आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

मन्त्रीको शपथ खान गएका रामेश्वर र कैलाश किन रित्तै फर्काइए ?

मङ्गलबार, ०९ साउन २०८०, १८ : १९
मङ्गलबार, ०९ साउन २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको राज्यमन्त्रीको शपथ ग्रहणका लागि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरी मंगलबार आफ्नो परम्परागत थारु पोशाक सेतो धोती, फुन्नाहा टोपी र काठको पौवा (खराउ)सहित टीकापुरबाट धनगढी पुगेका थिए ।

त्यही तयारीमा अर्का मन्त्रीमा सिफारिस भएका प्रदेशसभा सदस्य रामेश्वर चौधरी पनि थिए । तर, उनीहरुको मन्त्री पदको शपथ खाने त्यो धोको भने हाललाई अधुरै रहन पुगेको छ ।

पार्टीको निर्णयले निराश देखिएका कैलाश चौधरी भन्छन्, ‘सबै निर्णय र सहमतिपछि हिजोदेखि नै तयारी अवस्थामा थिएँ । उत्साह थियो । आफ्नो परम्परागत पोशाकसहित आज पुगेको थिए । तर, केन्द्रीय कार्यालयको पत्रले आज हुने शपथ हुन सकेन ।’

पार्टीको संसदीय दलको निर्णयका साथै सोमबार मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा दलका नेताहरु बीचको छलफलपछि आज शपथ ग्रहण गराउने सहमति भएको थियो । सोही सहमतिपछि प्रदेशसभा सदस्यद्वय तयारी अवस्थामा मंगलबार टीकापुरबाट धनगढी पुगेका थिए ।

तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको एक पत्रले उनीहरुको शपथ ग्रहण एकाएक रोकियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको लागि रामेश्वर चौधरी र राज्यमन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीद्वारा आज मुख्यमन्त्री कमल बहादुर शाहलाई सम्प्रेषित पत्रमा भनिएको छ, ‘पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौ ।’

पार्टीभित्र लफडा

नागरिक उन्मुक्ति पार्टीले यसअघि २ मन्त्रालय र १ राज्यमन्त्रीसहित मात्रै प्रदेश सरकारमा जाने अडानमा थियो । तर, पछिल्लो पटक आफ्नो सो अडानबाट पछि हट्दै १ मन्त्रालय र १ राज्यमन्त्रीमै सरकारमा जान राजी भएको थियो । जसअनुसार सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरी सिफारिस भए ।

पार्टीको मर्यादाक्रमअनुसार वरिष्ठ तथा पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीलाई संसदीय दलको नेता चयनदेखि हाल मन्त्रीको सिफारिससम्म पन्छ्याइँदै आइएको नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । सो विवाद र असन्तुष्टि पार्टीभित्र बढ्दै गएको बताइन्छ ।

यतिमात्रै होइन, निर्णय प्रक्रियामा धुल्मुले प्रवृत्तिले पनि नागरिक उन्मुक्ति पार्टीभित्रै विवाद चुलिएको बताइन्छ ।

एक नेताले भने, ‘हिजो नै पार्टी अध्यक्ष ज्यूले शपथ ग्रहणको लागि पठाउनुभयो । तर, आज एकाएक पार्टी संरक्षक रेशम चौधरीले अध्यक्षज्यूको हस्ताक्षरमा मुख्यमन्त्रीलाई शपथ नगराउने आशयको पत्र पठाउनुभयो । र, रोकियो ।’

पार्टीको निर्णय प्रक्रियामा पति पत्नी रहेका रेशम–रञ्जिताबीच मतविभिन्नता समेत रहेको बताइएको छ । जसलाई पछिल्लो घटना क्रमले सतहमा ल्याएको हो ।

नागरिक उन्मुक्ति पार्टीको धुलमुले प्रवृत्तिले सुदूरपश्चिम सरकारको मन्त्री परिषद विस्तार अवरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप