बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
ठगी

विभिन्न बहानामा करोडौँ रकम उठाएकी महिलाले नै ‘मिटरब्याज’ मा उजुरी दिएपछि...

पीडित भन्छन्– प्रहरीले पनि हामीलाई मिटरब्याजी ठानेर दुःख दियो
बुधबार, १३ असार २०८०, ०८ : ४७
बुधबार, १३ असार २०८०

बारा । जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी सिर्जना खड्काले विभिन्न व्यक्तिसँग करोडौँ रकम उठाएर ठगी गरेको पाइएको छ ।

निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्ज लगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनले ठगेको पाइएको हो । व्याजको लोभ देखाएर दर्जनौं व्यक्तिहरुसँग लाखौं रुपैयाँ उठाएर खड्काले रकम अपचलन गरेको बताइन्छ ।

पीडितहरुका अनुसार खड्काले व्यक्तिगत समस्या देखाएर ललाई फकाई केही दिनका लागि भन्दै सस्तो ब्याजमा रकम लिने र मिटरब्याजमा लगानी गर्दै आएकी थिइन् ।

पछिल्लो समय निजगढ नगरपालिका वडा नं ८ का सुजित घिसिङले खड्कालाई २० लाखको चेक बाउन्स गरेका थिए । सोहीपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमार्फत पक्राउ आदेश ल्याएर प्रहरीले गत साता खड्कालाई पक्राउ गरेको हो ।

sujita

१०-१२ वर्ष कोरिया बसेर नेपाल फर्किएका घिसिङ्गले सुरुमा आफ्नो बहिनीमार्फत खड्कालाई चिनेको र सापटको रुपमा केही रकम दिएको बताए । ‘सुरुमा त मैले सापटको रुपमा दिएको हो, पछि उनले प्रभावमा पार्न ब्याज थपेर दिइन् । दोस्रो, तेस्रो पटकमा सामान्य गाउँघरमा चलेको ब्याज आउँछ भने ठिकै छ नि भनेर रकम दिएँ तर त्यो रकम फिर्ता आएन, पूरै डुबियो,’ घिसिङ्गले रातोपाटीसँग भने, ‘अहिले बुझ्दै जाँदा थाहा भयो हामीसँग सस्तो ब्याजमा लिएको पैसा उसले मिटर ब्याजमा लगाएर दैनिक लाखौं रुपैयाँ ब्याज असुली गर्ने रहेछ ।’

धेरै वर्ष कोरिया बसेर आएका घिसिङ्गसँग पैसा भएको थाहा पाएपछि खड्का दैनिक उनको घरमा जाने, अर्जेन्ट समस्या छ भनेर पैसाका लागि फकाउने गरेको पीडितको भनाइ छ ।

जेठ ११ गतेको महालक्ष्मी विकास बैंक सिमरा शाखाको चेक बाउन्स गरेका घिसिङ्गसँग खड्काले दिएको अर्को ४५ लाखको चेक समेत छ । ‘हामीसँग को बिरामी भयो, अर्जेन्ट छ भनेर फकाएर पैसा माग्थिन्, हामीले पनि विश्वास ग¥यौँ । पछि थाहा भयो, हामीजस्तै धेरै मान्छेसँग उनको लेनदेनको सञ्जाल रहेछ । आज आएर सबै थाहा हुँदैछ,’ घिसिङ्गले भने, ‘अहिले कारोबार बिग्रिएर सबै डामाडोल भएको छ, घर लिलाम हुने अवस्थामा छ, भएको २-४ पैसा पनि ब्याज तिर्दैमा ठिक्क छ ।’

निजगढका घिसिङ्ग जस्तै सिमराको एक प्रतिष्ठित सहकारीमा बजार व्यवस्थापकको रुपमा कार्यरत महिलाले पनि खड्काबाट आफू ठगिएको बताएकी छन् । ‘उहाँले पैसा माग्दा मसँग मात्रै मागेको होला जस्तो गरेर प्रभावमा पारेर, एकदमै समस्या देखाएर माग्नुहुन्थ्यो,’ ती महिलाले भनिन्, ‘हामी घरमा सुतेको ठाउँमा बिहान ५ बजेदेखि ढोकामा कुर्ने, रुने, कालोसूचीमा जान लागेँ भनेर चेक र कागजपत्रहरु देखाउने अनि एकै महिनाका लागि हो भनेर समस्या देखाउने गर्नुहुन्थ्यो ।’

खड्काले ती महिलालाई जनप्रतिनिधि र प्रहरीको रोहवरमा रकम फिर्ताका लागि चेक दिइकी थिइन् । तर चेकको म्याद सकिएको उनले बताइन् । उनले भनिन्, ‘वडाध्यक्षको रोहवरमा प्रहरीले वैशाखमा चेक काट्न लगाएर हामीलाई दिलाएको थियो, प्रहरी र जनप्रतिनिधि मिलेर हाम्रो चेक काटेपछि हाम्रो पैसाको जिम्मेवारी पनि उहाँहरुले लिनुपर्छ ।’

जीतपुर सिमरा वडा नं १ का स्थानीय व्यवसायी टिकादास मुल्मी पनि खड्काबाट ठगिएको बताउँछन् । मुल्मीले अर्का एकजना हार्डवेयर व्यवसायीलाई केही दिनका लागि भन्दै सापटको रुपमा १० लाख रुपैयाँ दिएका थिए । सो रकम समयमा फिर्ता नआएपछि बुझ्दै जाँदा खड्काको हातमा पुगेको पत्ता लागेको मुल्मी बताउँछन् ।

८ महिनाअघि सापट भनेर दिएको १० लाखको हालसम्म ५० हजार रुपैयाँमात्रै आफूले ब्याज पाएको तर प्रहरीले जबर्जस्ती साँवा रकम पनि घटाएर ८ लाखको चेक दिन लगाएपछि मुल्मीले बारा ४ का संघीय सांसद किसान श्रेष्ठसँग गुहार मागेका थिए । पछि चौतर्फी दबाब भएपछि प्रहरीले उनलाई १० लाखको चेक दिलाएको थियो ।

‘चेकमा हस्ताक्षर मात्रै सिर्जना खड्काले गरेको हो, बाँकी सबै काम वडाध्यक्षको रोहवरमा प्रहरीले गरेको छ,’ मुल्मीले भने ।

करिब ८ वर्षअघि सिमरास्थित सहारा लघुबित्तमा बजार प्रतिनिधिको रुपमा काम सुरु गरेकी खड्काले बचतकर्ताको रकम अन्यत्र मिटरब्याजमा लगानी गरेको खुलेपछि गत मंसिरमा संस्थाले उनलाई हटाएको थियो । पछि केही महिलाले समूह बनाएर विन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खोलेका थिए । खड्का सो सहकारीकी अध्यक्ष समेत थिइन् ।

एकै व्यक्तिको ७ करोडसम्म स्वाहा !

जीतपुर सिमरा उपमहानगर– २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले सिर्जना खड्कालाई एकै व्यक्तिले ७ करोड रुपैयाँसम्म लगानी गरेको बताए । ‘आम्दानीको स्रोत नभएको र खासै सम्पत्ति पनि नभएको एउटा महिलालाई कसैले ७ करोड, कसैले साढे ४ करोड, कसैले ३ करोड, कसैले २ करोडसम्म दिएको छ, ४औ५ जनाले मात्रै २० देखि २५ करोड पैसा लिनु छ भनेर आएका छन्, हामी आफैँ छक्क परेका छौं । यत्रो पैसा उठाएर कहाँ लगानी भएको छ भन्ने पनि पत्तो लागेको छैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।

उनले आफूकहाँ खड्काबाट ठगिएको गुनासो लिएर आउने मात्रै ४०/५० जना भइसकेको बताए । ‘ठुला व्यापारी, उच्च घरानाका मान्छे धेरै फसेका छन्, एउटी एक्ली महिलाले मात्रै यत्रो कारोबार गरेको मान्न सकिँदैन, तर उनको पछाडि सञ्जालमा को को छन् भन्ने पत्ता लाग्न सकेको छैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।

खड्काकै कारण अहिले जीतपुर, सिमरा बजारको करोडौं रुपैयाँ गायब भएको र व्यापार व्यवसाय समेत ठप्प प्रायः रहेको श्रेष्ठ बताउँछन् । ‘घरजग्गा धितो राखेर खड्कालाई लाखौं रुपैयाँ दिएका केही व्यक्ति आर्थिक रुपमा धरासायी भएर आत्महत्यासम्म गर्न सक्ने अवस्थामा पुगेका छन्,’ श्रेष्ठले भने ।

खड्कासँग मिलेर प्रहरीले दुर्व्यवहार गरेको पीडितको गुनासो

७-८ वर्षदेखि गुपचुप रुपमा ठगी धन्दा गर्दै आएकी खड्का करिब ६ महिना अघि बेपत्ता भएकी थिइन् । पछि काठमाडौंका एक धामीकहाँ पुगेर टिकटकमार्फत उनले भिडियो सार्वजनिक गरेकी थिइन् ।

देशमा ‘मिटरव्याज’विरुद्ध आन्दोलन सुरु भएपछि उनी सिमरा फर्किएर आफूले पैसा लिएका व्यक्तिविरुद्ध ‘मिटरव्याजी’ को उजुरी दिइन् ।

खड्काले जिल्ला प्रहरी कार्यालय बारामा मिटरब्याजीको उजुरी दिएकै आधारमा प्रहरीले उल्टै पीडित पक्षलाई जिल्ला प्रहरी कार्यालय कलैयामा बोलाएर धम्क्याउने, कुटपिट गर्ने, थुन्नेसम्मको काम गरेको पीडितहरुको भनाइ छ ।

पथलैयाका व्यवसायी टिकादास मुल्मी पनि प्रहरीले  छलफल छ भनेर आफूलाई बोलाएर कुटपिट गरी दिनभर थुनामा राखेको बताउँछन् ।

निजगढ–८ का सुजित घिसिङ्ग आफूहरुलाई प्रहरीले कार्यालयमा बोलाएर खड्काको पक्षमा वकालत गरेको र पीडितहरुलाई झनै पिडा दिएको बताउँछन् । ‘प्रहरीले हामीलाई बोलाएर उल्टै तँ मिटरब्याजी होस् भन्दै धम्क्याउने, दुर्व्यवहार गर्ने, हाम्रो साँवा रकम पनि घटाएर चेक बनाउन दबाब दिने काम गरेको छ,’ घिसिङ्गले भने ।

पथलैयाका व्यवसायी टिकादास मुल्मी पनि प्रहरीले  छलफल छ भनेर आफूलाई बोलाएर कुटपिट गरी दिनभर थुनामा राखेको बताउँछन् ।

‘म व्याज पनि नपाएको मान्छेलाई बोलाएर एउटा ठग महिलाको पक्षमा लागेर सई सागर राणाले मलाई उल्टै मिटरब्याजीको आरोपमा कुटपिट गरेर दिनभर थुनामा राखे, १० लाख साँवा रकम घटाएर ८ लाखको चेक लिन दबाब दिएका थिए,’ उनले भने, ‘पछि मैले केही आफन्तलाई बोलाएर दबाब दिएपछि बल्लतल्ल मलाई प्रहरीले छाड्यो ।’

सिर्जना खड्का मार्फत २० औं करोडको कारोबार हुँदा उनको बैंकिङ्ग कारोबार, सञ्जालमा को को छन्, उनले उठाएको रकम कहाँ लगानी भएको छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएको पीडितको गुनासो छ ।

वैशाख पहिलो साता जिल्ला प्रहरी कार्यालयका सई सागर राणाले खड्कालाई रकम दिएकाहरुलाई बोलाएर साँवा रकममा पनि घटाएर मिलापत्र गर्न दबाब दिएको पीडितहरु बताउँछन् । जसमध्ये केही व्यक्तिले बाध्य भएर आफ्नो साँवा रकम पनि छोडेर चेक लिएको उनीहरुको भनाइ छ ।

‘पैसा लिएर तिर्न नसकेपछि सिधै मिटरब्याजी भन्दिएपछि तिर्नै नपर्ने रहेछ, प्रहरीले पनि केही नखोज्ने, हामीले सबै प्रमाण लिएर जाँदा पनि प्रहरीले केही हेरेन,’ एक पीडित महिलाले भनिन् ।

सिर्जना खड्का मार्फत २० औं करोडको कारोबार हुँदा उनको बैंकिङ्ग कारोबार, सञ्जालमा को को छन्, उनले उठाएको रकम कहाँ लगानी भएको छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएको पीडितको गुनासो छ ।

सिमराका स्थानीय व्यवसायीहरुका अनुसार खड्काले उठाएको रकम उनीभन्दा माथिल्लो व्यक्तिले खाएर भागेको या क्यासिनोमा हारेको हुनसक्ने आकलन गरिएको छ ।

सिर्जना खड्का मिटरब्याजी हो : प्रहरी उपरीक्षक बोगटी

s8

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सिर्जना खड्का ठुलो मिटरब्याजी भएको बताएका छन् ।

‘सिर्जना खड्कासँग ठुलो कारोबार भएको देखिन्छ तर उनले उठाएको रकम कहाँ लगानी गरेको छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन,’ प्रहरी उपरीक्षक बोगटीले भने ।

सुरुमा थोरै रकम लिने र सोही रकमबाट एउटा सानो अंश व्याजबापत भनेर केही समयपछि फिर्ता गर्ने गरेर खड्काले मानिसलाई विश्वासमा लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी बताउँछ ।

‘१० लाख दिँदा ब्याज स्वरुप आफ्नै साँवा रकमबाट सुरुमै १ लाख पाएर मान्छे दङ्ग पर्छ । त्यसपछि दोस्रो, तेस्रो पटक २० लाख, ५० लाख दिन्छ । पछि त्यही ब्याजको लोभले घरजग्गा बैंकमा धितो राखेर एक डेढ करोडसम्म रकम दिएको देखिन्छ,’ प्रहरी उपरीक्षक बोगटीले भने ।

खड्काले हुने खाने वर्गका केही महिलालाई प्रयोग गरेर विभिन्न बहानामा उनीहरुका आफन्तसँग लाखौं रुपैयाँ उठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यद्यपि उनले विभिन्न व्यक्तिसँग उठाएको रकम कहाँ प्रयोग गरेको छ भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ । 

ठुला किसिमका चेक बाउन्सलाई पनि मिटरब्याजमा जोडेर धेरैजसो उजुरी आएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाए ।

‘सिर्जना खड्काको विषयमा धेरै ठाउँबाट उजुरी परेको छ, अनुचित लेनदेनमा उनको नाम मुछिएको हुनाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘सबै यकिन विवरण निकालेपछि यो विषयलाई अन्तिम किनारा लगाउने सोचमा छौं ।’

प्रहरीले हाल खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहे पनि खड्कासँग जोडिएका कारोवारीहरुको सञ्जाल, उनका पति मनोज खड्कालाई भने अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।

srijana giri

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप