सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश : अबको मुख्यमन्त्री को ?

कांग्रेस र माओवादीको दाबी
बिहीबार, १४ असार २०८०, ०६ : २४
बिहीबार, १४ असार २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभामा प्रस्ट अल्पमतमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनकै लागि असार १४ गते (आज)का लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान भएको छ ।

मुख्यमन्त्री कार्की र उनको पार्टी नेकपा एमालेले सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ । यद्यपि अहिलेसम्म परिस्थिति उनको पक्षमा देखिएको छैन ।

मुख्यमन्त्री कार्कीले सम्भवतः प्रदेशसभा बैठकमा सबै दलसँग विश्वासको मत माग्नेछन् वा राजीनामाको घोषणा गर्छन्, त्यो भने प्रतीक्षाकै विषय हो ।

विश्वासको मत माग्ने प्रक्रियामा गएको खण्डमा उनले विश्वासको मत लिने समयावधि असार १७ गतेसम्म छ । त्यतिबेलासम्ममा राजनीतिक समीकरण यथावत् रहेमा कार्की नेतृत्वको सरकार ढल्नेछ र नयाँ सरकार गठनको कसरत तीब्र हुनेछ ।

तर, अहिलेसम्म विपक्षी गठबन्धनबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताए । ‘अहिलेसम्मको परिस्थिति हेर्दा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने देखिन्छ । त्यस्तो अवस्थामा हाम्रो तर्फबाट दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नुहुन्छ,’ राईले भने, ‘कांग्रेस दोस्रो ठूलो दल पनि हो । यसअघि पनि कांग्रेसले अन्य दललाई सघाएको हो । यस पटक हामीले पाउनुपर्छ भन्ने दाबी रहन्छ ।’

यद्यपि गठबन्धनभित्र सहमति हुन बाँकी रहेको भन्दै उनले अबको मुख्यमन्त्री माओवादी र कांग्रेसमध्येबाटै हुने दाबी गरे । ‘हामीले शीर्ष नेताहरुले गरेको सहमतिलाई मान्ने निर्णय गरिसकेका छौं । उहाँहरुले अन्तिम निर्णय गर्नुहुन्छ । अबको मुख्यमन्त्री भनेको कि त उद्धव थापा हो कि त इन्द्रबहादुर आङ्बो नै हो,’ उनले भने ।

राईका अनुसार नयाँ सरकार गठनका लागि राप्रपाले पनि नेपाली कांग्रेसलाई समर्थन गर्नेछ । ‘हामीले सुनेअनुसार कांग्रेस नेतृत्वलाई स्वीकार गरेर जाने भन्ने विषयमा राप्रपाले सकारात्मक संकेत गरेको छ । त्यस विषयमा औपचारिक हिसावले भने केही निर्णय आइसकेको छैन । यद्यपि सरकार गठन भएर विश्वासको मत लिने अवधिसम्ममा राप्रपा पनि हाम्रो गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन्छ,’ उनले भने ।

यता, माओवादी केन्द्रका एक सांसदले भने अहिलेसम्म आफ्ना दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम) मुख्यमन्त्री हुने सुनिश्चित भएको दाबी गरे । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘मैले बुझे अनुसार राप्रपाको समर्थन हाम्रो दलका नेता इन्द्रबहादुर आङ्बोलाई आउने स्पष्ट आधार देखिएको कारण आङ्बोजी नै मुख्यमन्त्री बन्ने देखेको छु,’ उनले भने, ‘कांग्रेस दलका नेता उद्धव थापाको व्यक्तिगत कारणले राप्रपासँगको सम्बन्ध राम्रो छैन । त्यही कारण दोस्रो चरणमा मात्रै उहाँ मुख्यमन्त्री हुने देखिन्छ ।’

कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहँदा नेकपा एकीकृत समाजवादीले भने यसअघि नै माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा सघाउने सार्वजनिक गरिसकेको छ । उक्त दलका नेतासमेत रहेका राजेन्द्रकुमार राईले नैतिक हिसावले आफूले यस पटक इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेको स्पष्ट संकेत गरे ।

उनले पनि अहिले मुख्यमन्त्रीको दौडमा थापा र आङ्बोमात्रै रहेको दाबी गरे । ‘दाबी आ–आफ्नो ढंगले गर्नु स्वाभाविक नै हो । कांग्रेसले ठूलो दल भएको कारण अझ बढी दाबी गर्नु झनै स्वाभाविक हो । तर, राप्रपाले उद्धव थापालाई स्वीकार गर्न सकिँदैन भनेको खण्डमा कांग्रेसले या दलको नेता परिवर्तन गर्नुप¥यो वा माओवादीलाई छोड्नु प¥यो,’ उनले भने ।

ती माओवादी नेताले कांग्रेसलाई राप्रपाले समर्थन पनि गर्न नसक्ने र सभामुखले ‘रिस्क’ लिएर कांग्रेसलाई कसरी भोट हाल्ने भन्ने प्रश्न पनि गरे । सबै जोड कोणबाट हेर्दा यसपटक आङ्बो नै मुख्यमन्त्री बन्ने उनको भनाइ छ ।

कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहँदा नेकपा एकीकृत समाजवादीले भने यसअघि नै माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा सघाउने सार्वजनिक गरिसकेको छ । उक्त दलका नेतासमेत रहेका राजेन्द्रकुमार राईले नैतिक हिसावले आफूले यस पटक इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेको स्पष्ट संकेत गरे ।

‘मुख्यमन्त्रीको विषयमा हामीले करिब करिब टुङ्गो लगाएकै छौं । जसलाई बनाए पनि हामी स्वीकार गर्छौं । त्यस्तो भएन भने जसको प्रधानमन्त्री छ, उसैलाई यहाँको मुख्यमन्त्री बनाउने भन्ने भएपछि मान्छे नै तोके बराबर हो । यो विषय कांग्रेससहितको सहमति हो,’ उनले भने ।

केन्द्रका शीर्ष नेतामा सहमति भइसकेको दाबी

यसैबीच कांग्रेसका एक नेताले बताए अनुसार कोशी प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ । दाबीका साथ उनले भने, ‘इन्द्र आङ्बोलाई आफ्नै पार्टीबाट कसैले छेकेन र कोपभाजनमा परेनन् भने पहिलो पटक मुख्यमन्त्री बन्छन् ।’

कांग्रेस शीर्ष नेताहरुको निकटमा रहेका उनले आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति कसरी भयो भन्ने आधार पनि खुलाए । हाल सुदूरपश्चिम, लु्म्बिनी र गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार छ । यस्तै कर्णाली र बागमतीमा माओवादी तथा मधेस प्रदेशमा जसपाको नेतृत्वमा प्रदेश सरकार छ । कांग्रेस र माओवादीका शीर्ष नेताबीच ३-३ वटा प्रदेश लिने सहमति भएको उनको दाबी छ । त्यसो गर्दा कोशी प्रदेशको मुख्यमन्त्री पहिलो चरणमा माओवादीले पाउने उनले बताए ।

विपक्षमा मत दिने चार दलको निर्णय

उता, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । विराटनगरस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गत असार ११ गते काठमाडौंमा बसेको कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने निर्णय गरेको थियो । सोही बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ ।

यता, नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मत जाहेर गर्ने निर्णय गरेको छ । उक्त दलका बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Gathabandhan Meeting

विश्वासको मत माग्ने एमालेको निर्णय

यसैबीच नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । विराटनगरस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेले प्रदेशलाई अस्थिरताबाट जोगाउनका लागि सहमतिको सरकार बनाउन आग्रह गर्ने निर्णय गरेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले यसअघि पनि सहमतिको सरकार बनाउन आग्रह गरेका थिए । तर आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनको अडान छ ।

कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप