सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

इटालियन फुटबलको दुर्भाग्य : उत्कृष्ट प्रदर्शन, अन्त्यमा निराशा

बुधबार, ०६ असार २०८०, १५ : ११
बुधबार, ०६ असार २०८०

काठमाडौं । विश्व फुटबलमा नेदरल्यान्ड्सलाई अभागी राष्ट्रको संज्ञा दिइन्छ । तीन पटक विश्वकप फुटबलको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेकाले नेदरल्यान्ड्सलाई अभागी टोलीको संज्ञा दिइएको हो । हरेक विश्वकपमा नेदरल्यान्ड्सको प्रदर्शन उत्कृष्ट रहन्छ । तर, उपाधिबाट भने टोली सधैँ वञ्चित हुँदै आएको छ ।  

नेदरल्यान्ड्स सन् १९७४ मा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई २—१ गोलले हराउँदै उपाधि चुम्यो । त्यसलगत्तै सन् १९७८ मा पनि नेदरल्यान्ड्स विश्वकपको उपाधिनजिक पुग्यो । त्यतिबेला पनि फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई स्तब्ध: बनायो । निकै प्रतिस्पर्धात्मक फाइनलको अतिरिक्त समयमा अर्जेन्टिना ३—१ गोलले विजयी भयो भने नेदरल्यान्ड्स अन्तिम समयमा आएर जिल्लिन पुग्यो । 

त्यसपछि नेदरल्यान्ड्स सन् २०१० को विश्वकपका फाइनलमा पुग्यो । तर, फाइनलमा स्पेनले बाजी मार्‍यो । उक्त विश्वकपको फाइनलमा स्पेनले अतिरिक्त समयमा नेदरल्यान्ड्सलाई १—० गोलले हराएको थियो । हरेक विश्वकपमा लोभलाग्दो प्रदर्शनका कारण समर्थकको मन जिते पनि नेदरल्यान्ड्सले उपाधि भने जित्न सकेन । त्यसैले समर्थकहरुमाझ नेदरल्यान्ड्स अभागी टोलीको रूपमा दरिन पुग्यो । 

अब प्रसंगा बदलौं, यसै महिना नेदरल्यान्ड्सले आफ्नै भूमिमा आयोजित यूईएफए नेशन्स लिग खेल्ने अवसर पायो । तर, उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारसम्मको यात्रा तय गरेको नेदरल्यान्ड्स सेमिफाइनलमा क्रोएसियासँग ४—२ गोलले पराजित हुन पुग्यो । त्यसपछि नेदरल्यान्ड्सले इटालीसँग तेस्रो स्थानका लागि भिडन्त गर्नुपर्ने भयो । 

3729250-75874928-2560-1440

तेस्रो स्थानका लागि भएको खेलमा पनि नेदरल्यान्ड्सलाई इटालीले ३—२ गोलले हरायो । यूईएफए नेशन्स लिगको उपाधि भने स्पेनले जित्यो । फाइनलमा स्पेनले क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । 

नेशन्स लिगमा इटाली तेस्रो त भयो तर, नेदरल्यान्ड्सले पाउँदै आएको अभागी राष्ट्रको ‘ट्याग’ भने यस पटक इटालियन फुटबलसँग जोडिन पुगेको छ । सन् २०२२÷२३ सिजनमा इटालीको फुटबलले थुप्रै प्रतियोगितामा अप्रत्याशित हार बेहोर्नु परेको छ । यूईएफए नेसन्श लिग पनि त्यसैको एउटा उदाहरण हो । 

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो, च्याम्पियन्स लिग । यो सिजन इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुग्यो । तर, जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिएको फाइनल खेलमा यो इटालियन क्लब स्तब्ध: हुन पुग्यो । फाइनलमा इन्टर मिलानलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले १—० गोलले हरायो ।

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जितेको तीनवटा महत्त्वपूर्ण प्रतियोगितामध्ये च्याम्पियन्स लिग पनि एक हो । इन्टर मिलानले फाइनलमा अन्तिम समयसम्म म्यानचेस्टर सिटीलाई कडा चुनौति दिएको थियो । तर, खेलको ६८औँ मिनेटमा रोड्रिगो हर्नान्डेजले निर्णायक गोल गर्दै सिटीलाई उपाधि चुमाएका थिए । 

1243029277.0

यूईएफए नेशन्स लिग र च्याम्पियन्स लिगमा नमिठो पराजय भोगेको इटालियन फुटबलले युरोपा लिगमा पनि त्यस्तै नियति बेहोर्नु पर्‍यो । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता हो, युरोपा लिग । यो सिजन इटालियन क्लब एएस रोमा युरोपा लिगको फाइनलमा पुगेको थियो । 

तर, गत मे ३१ तारिखमा हंगेरीको बुडापेस्टमा सम्पन्न फाइनल खेलमा एएस रोमा स्पेनिस क्लब सेभियासँग जिल्लिन पुग्यो । फाइनलमा निखारिएको प्रदर्शन गरेको एएस रोमालाई सेभियाले पेनाल्टी सुटआउटमा ४—१ गोलले हरायो । निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

1494933951.0

कतिसम्म दूर्भाग्य बेहोर्नु पर्‍यो भने, निर्धारित समयको खेलमा आफ्नै खेलाडीबाट आत्मघाति गोल भएपछि एएस रोमाले उपाधि गुमाउनु परेको थियो । निर्धारित समयको ३५औँ मिनेटमा एएस रोमाका लागि पाउलो डिबालाले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा एएस रोमा अगाडि रह्यो । 

तर, खेलको ५५औँ मिनेटमा एएस रोमाका जियानलुका मान्सिनीबाट आत्मघाति गोल भयो । सोही गोलका कारण निर्धारित समयको खेल १—१ को बराबरीमा सकियो र एएस रोमाले पनाल्टी सुटआउटमा नमिठो हार बेहोर्नु पर्‍यो । पेनाल्टी सुटआउटमा पनि एएस रोमाका जियानलुका मान्सिनी, रोजर इबान्ज र डा सिल्भा गोल गर्न असफल भएका थिए । खेलमा रेफ्रीका केही निर्णय पनि विवादित बनेको थियो ।

3480011-70947388-2560-1440

यसैगरी यूईएफए युरोपा कन्फरेन्स लिगमा पनि इटालियन फुटबलले अर्को दूर्भाग्य बेहोर्नु पर्‍यो । इटालियन क्लब फियोरेन्टिना कन्फरेन्स लिगको फाइनलमा पुगेको थियो । तर, चेक गणतन्त्रमा जुन ७ तारिखमा खेलिएको फाइनलमा फियोरेन्टिनाले नमिठो पराजय भोग्यो । 

फियोरेन्टिनालाई फाइनलमा इङ्लिस क्लब वेस्ट हाम युनाइटेडले २—१ गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औँ मिनेटमा मोहम्मद बेनरहमाले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट हामलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको ६७औँ मिनेटमा फियोरेन्टिनाका जियाकोमो बोनाभेन्तुराले जवाफी गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्‍याए । खेल प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहँदा निर्धारित समयको अन्तिम मिनेटमा वेस्ट हामका जारोड बोवेनले निर्णायक गोल गर्दै इटालियन फुटबललाई फेरि निराश बनाए । 

यद्यपि, उक्त कन्फरेन्स लिगमा स्विस क्लब एफसी बासेलका जेकी अम्डोउनीसँगै फियोरेन्टिनाका ब्राजिलियन खेलाडी आर्थर काबरल सर्वाधिक गोलकर्ता बनेका थिए । उनीहरुले प्रतियोगितामा सात/सात गोल गरेका थिए । 

यो सिजन यूईएफए युथ लिगमा पनि इटालियन फुटबललाई भाग्यले साथ दिएन । कुनै पनि इटालियन क्लब यूईएफए युथ लिगको सेमिफाइनलभन्दा अगाडि पुग्न सकेनन् । एसी मिलान सेमिफाइनलमा क्रोएसियन क्लब हाजदुक स्प्लिटसँग ३—१ गोलले पराजित भयो । इटालियन क्लब युभेन्ट्स, इन्टर मिलान र नापोली त नकआउट चरणसम्म पनि पुग्न सकेनन् । युथ लिगको उपाधि डच क्लब एजेड अल्कमारले जितेको थियो ।

यसका अतिरिक्त यूईएफए महिला च्याम्पियन्स लिग पनि इटालियन फुटबलका लागि सुखद रहेन । इटालियन क्लबहरु महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् । एएस रोमा क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोनासँग ६—१ गोलले पराजित भयो । अर्को इटालियन क्लब युभेन्ट्स त नकआउट चरणमा समेत पुग्न सकेन । जुन ३ तारिखमा भएको फाइनलमा बार्सिलोनाले जर्मन क्लब भीएफएल उल्फ्सबर्गलाई ३—२ गोलले हराउँदै उपाधि चुम्यो ।

यसैगरी यूईएफए युरोपियन यू—१७ च्याम्पियनसिप यसै महिना हंगेरीमा सम्पन्न भयो । तर, त्यो प्रतियोगितामा पनि इटालियन फुटबलले निराशा नै बेहोर्नु पर्‍यो । इटाली समूहगत चरणबाट अगाडि बढ्न सकेन । समूह ‘बी’ मा रहेको इटाली तेस्रो भयो । पहिलो र दोस्रो हुँदै क्रमशः स्पेन र सर्बिया नकआउट चरणमा पुगे । फाइनलमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप