बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

युरोप पठाइदिने भन्दै ९५ जनाबाट करोडौँको ठगी

सोमबार, ०८ साउन २०८०, ०६ : ४७
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, माल्टा, पोर्चुगल, पाराग्वे, सर्बिया लगायतका देशमा रोजगारीका लागि पठाई दिने भन्दै २ करोड ५८ लाख भन्दा बढी ठगी गरेर गिरोह फरार भएको हो । 

बानेश्वरमा एक घर भाडामा लिएर कनेक्टियर बर्ड कन्सल्टेन्सी खोलेका अजित तामाङ, सागर कुमाल लगायतका व्यक्तिहरू फरार भएका हुन् । उनीहरूकै समूहकी कमलादेवी सुवेदी भने यतिबेला पुपक्र्षका लागि थुनामा छिन् । 

वैदेशिक रोजगार विभागको पत्रको आधारमा प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्रियता नदेखाएको पीडितहरूको गुनासो छ । 

रातोपाटीको सम्पर्कमा आएका पीडितहरूले उक्त कन्सल्टेन्सीले रोमानिया पठाई दिने भन्दै साढे ५ लाख रूपैयाँ मागेको थियो । त्यसमध्ये साढे तीन लाख रूपैयाँ उनीहरुले दिएका थिए । त्यसरी ठगिनेमा काभ्रेको एउटै परिवारका आमा, छोरी–ज्वाई, मामा लगायतका परेका छन् । 

त्यस्तै, विभिन्न जिल्लाका ९५ जनासँग रोमानिया, पोर्चुगल, माल्टा लगायतका देशमा पठाईदिने भन्दै ५ लाखदेखि १५ लाख रूपैयाँ मागेको पाइएको हो । 

आफू ठगिएको थाहा पाएपछि उनीहरूले विभागमा उजुरी दिएका थिए । उजुरीको आधारमा विभागले प्रहरीमार्फत् कमलादेवीलाई पक्राउ गरेको थियो । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंका सदस्यद्वय प्रेमकुमार राई र उद्धवप्रसाद पुडासैनीको इजलासले उनीहरूलाई कसुरदार ठहर गरेको थियो । 

Order letter

‘वैदेशिक रोजगारका लागि युरोपका विभिन्न देशमा पठाउँछु भनी झुट्टा आश्वासन दिई प्रलोभन देखाई जाहेरवालाहरूबाट रकम बुझी लिएको र वैदेशिक रोजगारीमा नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेकोले प्रतिवादीहरू रन्जना राई, सबु श्रेष्ठ र कलादेवी सुवेदीको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसूर देखिँदा निजलाई सोही दफा ४३ बमोजिम सजाय हुन र जाहेरवालाहरूबाट बुझिलिएको जम्मा विगो रकम २ करोड ५८ लाख १० हजार र सोको ५० प्रतिशत हर्जानाको क्षतिपूर्ति तिर्नुपर्ने’ आदेश गरेको थियो । 

उनीहरूबाट लिएको २ करोड ५८ लाख १० हजार रूपैयाँ र १ करोड २९ लाख ५ हजार रूपैयाँ थप हर्जाना गरी ३ करोड ८७ लाख १५ हजार रूपैयाँ मागदापी गरिएको थियो । 

उक्त आदेशपछि कमलादेवी पुर्पक्षका लागि थुनामा छिन् भने अन्य प्रतिवादीहरू फरार छन् । 

वैदेशिक रोजगार विभागले २९ चैत २०७९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अजित तामाङ र सागर कुमाललाई पक्राउ गरिदिन भन्दै पत्राचार गरेको थियो । 

arrest warrant

पीडितहरूले ग्लोबल आईएमई बैंकमा सागर कुमालको नाममा रहेको बैंक खातामा पैसा पठाएका थिए । 

यो कन्सल्टेन्सी आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आन्तरिक राजश्वमा २०७५ मा तथा भ्याटमा २०७७ मा दर्ता भएको देखिन्छ । तर, यसले २०७६ देखि नै कर नतिरेको देखिएको छ । 

कन्सल्टेन्सीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत यूरोपका विभिन्न देशमा रोजगारीको अवसर भन्दै विज्ञापन गर्दै आएको देखिएको छ । हाल उक्त पेज निस्क्रिय देखिन्छ । 

Pidit List  (1)Pidit List  (2)Pidit List  (3)

कसरी ठगिए ? 

काभ्रे बेथानचोकी एक महिलाले सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा रोमानियामा रोजगारीको अवसर लेखिएको विज्ञापन देखिन् । त्यहाँ दिइएको नम्बरमा सम्पर्क गरिन् । र, नयाँ बानेश्वरमा रहेको कार्यालयमा पुगिन् । 

उनलाई रोमानिया जान साढे ५ लाख रूपैयाँ लाग्ने र तीन महिना भित्रमा उडाउने भनियो । त्यो बेला कार्यालयमा कमलादेवी नै हर्ताकर्ताको रूपमा थिइन् । कार्यालयको सजावट, कार्यालयमा मानिसहरूको भीड, कमलादेवीले हालसम्म यतिजनालाई रोमानिया पठाइएको भन्दै भिसा देखाएपछि उनलाई विश्वास लाग्यो । 

उनले तीन लाख रूपैयाँ सागर कुमालको बैंक खातामा जम्मा गरिदिइन् । र, ५० हजार तिनै कमलादेवीको हातमा नगदै दिइन् । र, प्रमाणको लागि भन्दै उनीहरूले लुकेर भिडियोसमेत खिचे । जुन भिडियो अहिले पनि सुरक्षित नै छ । 

उनीसँगै उनकी छोरी ज्वाई पनि जोडिन पुगे । उनीहरूलाई मासिक २ लाख तलब हुने कम्पनीमा फुड प्याकिङको लागि जानुपर्ने भनियो । काम पनि सजिलै हुने र दाम पनि राम्रै आउने सोचेर जान तयार भए । 

‘कार्यालयको चहलपहल हेर्दा, भिसाका लागि मान्छे तारन्तार आइरहेको देख्दा यसरी ठगी गर्छ होला भन्ने कल्पनै गरेका थिएनौं । सुरूमै पुरै पैसा दिएको भए हामी झन डुब्ने रहेछौं,’ ती पीडितले भनिन् । 

साह्रै नै झुलाएर अन्तिममा गत चैत २६ गते टिकट र भिसा लिनको लागि बोलाइएको थियो । जबकि त्यो दिन शनिवार थियो । तर, कमलादेवीले बस्दै गर्नुहोस्, एकछिनमा टिकट लिएर आउँछौं भनिन् । 

छोरी र ज्वाई कार्यालयमा पुग्दा उनीहरूले भित्ताका प्रमाणपत्रहरू निकालेर भुईमा राखेका थिए । उनीहरूको भाग्ने योजना बनेको रहेछ । तर, त्यो कुरा पीडितहरूले चाल पाएनन् । 

दिनभर कुर्दा टिकट नआएपछि अब आइतबार आउँछ भनिन् । उनीहरू भोलि आउँला भनेर घर फर्किए । तर, दोस्रो दिन बिहान कार्यालयमा जाँदा बाहिरबाट ताला लगाइएको थियो । सबै जनाको फोन अफ थियो र उनीहरू सम्पर्कविहीन थिए । 

‘त्यसपछि लाग्यो हामी ठगियौं’  

यसरी ठगिनेमा उनीहरूमा मात्र नभएर ९५ जना पीडितले विभागमा उजुरी दिएका छन् । त्यो बाहेक ६० जना पीडित रहेको पाइएको छ । 

विभागले आफ्नो तर्फबाट सबै कार्य गरेको तर प्रहरीले उनीहरूको खोजीका लागि सक्रियता नदेखाएको पीडितहरूले बताए । 

यसका लागि गृह मन्त्रालयबाट समेत पक्राउ गर्न भन्दै पत्र लेखेर लगियो । तर, अपराध अनुसन्धान कार्यालयले कहिले वैदेशिक रोजगार ठगीमा हामीले हेर्दैनौं भन्ने, कहिले तीन महिनापछि आउनुहोस् भन्ने गरेको पीडितले बताए । 

यो विषयमा विभागबाट आएको पत्रको आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले उक्त प्रकरणमा एक जना पुर्पक्षका लागि थुनामा रहेको र २ जना फरार रहेकोमा खोजी कार्य भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप