शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

पोखरा महानगरको बजेट : डायलासिस सेवा आरम्भदेखि ऋण नतिर्नेको नाम सार्वजनिक गर्नेसम्म

महानगरले आर्थिक वर्षमा विपन्नहरुलाई २ सय वटा घर निर्माण गर्ने
सोमबार, ११ असार २०८०, ११ : ०७
सोमबार, ११ असार २०८०

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो रकम चालु आर्थिक वर्षको बजेटभन्दा १ अर्ब ८ करोड कम हो । चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजार बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारको अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारबाट १० करोड २३ लाख ६२ हजार र आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख व्यहोर्ने गरी बजेट ल्याइएको छ ।

महानगरले असार ८ गतेसमम ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार अर्थात्, ४३.५५ प्रतिशत खर्च भएको जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उपमेयर मञ्जुदेवी गुरुङले बताइन् ।

बजेट सार्वजनिक गर्दै उपमेयर गुरुङले पोखरा पर्यटकीय पूर्वाधारको विकास गर्ने, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास गर्ने र समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने योजना सुनाइन् ।

महानगरको एक मात्र शिशुवा अस्पतालमा विशेषज्ञ सेवा थप गर्ने गरी बजेट विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् । योसँगै महानगरले आगामी आर्थिक वर्षदेखि मिर्गौला रोगको डायलासिस सेवा आरम्भ गर्ने भएको छ । डायलासिस सेवा सुरु गर्न १ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक २ सय रुपैयाँका दरले पोषण भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइएको उपमेयर गुरुङले बताइन् । यस्तै, स्थानीय कृषि उपज संकलन गरी उपभोक्ता समक्ष पु¥याउन कृषि एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा महानगरले गरेको छ ।

कृषि एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ लाख बजेट विनियोजन गरेको उपमेयर गुरुङले सुनाइन् । उनले किसान हाट बजार निर्माण, मेला, महोत्सव सहयोग लगायतका प्रवर्द्धनात्मक कार्यक्रम गर्न १ करोड ६ लाख विनियोजन गरिएको बताइन् ।

‘आकस्मिक बाली संरक्षण, आइपीएम प्रविधि, प्राथमिक कृषि प्रविधि प्रचार जस्ता कार्यक्रमका लागि ४२ लाख विनियोजन गरेको छु,’ उपमेयर गुरुङले भनिन् । महानगरले नियमित खोप कार्यक्रम, पशु स्वास्थ्य शिविर, कृत्रिम गर्भाधान कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ । पशुतर्फका कार्यक्रम सञ्चालन गर्न महानगरले २ करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

pokhara managaarr

सहकारी संस्थाहरुले भोगिरहेको वित्तीय समस्या समाधान गर्न समयमा ऋण चुक्ता नगर्ने व्यक्तिहरुको विवरण महानगरपालिकाको वेबसाइटमा प्रकाशन गर्ने भएको छ । बजेटमार्फत महानगरले ऋण लिएर नतिर्नेलाई सार्वजनिक गर्ने जनाएको हो । यस्ता व्यक्तिलाई महानगरबाट प्रदान गरिने सेवा सुविधा रोक्का गर्न कानुनी व्यवस्था गर्ने जनाइएको छ ।

महानगरले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदुषण नियन्त्रण गर्ने, सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने, संरक्षण गर्ने र उत्पादनशील उपयोग गर्ने, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको थालनी गर्ने उपमेयर गुरुङले बताइन् ।

महानगरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्ने नीति अघि सारेको छ । विद्यार्थीको दिवा खाजाको रकम थप गर्दै प्रतिदिन १५ रुपैयाँ उपलब्ध गराउँदै आएको रकम आगामी आर्थिक वर्षदेखि १० रुपैयाँ थप गरि प्रतिदिन २५ पु¥याइएको उपमेयर गुरुङले बताइन् । प्रधानाध्यापक प्रोत्साहन र विद्यार्थी खाजाका लागि उपमेयर गुरुङले ४ करोड ६५ लाख बजेट विनियोजन गरेकी छन् ।

महानगरले गण्डकी बहुप्राविधिक शिक्षालयलाई उत्कृष्ट बनाउन ३ करोड ३३ लाख छुट्याइएको छ । बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ताका लागि महानगरले ४ करोड ६५ लाख विनियोजन गरेको छ । खेलकुद पूर्वाधार र प्रवर्द्धन लागि १ करोड २५ लाख बजेट विनियोजन गरेको उपमेयर गुरुङले सुनाइन् ।

कक्षा ६ देखि १२ सम्मका छात्राका लागि विद्यालयमा उपलब्ध हुने गरी निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न महानगरले १ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । यस्तै, महानगरमा स्रोत  शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न १८ करोड विनियोजन गरिएको छ ।

महानगरले सबै स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा प्रदान गर्ने जनाएको छ । यसका लागि उपमेयर गुरुङले १६ करोड बजेट विनियोजन गरेको सुनाइन् ।

महानगरले विपन्नलाई घर निर्माण गर्ने जनाएको छ । शहरी गरिबी निवारण कार्यक्रम आगामी वर्ष महानगरका सबै वडाहरुमा विस्तार उपमेयर गुरुङले बताइन् । ‘लुमन्ती र महानगरको साझेदारीमा विपन्न वर्गका लागि आवास निर्माण कार्यक्रमका लागि १ करोड ४० लाख विनियोजन गरेकी छु,’ उनले भनिन्, ‘यस परियोजना अन्तर्गत १४ करोड रकम परिचालन गरी आगामी वर्षमा २०० घर निर्माण गरिनेछ ।’

महानगरले ¥यापिड रेस्पोन्स टिम गठन गर्ने जनाएको छ । यसका लागि महानगरले २४ सै घण्टा सेवा दिने जनाएको हो । ‘वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन महानगरपालिका तत्काल र शीघ्र सम्पादन गर्नुपर्ने कार्यका लागि चालु आर्थिक वर्षदेखि गठन भएको ¥यापिड रेस्पोन्स टीमलाई २४ सै घण्टा परिचालन गरिनेछ,’ उपमेयर गुरुङले बजेटमा पढेर सुनाइन् ।

महानगरपालिकाको प्रशासकीय भवन आगामी वर्ष निर्माण कार्य थालनी गर्ने जनाइएको छ । भवन  निर्माण गर्न महानगरले ५४ करोड ६२ लाख विनियोजन गरेको हो ।

सडकतर्फ पनि महानगरले अस्फाल्ट पिच बनाउने जनाएको छ । शहरका विभिन्न क्षेत्रमा आस्फाल्ट सडक निर्माण कार्यलाई तीब्रता दिन १० करोड विनियोजन गरेको उपमेयर गुरुङले सुनाइन् ।

वडा कार्यालयबाट प्राथमिकतापूर्वक छनौट भई पेस भएका सडक योजनाका लागि महानगरले ४९ करोड ९२ लाख बजेट प्रस्ताव गरेको छ । हाँडीखोला, खुइतेखोला, खहरेखोला, खुदीखोला, ठुलीमजुवा पुल, फिर्के खोला तथा सुरौदी खोला लगायतका पुल र कल्भर्टहरुको लागि महानगरले १६ करोड ५० लाख विनियोजन गरेको छ ।

एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत सराङकोट थाक, कृस्ती निर्मलपोखरी भरतपोखरी, चैनपुर, ओख्ले लगायतका खानेपानी आयोजनाको निर्माण तथा मर्मत सम्भारका लागि १० करोड विनियोजन गरेको उपमेयर गुरुङले सुनाइन् ।

महानगरले आगामी आर्थिक वर्षमा पोखरा चक्रपथको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसका लागि महानगरले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

फेवा, बेगनास लगायत पोखराका सबै तालहरुको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न पनि बजेट विनियोजन गरिएको छ । फेवा तालको सुन्दरता अभिवृद्धि गर्न फेवाफेरो पदमार्ग निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् ।

लामो समयदेखि चर्चामा रहेको तथा पोखरेलीहरुले चासोका साथ हेरिरहेको फिर्के खोलाको अतिक्रमण हटाई करिडोर निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप