शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णालीको बजेट

एमाले सांसद शाहीको अमर्यादित हर्कत, माओवादी संसदीय दलको बैठकमा आएर किताब पछारिन्

आफूबाट कमजोरी भएको स्वीकार
बिहीबार, १४ असार २०८०, ०७ : ५२
बिहीबार, १४ असार २०८०

सुर्खेत । कर्णालीमा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । तर, विरोधका नाममा केही सांसदले अमर्यादित हर्क गरेका छन् । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । फरक पार्टीको बैठक बसिरहेका बेला एमाले सांसद दक्षिणा शाही एक्कासि हलमा छिरिन् । 

उनी हलमा छिरेपछि माओवादी सांसदहरू झस्किए । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट निस्किएको बजेट किताब पछारिदिइन् । उनले जोडले पछारेको किताब माओवादी सांसद मिलन खड्काको शरीरमा गएर लागेको थियो । बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक मन्त्री मङ्गल शाही लगायत पार्टीका सबै सांसदहरू उपस्थित थिए ।

एक्कासि आएर ढोकाबाट नै हानेको किताबले शरीरमा लाग्ने भएपछि सांसद खड्काले हातले छेकेकी थिइन । एमाले सांसद शाहीले उक्त किताब भौतिक मन्त्री मङ्गलबहादुर शाहीलाई हानेकी थिइन् । ‘विरोध गर्ने, आफूलाई मन नपरेको कुरा संसदमा बोल्ने हो तर, उहाँले माओवादी दलको बैठकमा आएर किताब हान्नुभयो,’ माओवादी एक सांसदले भने,‘ यो संसदीय मर्यादा विपरीतको कार्य हो जस्तो लाग्छ ।’ 

उनले भौतिक मन्त्रालयबाट आफ्नो जिल्लाका लागि आउनुपर्ने योजना नआएको रिस ओकल्दै दलकै बैठकमा आएर किताब पछारेको माओवादी सांसदहरूको भनाइ छ । 

‘मेरो गल्ती भएकै हो’

एमाले सांसद शाहीले आफूबाट केही कमजोरी भएको बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले बैठकमा जानु गलत रहेको पनि बताइन् । साथै उनले भौतिक मन्त्रीलाई आफूले दिएको योजना नआएकाले मन्त्रीलाई किताब बुझाउन गएको बताइन् ।

‘मैले धेरै पटक योजना नछुटाउनुहोला, समस्या छ भनेर ३ वटा योजना दिएको थिएँ ,’ उनले भनिन,‘ ३ वटा नभन्नु भाउजू २ वटा आउँछ भनेर भौतिक मन्त्रीले आश्वासन दिनुभएको थियो । ठिकै छ भनेको थिएँ , किताब ल्याएर हेर्दा एउटै योजना नआएपछि किताब फालेकै हो ।’

उनले मन्त्री शाहीलाई देवर भनेर सम्बोधन गर्छिन् । किताबमा योजना नआएको भन्दै मन्त्री शाही समक्ष किताब फालेको उनले स्वीकार गरिन् ।

बजेट आउँछ भनेर गाउँतिर पनि आश्वासन दिइसकेको र बजेट नआएपछि आफूलाई मन्त्रीले हल्का रूपमा लिएको आरोप पनि उनले लगाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप