आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्सा राष्ट्रिय निकुञ्जभित्र साइक्लिङ सुरु : वार्डेन भन्छन्,‘अनुमति दिन्नौँ’

आइतबार, १० असार २०८०, ०८ : ४३
आइतबार, १० असार २०८०

बारा । पर्यटन प्रवर्द्धनका लागि जीतपुर सिमरा उपमहानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल पथ निर्माण गरेर साइक्लिङको सुरुवात गरेको छ । 

उपमहानगरले निकुञ्जको जनजागरण मध्यवर्ती सामुदायिक वन, मुर्सनीमाई, राधाकृष्ण, भीमेश्वर मध्यवर्ती सामुदायिक वन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भित्रबाट अमलेश्वर मध्यवर्ती सामुदायिक वनसम्म करिब १९ किलोमिटर क्षेत्रमा साइकल मार्ग निर्माण गरेको हो । 

c2

हाल सो क्षेत्रमा भौतिक पूर्वाधारका संरचनासमेत निर्माण भइरहेको र सिमरा आसपासका युवाहरूले दैनिक साइक्लिङ समेत गर्दै आएको उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।

उनका अनुसार ठाउँ ठाउँमा साइकल मार्ग लेखिएको बोर्डहरू, आराम गर्ने विश्रामस्थललगायत यसलाई प्रवर्द्धनका लागि शनिवार औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको छ । 

c3

बारा जिल्लाबाहेक अन्य भूभागबाट पनि निकुञ्जभित्र साइक्लिङ गर्न ईच्छुक आन्तरिक तथा बाह्य पर्यटकले कम्तीमा १० जनाको समूह बनाएर निकुञ्ज प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।  

उता उपमहानगरपालिकाले मध्यवर्ती क्षेत्रबाहेक पनि निकुञ्जको कोर क्षेत्र भित्रबाट साइकल पथ निर्माण गरेको प्रति निकुञ्ज प्रशासनले भने आपत्ति जनाएको छ । 

‘हाम्रो उद्देश्य पर्यटन प्रवर्द्धन गर्ने र यो क्षेत्रको विकास कसरी गर्ने भन्ने हो तर वन क्षेत्रभित्र साइक्लिङ गर्दा एउटा मात्रै घटना भयो भने यो कार्यक्रम नै पुरै असफल हुन सक्छ,’ प्रमुख संरक्षण अधिकृत अशोक रामले भने, ‘पहिलो चरणमा सामुदायिक वनभित्र मात्रै साइक्लिङ गरौँ । कोर क्षेत्रमा अनुमति दिन हामीलाई समस्या छ ।’

पछिल्लो समय यमगज नामक जंगली हात्ती २ दिन अघिमात्रै निकुञ्जको आधार क्षेत्रमा घुमिरहेको थियो । उत्ताउलो स्वभावको कारण हात्तीको समूहबाट निकालिएको यमगजले बारामा मात्रै २ जनाको ज्यान लिइसकेको छ । 

c7

लामो समय देखिको खडेरीका कारण पनि निकुञ्जभित्र पानीको अभाव हुँदा पाटेबाघ, भालु, गौरीगाई लगायतका दुर्लभ वन्यजन्तुहरू समेत दिउँसै पानीको खोजीमा हिँड्ने गरेका छन् । वन्यजन्तुको मानिससँग जम्काभेट हुन सक्ने भन्दै निकुञ्ज प्रशासनले  अनुमति दिन नसकिने जनाएको छ ।

‘मान्छेको सुरक्षा पनि आवश्यक छ । निकुञ्जभित्र कहिलेकाहीँ औपचारिक कार्यक्रम सम्मको लागि ठिक छ तर दैनिक साइक्लिङ जोखिमपूर्ण हुन सक्छ । हामी अनुमति दिन सक्दैनौ ।’ प्रमुख संरक्षण अधिकृत अशोक रामले भने । 
यता पर्यटन अभियन्ता मोहन शर्माले उपमहानगरले आर्थिक वर्षको अन्तमा बजेट सक्ने उद्देश्यले पूर्व तयारी विना निकुञ्जभित्र साइक्लिङ कार्यक्रमको राखेको भन्दै  टिप्पणी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप