शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसलाई युरोपा कन्फरेन्स लिगबाट हटाइयो, चेल्सीलाई जरिवाना

शनिबार, १३ साउन २०८०, १२ : ५८
शनिबार, १३ साउन २०८०

टुरिन । युभेन्टसलाई यो सिजनको युरोपा कन्फरेन्स लिगबाट हटाइएको छ । फाइनान्सियल फेयर प्ले (एफएफपी) को नियम उल्लङ्घन गरेको भन्दै यूईएफएले यस्तो कारबाही गरेको हो ।

युरोपेली फुटबलको नियामक निकायले अपूर्ण आर्थिक विवरण उपलब्ध गराएको भन्दै प्रिमियर लिग क्लब चेल्सीलाई पनि जरिवाना गरेको छ । यूईएफएका अनुसार यी आर्थिक कारोबार सन् २०१२ र २०१९ को बीचमा भएका थिए ।

युभेन्टसलाई १.७१ करोड पाउन्ड तथा चेल्सीलाई ८५.७ लाख पाउन्ड जरिवाना तय गरिएको छ ।  इटालियन क्लबले आगामी तीन वर्षको आर्थिक विवरण सही राखे जरिवानाको आधा रकम मात्र तिर्नुपर्नेछ । तर, चेल्सीले भने सबै रकम तिर्ने प्रतिबद्धता जनाइसकेको छ ।

नयाँ मालिक टोड बोहलीले नेतृत्व सम्हालेपछि क्लबले १९ जना नयाँ खेलाडीका लागि करिब ६० करोड पाउन्ड खर्च गरेको छ । तर, यो कारबाही भने पूर्व मालिक रोमान अब्राहिमोविचको पालामा भएको आर्थिक कारोबारको लागि भएको हो ।

उता, युभेन्टसलाई हटाइएपछि उसको स्थानमा कुन क्लबलाई पठाउने भन्नेबारे इटालियन फुटबल फेडरेसनले यूईएफएलाई जानकारी गराउनुपर्छ । गत सिजन आठौँ स्थानमा रहेको फ्लोरेन्टिनाले सम्भवतः प्रतियोगितामा भाग लिनेछ । 

खेलाडीको ट्रान्सफरमा अनियमितता पाइएपछि गत सिजन युभेन्टसको सिरिए ए मा १० अङ्कसमेत घटाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप