आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान

चार्टर उडानले उत्साहित, नियमित उडान कहिले ?

बुधबार, ०६ असार २०८०, २१ : ३७
बुधबार, ०६ असार २०८०

पोखरा । नयाँ अंग्रेजी वर्षको अवसरमा पुस १७ गतेबाट नियमित आन्तरिक उडान हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भयो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड गरेर आएको विमान बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको हो ।

पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडान हेर्न बुधबार विमानस्थलमा पुगेका सरोकारवाला निकाय, नागरिक समाज र पर्यटन व्यवसायी निकै हर्षित देखिए । पर्यटन व्यवसायी निकै उत्साहित थिए । उनीहरुको अपेक्षा अब पोखरामा चिनियाँ पर्यटक वृद्धि हुन्छ भन्ने छ ।

तर, बुधबार चार्टर्ड विमान आए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि सुरु हुन्छ भन्ने टुङ्गो छैन । नागरिक उड्डयन प्राधिकरणले पनि पोखरा–चीन, चीन–पोखरा नियमित उडान कहिले हुन्छ भनेर मिति तोक्न सकेको छैन । अन्तर्राष्ट्रिय उडान भएको अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पनि बारम्बार एउटै कुरा दोहोर्याइरहे– चार्टर उडानले उत्साहित बनाएको छ । अब नियमित उडान गर्नेगरी काम गर्नेर्छौं ।

त्यसो तन मन्त्री किराँती पनि अब नियमित उडान कहिलेदेखि हुन्छ भन्नेमा अनभिज्ञ छन् । उनले नियमित उडान पनि छिट्टै हुने विश्वास व्यक्त गरे । सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि चार्टर उडानले पोखरेलीलाई उत्साहित बनाएको उल्लेख गर्दै नियमित उडान पनि छिटै सुरु हुने विश्वास व्यक्त गरे ।

‘चीनसँग हामीले सडक कनेक्टिभिटी पनि विस्तार गर्दैछौैं । हवाई उडान पनि नियमित भएमा पोखरा जसरी विश्वमा परिचित छ, हामीले सोचेजस्तो पर्यटक वृद्धि गर्न सकिनेछ,’ पाण्डेले भने । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी पनि चार्टर उडानले पोखरा विमानस्थल सुरक्षित छ भन्ने सन्देश प्रवाह गरेको बताउँछन् ।

‘विश्व बजारमा पोखरा विमानस्थल सुरक्षित छ भन्ने सन्देश गएको छ । अब चार्टरमात्र होइन, नियमित हुन्छ भन्ने विश्वास हामी सबैको छ,’ उनले भने, ‘नियमित उडान भए हामीले सोचेको चिनियाँ पर्यटक पोखरामा भित्र्याउन सकिन्छ ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित भएको सन्देश विश्व बजारमा पुगेको बताए । उनले अब विश्वका विभिन्न देशबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताए । उनले उडान नियमित रुपमा गर्न सकेमात्रै पर्यटन प्रवर्द्धन हुने प्रस्ट पारे ।

‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टर्ड गरेर, अर्को ६ महिनामा अर्को चार्टर्ड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुसीयाली धेरै टिक्दैन,’ उनले भने ।

नेपाल–चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले अहिलेसम्म कुनै चासो नदेखाएको उनले बताए । चीन भ्रमण सकेर फर्किने क्रममा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहितको टोली बुधबार चार्टर विमानबाटै पोखरा झरेका हुन् ।

chin

सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेतसहितको टोली जेठ २७ चीन पुगेको थियो । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ बुधबार १३० जना यात्रु बोकेर अवतरण गरेको हो । दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईटबाट चिनियाँ नागरिक पनि पोखरा आइपुगेका छन् ।

पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा असार ८ र ९ गते पोखरामा बोट रेस हुँदैछ । सोही कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटक पोखरा आएका हुन् ।

उनीहरुलाई बुधबार विमानस्थलमा नेपाली टोपी लगाएर स्वागत गरिएको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाए पनि भारतले रुट नदिँदा सफल भएको छैन ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतले चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलबाट १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ ।

अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टीबाट मात्रै उडान र अवतरण गर्नेछ । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप