सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेसका तीन दल

जनमत पार्टी सक्रिय र लोसपा सुस्त हुँदा रणनीतिक रूपमा अघि बढ्दै जसपा

शनिबार, २३ असार २०८०, १६ : ३०
शनिबार, २३ असार २०८०

काठमाडौँ । तराई मधेस केन्द्रित तीन दल संसदीय राजनीतिमा सक्रिय रहे पनि जनतामाझ भने फरक फरक ढङ्गले अघि बढेका छन्  । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आ–आफ्नै ढङ्गले तराई मधेसमा राजनीति गरिरहेका हुन् । 

हालै पार्टीको विधान अधिवेशन सम्पन्न गरेको जसपा अन्य दलको तुलनामा बढी रणनीति ढङ्गबाट अगाडि बढिरहेको छ । साङ्गठनिक रूपमा मधेसमा सबभन्दा बलियो रहेको भए पनि जसपाको गतिविधिहरू भने सशक्त देखिँदैन । 

यतिसम्म कि पार्टीले नेताहरूलाई जिम्मेवारी बाँडफाँट नगरेको कारण शीर्ष नेताहरू नै अलमलमा देखिन्छन् । जसपाले मधेस प्रदेश सरकारको नेतृत्व गरेको छ भने  केन्द्रमा पनि सरकारमा सहभागी भएको छ । मधेस प्रदेशका अधिकांश नेता तथा कार्यकर्ताहरू सरकारकै वरिपरि घुमिरहेका छन् । 

यस्तै चुनावमा अन्तर्घात गरेको भन्दै केही नेता तथा कार्यकर्ता कारबाहीमा परेपछि पार्टीभित्र असन्तुष्टि पनि देखिएको छ । यस्तै विधान अधिवेशनबाट तयार भएको विधान समेत अझै कार्यान्वयनमा आएको छैन । विधान प्रमाणीकरणका लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एउटा समिति बनेको छ । 

सो समितिले अधिवेशनबाट आएका सुझावलाई अध्ययन गरिरहेको छ । यही महिनाभित्र प्रमाणीकरण गरी विधान कार्यान्वयनमा आएपछि पार्टी सक्रिय हुने नेताहरू बताउँछन् । विधान कार्यान्वयन आएपछि जिम्मेवारसहित नेताहरू फिल्डमा जाने उनीहरूको भनाइ छ । 

 पार्टीले अधिवेशन गर्नुको साथै अन्य सङ्गठनलाई चुस्त दुरुस्त बनाउँदै अगाडि बढ्ने पनि बताएको छ । नयाँ विधान अनुसार नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेपछि पार्टीले रफ्तार लिने  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनले पार्टी सक्रिय नै रहेको दाबी गर्दै नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको प्रतिक्रिया दिए । 

जसपाले कोशी प्रदेश नामकरणको विषयमा त्यहाँ आन्दोलनको नेतृत्व गरेको छ । केही दिन पहिले यही विषयमा सो पार्टीले काठमाडौँमा पनि प्रदर्शन गरेको थियो । 

बस्नेतले जिल्ला तथा प्रदेशका कमिटीहरू आ–आफ्नो तरिकाले क्रियाशील रहिरहेको  दाबी गरे । उनले भने, ‘विधानलाई प्रमाणीकरण गर्ने काम भइरहेको छ, प्रमाणीकरण भएर आएपछि पार्टी झन् सक्रिय भएर अगाडि बढ्छ ।’

जसपा नेपाल पछिल्लो समय निकै नै रणनीतिक ढङ्गबाट अगाडि बढिरहेको देखिन्छ । मधेस प्रदेशमा तेस्रो स्थानमा रहेको जसपाले त्यहाँको सरकारको नेतृत्व गरिरहेको छ भने केन्द्रमा उपराष्ट्रपति हात पारेको छ । 

उता, सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादवले बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेका छन् । यी सबै रणनीतिक ढङ्गले नै नै भएको सो पार्टीका नेताहरू स्वीकार गर्छन् । 

‘संख्यात्यक हिसाबले भागबन्डामा खोजेको भए केही पाउने अवस्था थिएन’, एक नेताको भनाइ छ, ‘अध्यक्ष उपेन्द्र यादवले आफ्नो चतुर्याईका कारण यी सब प्राप्त भएका छन् । तर त्यही गठबन्धनमा रहेका जनमत पार्टी मधेस प्रदेश र सङ्घको सरकारमा अलमलमा छन् ।’

सुस्त लोसपा

मधेस केन्द्रित अर्को दल लोसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश तथा सङ्घ सरकारमा सहभागी छ । तीनवटै ठाउँमा एक–एक वटा मन्त्रालय पाएको लोसपा सांगठिनक रूपमा भने निकै कमजोर भएको छ । २०७९ को चुनावबाट राष्ट्रिय दलको दर्जा समेत नपाएको लोसपाले सङ्गठन निर्माणमा कुनै ध्यान नदिएको गुनासो नेता तथा कार्यकर्ताले गरिरहेका छन् । 

लोसपा गठन भएको दुई वर्ष हुन लागेको छ । तर अहिलेसम्म कार्यकारिणी समितिबाट मात्र पार्टी सञ्चालन भइरहेको छ । पार्टीको अन्तरिम विधान अनुसार न केन्द्रीय समिति बनेको छ, न अन्य कुनै भातृ सङ्गठन, न त अरू कुनै सङ्गठन नै । पार्टी गठन भएदेखि नै केन्द्रीय समितिलगायत अन्य सङ्गठन बनाउन गृहकार्य भएको भए पनि हालसम्म नतिजा निस्कन नसकेको हो । 

पार्टीका कार्यकारिणी सदस्य केशव झाले केन्द्रीय समितिलगायत अन्य समितिहरू बनाउने गृहकार्य भइरहेको बताए ।  सम्भवतः यो महिनाभित्र सबै कार्य सकिने उनको भनाइ छ।  

‘ पार्टीले आफ्नो काम गरिरहेको छ, पार्टीका नेतृत्व तहले केही नेताहरूलाई अनौपचारिक रूपमा जिम्मेवारी पनि दिएको छ, त्यही अनुसार काम भइरहेको छ’, उनले दाबी गरे । 

जनमत सक्रिय

जनमत पार्टी मधेसमा पुरै सक्रिय छ । जनमतले सङ्गठन विस्तारका लागि गाउँ गाउँ गएर प्रशिक्षण दिनुको साथै विभिन्न समिति निर्माणका कार्यलाई अघि बढाइरहेको छ ।  

केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडासम्मको समितिलाई जनमत पार्टीले यतिखेर सक्रिय बनाइरहेको हो ।  त्यसका लागि जनमतले नेताहरुलाई जिम्मेवारी नै बाँडफाँड गरेको छ । 

नेताहरू जिम्मेवारी पाएको आआफ्नो ठाउँमा खटिएको जनमत पार्टीका नेता डा.शरद यादवले बताए । 

उनले भने, ‘अरू ठाउँमा अल्झिनु भन्दा सङ्गठन निर्माण तथा जनतालाई प्रशिक्षित गर्ने ठाउँमा समय दियो भने पार्टीका लागि हित हुने भनेर नै हामीले गतिविधि बढाएका छौँ ।’

जनमतले जनताको पक्षमा राजनीति गर्ने बताउँदै उनले सोही कारणले आफूहरू अहिले सत्ता र सदनमा अल्झिन नचाहेको उनको भनाइ छ । ‘२०८४ को चुनावलाई टार्गेट गरेर हामी अगाडि बढी रहेका छौँ, ‘नेता यादवले भने, ‘अगामी चुनावमा मधेसमा एक नम्बरको पार्टी हाम्रो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप