शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
विदेश भ्रमणमा प्रमदेखि नेतासम्म

सरकारदेखि पार्टीसम्म कार्यवाहकको जिम्मामा

सोमबार, ०८ साउन २०८०, २० : ००
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेताहरूको विदेश भ्रमण बाक्लिन थालेको छ । नेताहरू लस्करै विदेश भ्रमणमा जाँदा सरकारदेखि राजनीतिक पार्टीसम्म यसबेला कार्यवाहकको भरमा चलेका छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला इटालीको रोम भ्रमणमा छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन गत साउन ६ गते त्यसतर्फ लागेका हुन् ।

 प्रचण्ड इटाली गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायाणकाजी श्रेष्ठले सम्हालिरहेका छन् । रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डबाहेक प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि विदेश भ्रमणमा छन् । अध्यक्ष ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि गत साउन २ गते त्यसतर्फ गएकाले एमालेको कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । त्यस्तै एमाले ससंदीय दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दलका उपनेता सुवास नेम्वाङले सम्हालेका छन् । 

प्रचण्ड र ओलीपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आइतबार रातीबाट नेपालमा छैनन् । अध्यक्ष नेपाल  नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसियातर्फ गएका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ लागेका हुन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया समेत जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले बताएका छन् ।

अध्यक्ष नेपाल विदेश भ्रमणमा गएपछि सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । यसअघि जेठ अन्तिम साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर सिंगापुर गएका थिए ।

मन्त्री र नेता पनि विदेश भ्रमणमा

त्यस्तै, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा भाग लिनका लागि ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत आइतबार युएई पुगेका छन् । यसैगरी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश प्रकाश ज्वाला जापान भ्रमणमा निस्केका छन् ।

यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसाल पनि प्रधानमन्त्री प्रचण्डसँगै इटलीमा छन् । 

यस्तै माओवादी नेतृ पम्फा भुसाल नेतृत्वमा एउटा टोली भारत भ्रमणमा छ । आइतबारदेखि सुरु भएको भ्रमण पाँच दिनसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप