बजेट कटौती भएसँगै प्रदेशहरुको पनि बजेट कटौतीमा परेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि संघले २.३६ प्रतिशत बजेट कटौती गर्दै १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । प्रदेशहरुले चालु आर्थिक वर्षको तुलनामा समग्रमा ८.४६ प्रतिशतले बजेट घटाएका छन् ।

चालु आर्थिक वर्षका लागि ७ वटा प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशबाहेक बाँकी ६ वटा प्रदेशले २५ अर्ब ८४ करोड ६१ लाख रुपैयाँले बजेट घटाउँदै कुल २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छन् ।

संघले जस्तै खर्च गर्ने स्रोत खुम्चिदा बजेट कार्यान्वयनमा समस्या पर्ने देखेपछि प्रदेश सरकारहरुले बजेट घटाएर ल्याएको देखिन्छ ।

कुन प्रदेशको बजेट कतिले घट्यो ?

बागमती प्रदेश

सबैभन्दा बढी बजेट कटौतीमा बागमती प्रदेश परेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ८ अर्ब २३ करोड २ लाख रुपैयाँले कम हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यद्यपि, ७ वटा प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट ल्याउने प्रदेश अहिले पनि बागमती नै हो ।

सुदूरपश्चिम प्रदेश

बजेट घट्ने प्रदेशको दोस्रो नम्बरमा सुदूरपश्चिम प्रदेश परेको छ । प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ७ अर्ब ४८ करोड ५ लाख रुपैयाँले कम हो । चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

कोशी प्रदेश

कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ४९ करोड ४८ लाख रुपैयाँले कम हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

मधेश प्रदेश

मधेश प्रदेशले चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ कम गरेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 गण्डकी प्रदेश

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँले कम हो ।

चालु आर्थिक वर्षका लागि प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले २ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरले बजेट घटाएको छ । चालु आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको हो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशले भने आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा पनि ७६ करोड ३६ लाख रुपैयाँ बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशले जम्मा ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट ल्याउँदै गर्दा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

चालु आर्थिक वर्षका लागि सबैभन्दा कम बजेट ल्याएको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट घटाउनुपर्ने स्थिति महसुस नगरेको देखिन्छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप