सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बैठकमा गण्डकी प्रदेश सभापति शर्मा : प्रदेश कार्यसमितिलाई बेवास्ता गरियो

बुधबार, ०३ साउन २०८०, १२ : ११
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशमा सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् ।  केन्द्रीय कार्यसमितिको दोस्रो बैठकमा उनले केन्द्रले सिधै जिल्ला र पालिकालाई सम्पर्क गर्ने काम गरेकोमा आपत्ति जनाए ।

‘प्रदेश पार्टीको एउटा महत्वपूर्ण अंग हो । केन्द्रीय पार्टी सभापतिपछि प्रदेश सभापतिको दोस्रो महत्व हुन्छ । त्यसलाई बलियो बनाउने कुरामा केन्द्रको ठूलो सहयोग चाहिन्छ,’ उनले भने, ‘केन्द्रले सिँधै जिल्ला र पालिकालाई सम्पर्क गर्ने काम भएको छ । जिल्लालाई प्रदेशबाटै सञ्चालन गर्नुपर्छ ।’

महामन्त्रीद्वयले असार २१ र २२ गते काठमाडौँमा बोलाएको जिल्ला सभापतिको बैठकमा प्रदेश सभापतिलाई खबर नगरिएकोमा सभापति शर्माको गुनासो छ । ‘यसरी बाइपास गर्ने कुरा राम्रो भएन । हामीलाई विधानता केन्द्रीय समितिमा उपस्थिति गराउनुपर्छ । हामीलाई जति कम्जोर बनाइयो, त्यति नै पार्टी कमजोर हुन्छ । नेताहरु प्रदेश आउँदा पनि प्रदेशलाई जानकारी गराउनुपर्छ । एकै चोटी जिल्लामा जाने कुरा राम्रो भएन,’ उनले भने ।

संगठनलाई उपेक्षा गरेर हामीले राम्रो परिणाम ल्याउन नसक्ने उनले बताए । ‘कांग्रेसभित्र मात्र होइन बाहिर पनि कांग्रेसको विकल्प खोज्न थालिको छ । हामी गम्भीर भएर छलफल गर्नुपर्छ,’ शर्माले भने ।

युवा, देश र राष्ट्रियताको भविष्य कांग्रेसमै छ भनेर बैठकले प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाइ छ । ‘हामी टाउकाको हिसाब गरेर बसेका छौं । पार्टीलाई संस्थागत रुपमा सञ्चालन गर्नुपर्छ,’ उनले भने । बैठक सञ्चालन राम्रो भएको छ । राम्रैसँग बैठक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दैछु ।’ महामन्त्रीको वार्षिक कार्यतालिका कार्यान्वयन गर्न सके राम्रो छ । यसमा बैठकको प्रतिवद्धताको खाँचो छ । त्यसलाई पालना गरियो भने पार्टीका धेरै समस्या समाधान हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप