बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रङ्गभेदले दुःखी प्रियंका बाथरुममा खाना खान्थिन् : गलत जवाफ दिएर मिस वर्ल्ड बनिन्, निर्माताले फिगर हेर्न खोज्दा फिल्म छोडिन्

मङ्गलबार, ०२ साउन २०८०, १० : ५२
मङ्गलबार, ०२ साउन २०८०

लिउड अभिनेत्री प्रियंका चोपडा आज (जुलाई १८) ४१ वर्ष पूरा भएकी छिन् । १८ जुलाई १९८२ मा जमशेदपुरमा जन्मिएकी प्रियंका गहुँगोरो वर्ण भएकी एक साधारण युवती थिइन् । उनले बाल्यकालदेखि नै रङ्गभेद र भद्दा कमेन्टको सामना गर्नुपरेको थियो । १३ वर्षको उमेरमा अमेरिका पढ्न पठाउँदा पनि उनले रङ्गभेदको सामना गर्नुपर्‍यो । अमेरिकी बालबालिकाका कारण समस्या भएपछि प्रियंका बाथरुममा गएर खाना खाने गर्थिन् । तीन वर्ष अमेरिकामा बिताएपछि उनको व्यवहारमा परिवर्तन हुँदा बुवाले घरबाट निस्कन र जिन्स लगाउन प्रतिबन्ध लगाए । 

तर आफ्नो सीप र लगनले उनलाई सफलताको शिखरमा पुर्‍याइ छोड्यो । १८ वर्षको उमेरमा प्रियंकाले मिस वर्ल्ड बनेर उदाहरण कायम गरिन् तर फिल्ममा स्थान बनाउनका लागि उनले पुनः निर्देशकको गलत माग र भद्दा कमेन्ट झेल्नुपर्‍यो । आज उनै प्रियंका चोपडा बलिउडकी सबैभन्दा धनी नायिकामा गनिन्छिन् ।

आज प्रियंकाको जन्मदिनको मौकामा उनको जीवनका केही पाटोबारे जानकारी लिऔँ ।

१८ जुलाई १९८२ मा जमशेदपुर, झारखण्डमा जन्मिएकी प्रियंकाका पिता अशोक चोपडा र आमा मधु चोपडा दुवै सेनामा डाक्टर थिए । प्रियंका चोपडाका हजुरबुवा डा. मनोहर किशन अखौरी, कांग्रेसका चर्चित नेता थिए, यस्तै उनकी हजुरआमा मधु ज्योत्सना अखौरी बिहार विधान सभा सदस्य थिइन् ।

priyanka४ वर्षको उमेरमा बंकरमा बिताइन् एक वर्ष

प्रियंका चार वर्षको हुँदा उनका बुवाको पोस्टिङ लेहमा भएको थियो । लेहमा प्रियंकाको परिवार एक बंकरमा बस्थ्यो । त्यहाँ अन्य आर्मीका परिवार पनि बस्थे । सेनामा जागिर गर्दा प्रियंकाका आमाबुवाको भिन्न भिन्न सहरमा पोस्टिङ भयो त्यसैले प्रियंकाको बाल्यकाल दिल्ली, चंडीगढ अंबाला, लद्दाख, लखनऊ, बरेली र पुणेमा बित्यो ।

१३ वर्षको उमेरमा विदेश गइन्, स्कुलमा रङ्गभेदको सिकार भइन्

१३ वर्षको उमेरमा प्रियंकालाई पढ्नका लागि अमेरिका पठाइयो । त्यहाँ उनी आफ्नो काकीसँग बस्थिन् । गहुँगोरो वर्ण भएका कारण प्रियंकालाई अन्य अमेरिकी बच्चाले भद्दा कमेन्ट गरेर गिज्याउँथे । कतिले उनलाई भारत फर्किनका लागि दबाबसमेत दिन्थे ।

प्रियंका आफैँ पनि आफ्नो छालामा यति असुरक्षित महसुस गर्थिन् कि उनी जवाफ फर्काउनुको साटो डराएर बस्थिन् । अरू बच्चासँग डराउँथिन् त्यसैले आफ्नो खाना बाथरुममा बसेर खान्थिन् । कसैले आफ्नो मजाक नउडाओस् भनेर उनले यस्तो गर्थिन् ।

priyanka1९ कक्षामा प्रेमीलाई घरमा लुकाइन्, समातिए, मन तोडियो

प्रियंकाले आत्मवृत्तान्त अनफिनिस्डमा आफ्नो पहिलो हार्ट ब्रेकसँग सम्बन्धित रमाइलो किस्सा साझा गरिन् । उनले लेखेकी छिन् – अमेरिकामा ९ कक्षामा पढ्दा १० कक्षामा पढ्ने बबसँग प्रेम बसेको थियो । एक दिन काकी किरण घर बाहिर जानुभएको थियो, मौकामा फाइदा उठाउँदै १३ वर्षकी मैले बबलाई घरमा बोलाएँ । हामी चुम्बन गर्नै लागेका थियौँ, अचानक काकी फर्किनुभयो, बबलाई मैले तुरुन्त दराजमा लुकाए तर उनी समातिए । घरमा बेस्सरी गाली खाएपछि बबले मलाई छोडिदिए । बबले केही दिनपछि मेरै साथीलाई डेट गर्न थाले, मेरो मन टुट्यो ।

आधुनिक बनेर भारत फर्किइन् बुबाले प्रतिबन्ध लगाए

प्रियंका चोपडा १७ वर्षको उमेरमा अमेरिकाबाट भारत फर्किइन् । उनको जीवनशैलीमा ठुलो परिवर्तन आएको थियो । उनी आधुनिक भइसकेकी थिइन्, तर उनका पिता अशोक चोपडाले उनको बदलिएको बानी व्यवहार फिटिक्कै मन पराएनन् । यसैबीच, १७ वर्षको उमेरमा, प्रियंकाले एक स्थानीय सौन्दर्य प्रतियोगिता जितिन् । यस कारण उनलाई सहर भरिका मानिसले चिन्न थालेका थिए ।

द हावर्ड स्टर्न शोमा प्रियंकाले आफू कतै जाँदा केटाहरूले उनलाई पछ्याउने गरेको खुलासा गरिन् । एक दिन एउटा केटा उसलाई पछ्याउँदै उनको घरसम्मै पुगे । प्रियंका आत्तिएर दौडिएर बुबा भए ठाउँ गइन् । यस घटनापछि प्रियंकाका पिताले उनलाई गाली गरे र उनीमाथि प्रतिबन्ध लगाउन थाले ।

priyanka2कोठाको झ्याल बन्द गरियो, सबै जिन्स जफत भए

बुबाले प्रियंकालाई कडाइ गर्दै उनको सुत्ने कोठाको झ्याललाई जालीले बारिदिए र उनको सबै जिन्स र पश्चिमी लुगाहरू जफत गरे । प्रियंकालाई एक्लै घरबाट बाहिर निस्कन दिइँदैनथ्यो, उनी जहाँ जान्थिन्, घरका ठुला वा ड्राइभर उनीसँगै हुन्थे । उसलाई कुर्ता लगाउन मात्र अनुमति थियो । बाल्यकालमा प्रियंका आफ्नो बुबाको कठोरताबाट निकै निराश थिइन् ।

आमाले मिस इन्डियाको फारम भरिन्, घरमा हङ्गामा मच्चियो

प्रियंकाको ग्ल्यामरस वर्ल्डतर्फको झुकाव देखेर एक दिन उनकी आमा मधुले फेमिना मिस इन्डियाका लागि फारम भरिन् । यो कुरा बुवाले थाहा पाउने बित्तिकै घरमा हङ्गामा मच्चियो । बुवाले आमालाई गाली गर्दै भने, ‘पढाइमा राम्रो छिन् भने किन मिस इन्डियाका लागि पठाउने, अहिलेदेखि यी सबै कुरा दिमागमा राख्नु ठिक होइन । ’

केही समयपछि मधुले अशोकलाई बुझाएपछि उनी पनि राजी भए तर त्यति बेलासम्म प्रियंका नर्भस भइसकेकी थिइन् ।

प्रियंकाले आफ्नी आमालाई यो सबै गर्न नचाहेको र यसमा सफल हुन नसक्ने बताइन् । मधुले उनलाई सम्झाउँदै भनिन्, ‘तिमीले जितेनौ भने पनि पढाइमा हार हुने छैन, तिमी फेरि पढ्न सक्छौ तर यो ठुलो मौका हो । ’ आमाको निर्देशनमा प्रियंका मिस इन्डियामा सहभागी भइन् र जित हासिल गरिन्  । त्यसपछि प्रियंकाले मिस वर्ल्डमा भारतको प्रतिनिधित्व गरिन् ।

priyanka3मिस वर्ल्ड फिनालेअघि अनुहार पोल्यो, कपालले दाग लुकाइन् 

मिस वर्ल्डको ब्याक स्टेजमा करिब ९० युवती फिनालेको तयारीमा थिए । प्रियंका पनि हतारमा तयार हुन थालिन् । कपाल कर्ल गर्दा उनलाई पोल्यो । अनुहारमा दाग नै देखियो तर उनले यसलाई कन्सिलर र कपालले छोपिन् ।

गलत जवाफ दिएर बनेकी थिइन् मिस इन्डिया

फिनालेमा प्रियंकालाई ‘को जीवित महिलालाई सबैभन्दा सफल मान्नुहुन्छ ?’ जवाफमा प्रियंकाले मदर टेरेसाको नाम लिएकी थिइन् । उनको निधन तीन वर्षअघि भइसकेको थियो, जबकि प्रश्न जीवित महिलाबारे सोधिएको थियो । तर पनि उनले ताज जितिन् ।

priyanka4स्टेजमा लुगा फुस्किन लागेको थियो, यसरी जोगिइन्

प्रियंका चोपडाले मिस वर्ल्डको फिनालेमा जुन लुगा लगाएकी थिइन्, त्यो निकै भारी थियो । यसलाई शरीरमा टाँस्नका लागि प्रियंका चोपडाले यसलाई बडी टेपले टाँसेकी थिइन् । प्रियंकाको नाम मिस वर्ल्ड २००० को विजेता घोषित भएको क्षण प्रियंकाको जीवनको सबैभन्दा अविस्मरणीय क्षण थियो ।  तर यो क्षणमा प्रियंकाको पहिरनले धोका दिन सुरु गरिसकेको थियो ।  उनको लुगा बिस्तारै तल आउन थाल्यो । लुगा उनको वक्षस्थलबाट तल झर्दै थियो तर उनले आफ्नो लुगालाई शरीरमा पुनः टाँस्नका लागि कस्सिएर नमस्ते गरिन् ।

२२ वर्षपछि जीतमाथि प्रश्न उठ्यो, मिस वर्ल्ड २००० फिक्स्ड थियो भनेर आरोप लगाइयो 

सन् २०२२ मा पूर्व मिस बार्बाडोस लिलानी म्याकनले प्रियंका र उनको विजयमाथि गम्भीर आरोप लगाएकी थिइन् । उनले युट्युब भिडियोमा प्रियंकाले मिस वर्ल्ड २००० मा जित्ने पक्का भइसकेको बताएका छन् । त्यो वर्ष मिस वर्ल्डको प्रायोजक भारतीय केबल स्टेसन जिटिभी थियो । हरेक युवतीको स्यासमा देशको नाम अघि जिटिभीको नाम राखिएको थियो । त्यति बेला मिस इन्डिया प्रियंका चोपडा र अन्य युवतीबीच धेरै भेदभाव भएको थियो । प्रियंकाले होटेलको कोठामा खाना खान्थिन् भने अन्य केटीहरू मिलेर खाना खान्थे ।

पूर्व मिस बार्बाडोसले भनेकी थिइन्,  ‘प्रियंकाले प्रतियोगितामा छालाको रङ्ग निखार्नको लागि फेस क्रिम लगाउँथिन्, जसले काम गरिरहेको थिएन । स्विमसुट राउन्डमा, उनको शरीरमा दागहरू थिए, जसलाई लुकाउन उनले बिकिनीको सट्टा सरोङ लगाएकी थिइन् । जबकि कुनै पनि प्रतियोगीलाई यस्तो अनुमति थिएन । फाइनलमा पनि प्रायोजकहरूले उनको ड्रेसलाई विशेष बनाएका थिए ।’

priyanka5निर्देशकले हेरेपछि भनेका थिए, फिल्ममा आउन चाहन्छौ भने स्तनको शल्यक्रिया गर 

प्रियंका चोपडाले आफ्नो आत्मकथा अनफिनिश्डमा एक निर्देशकले उनलाई ३ वटा शल्यक्रिया गर्न सल्लाह दिएका छन् भन्ने खुलासा गरेकी छन् । प्रियंकाले किताबमा लेखेकी छिन्, ‘फिल्ममा प्रवेश गर्नुअघि मैले एक निर्देशकलाई भेटेको थिएँ । ती निर्देशकले मलाई उठेर आफ्नो शरीर देखाउन भने ।’

प्रियंका राजी भइन् र उनको अगाडि उभिइन् । निर्देशकले उनलाई केही मिनेट हेरे र उनको स्तन, नितम्ब र बङ्गाराको शल्यक्रिया गराउनुपर्ने सल्लाह दिए । प्रियंकाका म्यानेजरले पनि निर्देशकको होमा हो मिलाइरहेका थिए । यही कारण प्रियंकाले उनलाई हटाइन् ।

निर्देशकले भित्रीवस्त्र देखाउन माग गरेपछि फिल्म छोडिन्

हालै प्रियंका चोपडाले जोए रिपोर्टसँगको कुराकानीमा चकित पार्ने खुलासा गरिन् । प्रियंकाले करियरको सुरुमा निर्देशकको गलत मागलाई स्वीकार नगरेका कारण फिल्मबाट निकालिएको बताइन् । उनले भनिन्, ‘सन् २००२–२००३ को कुरा हो, म एउटा फिल्ममा काम गरिरहेको थिएँ । मैले एउटा दृश्यका लागि नायकलाई सेड्युस गर्नु परेको थियो ।’

‘यसैबीच निर्देशकले मेरो भित्रीवस्त्र देखाउन माग गरिरहेका थिए । निर्देशकले सबैको अगाडि स्टाइलिस्टसँग ‘यसले भित्रीवस्त्र देखाइनन् भने फिल्म कसरी चल्छ ?’ भनिरहेका थिए ।’

यो सुनेर प्रियंकालाई निकै नराम्रो लाग्यो । उनले आफ्नो अभिनय वा प्रतिभाको कुनै महत्त्व नभएको महसुस गरिन् । यस्तो अवस्थामा उनले २ दिनपछि फिल्म छोडिन् ।

priyanka__पहिलो मुख्य भूमिकामा रहेको फिल्मको सेटमा गाली खाइन्, कोरियोग्राफरले फ्याँकिदिएका थिए माइक 

प्रियंका चोपडाले फिल्म ‘अंदाज’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । फिल्ममा उनीसँगै अक्षय कुमार र डेब्यु अभिनेत्री लारा दत्ता पनि थिइन् । यो फिल्मको सुटिङको सुरुवाती दिन थियो र प्रियंका चोपडाले फिल्म अंदाज टाइटल गीतको लागि सुटिङ गर्नुपरेको थियो । सुटिङका क्रममा प्रियंकाले एउटा स्टेपलाई ४० टेक लिएपछि पनि राम्रोसँग गर्न सकिरहेकी थिइनन् । 

यो देखेर उक्त गीतका कोरियोग्राफर राजु खान (सरोज खानका छोरा) यति रिसाए कि उनले प्रियंकालाई सबैका अगाडि माइक फालेर गाली गरे । उनले भने, ‘तिमी विश्व सुन्दरी भयौ भन्दैमा नायिका बन्छु भन्ने तिमीलाई लाग्छ ? पहिला नाच्न सिकेर आऊ अनि मात्र प्रस्तुति दिनु ।’

गाली खाएपछि प्रियंकाले ब्रेक लिएर पण्डित वीरु कृष्णनसँग कथक सिकिन् । दैनिक ६ घण्टा अभ्यास गर्थिन् । उनी फर्किएपछि उनले एकै चोटिमा उक्त दृश्य दिन सफल भइन् । फिल्म अंदाजमा प्रियंकाको अभिनयको निकै तारिफ भएको थियो । यसका लागि प्रियंकाले बेस्ट फिमेल डेब्युको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

२५ वर्षीय निक जोनससँग प्रेममा परिन् 

आर्मचेयर एक्सपर्टलाई दिएको एक अन्तरवार्तामा प्रियंकाले निक जोनससँगको पहिलो कुराकानी र उनको प्रेमकथा शेयर गरेकी छिन् । प्रियंकाका अनुसार उनी एक टक्सिक सम्बन्धमा भएका बेला उनको ट्विटरमा निक जोनसको मेसेज आयो । प्रियंकाका साथी उनले निकलाई भेटुन् भन्ने चाहन्थे तर निक प्रियंकाभन्दा १० वर्ष कान्छा थिए ।

आफ्नो पछिल्लो सम्बन्धका कारण दुःखी प्रियंकाले निकसँग कुराकानी गरिन् र यी दुई राम्रा साथी बने । फोन नम्बर साटासाट भएपछि यी दुई सन् २०१७ मा मेट गालामा पहिलो पटक भेटे र केही भेटघाटपछि यी दुई २०१८ देखि सम्बन्धमा रहे । डेटिङको दुई महिनापछि नै उनीहरुले इन्गेजमेन्ट गरे र १ डिसेम्बर सन् २०१८ मा विवाह गरे । जनवरी २०२२ मा सरोगेसीमार्फत् छोरी जन्माइन् जसको नाम उनीहरुले मालती राखेका छन् ।

प्रियंका चोपडा हरेक फिल्मको २२ करोड भारु लिन्छिन् र प्रत्येक स्पोन्सर्ड इन्स्टाग्राम पोस्टका लागि १.८ करोड भारु लिन्छिन् । प्रियंकाको लस एन्जिल्समा १५० करोडको घर छ । सन् २०१३ मा प्रियंकाले गोवामा घर किनेकी थिइन् जसको मूल्य २० करोड भारु हो ।

दैनिक भास्कर

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप