शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

दोस्रो चरणको अनुसन्धान बेचन झा र गोकुल थापामा केन्द्रित

प्रतिक थापा सिक्किममा लुकेको आशंका
शुक्रबार, ०८ असार २०८०, १२ : ३५
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको छ । २०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पुरा गरेको थियो । संगठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि थुनामा छन् ।

संगठित ठगीमा संलग्नहरुबारे दोस्रो चरणको अनुसन्धान शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । एसएसपी कार्कीले रातोपाटीसँग भने–‘दोस्रो चरणको अनुसन्धान शुरु गरेका छौं ।’ भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने आवरणमा गिरोहले पीडितसँग करोडौं रकम उठाएको खुलेको छ । वैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई  र वैशाख २० मा तत्कालीन गृह–सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि शरणार्थी प्रकरणको मुद्दा सडकदेखि सदनसम्म चर्कियो ।

शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झा र गोकुल थापाबारे अनुसन्धान केन्द्रित गरेको छ । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरुबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, नाम र काठमाडौँमा उनी बस्ने ठेगाना बाहेक अनुसन्धान अधिकृतहरुले उनको बारेमा कुनै सुराक पाएका छैनन् ।

टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीले झालाई  दुई करोडका चेक दिएको भेटिएको छ । ५१ वर्षीय रामशरण पुर्पक्षका लागी थुनामा छन् । भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् । डा.राई, सचिव पाण्डे, पूर्व गृहमन्त्री खाण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जना केन्द्रीय कारागारमा थुनामा छन् ।

ठगीमा संलग्न आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । प्रतिवादी कायम गर्दा नाम र वतन नखुलेकामाथि दोस्रो चरणको अनुसन्धान केन्द्रित छ ।   अनुसन्धानको केन्द्रमा रहेका अर्का व्यक्ति हुन्, गोकुल थापा । भक्तपुरको बालकोटस्थित सिरुटारमा गोकुल थापाको घर छ । प्रतिवादी रामशरण केसीले पीडितसँग पैसा उठाएर गोकुल थापालाई  बुझाएको बयान दिएका छन् ।

गोकुलको संलग्नताबारे रामशरण केसीले गरेको बयान :

सामान्य रङको काम गरेर बसेको अवस्थामा भाईमार्फत चिनेको जनक कार्कीसँग भेटघाट भयो । निज मार्फत नै गोकुल थापासँग २०७४ सालमा चिजान भएको थियो । जनक कार्कीले म टेकनाथ रिजालको मुख्य सल्लाहकार हुँ हामीले नेपालीहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काम गरिरहेका छौं भनेपछि मैले ५२ लाख जम्मा गरेर गोकुल थापालाई भक्तपुरको बालकोट स्थित सिरुटारमा उनको घरमा लगेर ९ लाख ५० हजार दिएँ । महाराजगञ्जको भाटभटेनी नजिकको बेकरी क्याफेमा नगद १२ लाख बुझाएको थिएँ । गौशालास्थित पशुपति भिजन होटलको पछाडि गएर १८ लाख ५० हजार र तिनकुनेमा लगेर उनै गोकुल थापालाई १२ लाख दिएको थिएँ । गोकुल थापाले १८ जनाको नागरिकताको कपी पनि लगेका छन् ।

झापामा गएर टेकनाथ रिजालको घरमा भेटेर कुरा गरेको छु । गोकुलले पछि मैले दिएको मध्ये ३२ लाख फिर्ता गरे । त्यसपछि फेरि दुईजनालाई निःशुल्क मिलाउँछौं भनेर ४० लाख लगेका हुन् । उनकी पत्नी रमाको नाममा चेक काटेर रकम दिएको र पहिले लिन बाँकी २० लाख सहित ६० लाख गोकुलकै हिसावमा मिलान गरेको छु ।

गोकुल थापाले भने अनुसार टेकनाथ रिजाललाई चावहिलको ए वान पार्टी प्यालेसमा भेटेको हुँ । रिजालले नै केशवप्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराई चिनजान गराएका हुन् । रिजालले ‘अब काम हुन्छ सबै काम उहाँहरुले गर्नुहुन्छ’ भन्नुभयो ।

प्रतिक सिक्किममा लुकेको आशंका


पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । तर, उनी फरार छन् ।
पहिलो चरणको अनुसन्धान अवधिभर प्रहरीले प्रतिकलाई तिव्र खोजी गरेपनि उनी भेटिएनन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार प्रतिक भारतको सिक्कममा लुकेर बसेको आंशका गरिएको छ । डा.इन्द्रजितका छोरा निरज राई पनि फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप