शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा जेल गएका इन्द्रजितको के–केमा देखियो संलग्नता ?

शुक्रबार, ०१ असार २०८०, २२ : २४
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रिजित राईलाई पनि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएको छ । अन्य १५ जना प्रतिवादीसहित उनलाई पनि शुक्रबार अदालतले केन्द्रीय कारागार पठाएको हो । 

राईलाई पुर्पक्षका लागि जेल पठाउने आधारका रुपमा अदालतले व्यक्तिगत सुरक्षा अधिकृत दुर्गाबहादुर रानाले अनुसन्धानका क्रममा गरेको बयान कागजलाई समेत बनाएको छ ।  जसमा रानाले  सानु भण्डारी, केशवप्रसाद दुलाल र टोपबहादुर रायमाझीसहित डा इन्द्रजित राईको कार्यकक्षमा हात हालाहाल भएको अवस्थामा आफूले छुट्ट्याएको बयान दिएका छन् । 

विवादको सम्बन्धमा बुझ्दा नेपाली नागरिकलाई भुटानी शरणार्थी बेनाई लैजाने भनी जाहेरवालाहरुसँग लिएको रकमका सम्बन्धमा विवाद भएको पाइएको उनले बयानमा उल्लेख गरेका छन् ।  अदालतको थुनछेक आदेशमा आर्थिक लेनदेनको विषयलाई समेत उल्लेख गरिएको छ । जसमा राईले राखौँ रकम लिएको देखिएको छ ।

आदेशमा भनिएको छ, ‘“सानु भण्डारीको घरबाट बरामद डायरीको पाना २१–४ मा प्रतिवादी इन्द्रजित राईका छोरा निरज राई र प्रतिवादी डा.इन्द्रजित राईसमेतलाई, मिति २०७६।३।२ गतेदेखि २०७६।३।२६ गतेसम्म तीन पटक (भुटानी शरणार्थीका लागि खर्च भएको विवरण) शिर्षकमा जम्मा रु १,५०,००,००० (एक करोड पचास लाख) नगद दिएको भन्ने उल्लेख गरेको, प्रतिवादी सानु भण्डारीले मौकाको बयानमा प्रतिवादी डा इन्द्रजित राईलाई रु १,५०,००,००० (एक करोड पचास लाख) नगद, त्रिपुरेश्वरस्थित निजको घरमा नगद रु १,००,००,००० (एक करोड) दिएको, हिमालय होटलमा रु २,००,००,००० (दुई करोड) बुझाएको भन्ने उल्लेख गरेको.....।’

यस्तै सहप्रतिवादीहरु टेकनाथ रिजाल र टोपबहादुर रायमाझीको बयान समेतबाट राईको कसूरमा सम्लग्नता रहेको देखिन आएको अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप