आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

विधान सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी

आइतबार, १४ साउन २०८०, २३ : १०
आइतबार, १४ साउन २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्न छलफल केन्द्रित गरेको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।

२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएको नेताहरुले बताएका छन् । माओवादीलाई विधि विधानमा चलाउन विधान सम्मेलन गर्न नेताहरुले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो ।

पार्टीलाई व्यवस्थित बनाउन विधान सम्मेलन गर्ने गरी छलफल केन्द्रित भएको सचिव दीनानाथ शर्माले बताए । ‘पार्टीको विधान सम्मेलन गरेर अहिलेको संगठन स्वरुप र संरचनालाई व्यवस्थित गर्नपर्छ भन्ने सुझाव आएका छन् । पार्टी केन्द्रदेखि वडासम्म संख्या तलमाथि भइरहने, जनवर्गीय संगठनको अवस्था पनि त्योभन्दा फरक हुन सकेन । बाहिरबाट एकतामा आएकालाई यत्तिकै थपिहाल्दा पार्टी र संगठन समग्र रुपमा भद्रगोल भयो,’ रातोपाटीसँग शर्माले भने, ‘अबदेखि बलियो विधान बनाएर लागु गर्ने र अर्को महाधिवेशन नआउँदासम्म संशोधन गर्न गर्न नपाउने व्यवस्था गर्न खोजिएको छ ।’

माओवादी विधि र विधानमा चल्ने पार्टी हो भन्ने स्थापित गर्न समेत नेताहरुले विधान सम्मेलनलाई एजेण्डाको रुपमा प्रवेश गराउन थालेका हुन् । विधान सम्मेलनमा पार्टीको विधान, विचार, कार्यक्रम, नेतृत्व लगायत समग्र विषयमा छलफल हुने शर्माले बताए ।

जनयुद्धकालीन नेतृत्व, विचार, संगठन चल्न नसक्ने भएपछि समय सापेक्षतामा पार्टीलाई रुपान्तरण गर्न विधान सम्मेलन गर्न थालिएको नेताहरु बताउँछन् ।

पार्टी उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्नेगरी छलफल केन्द्रित भएको बताए । कांग्रेस, एमाले लगायत दलले विधान सम्मेलन गरेर पार्टीलाई व्यवस्थित गरेकाले माओवादीले समेत विधान सम्मेलन गर्नुपर्ने पुनले बताए ।

माओवादीले आज दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा पेस हुने एजेण्डाका विषयमा छलफल गरी टुङ्गो लगाउने भएको छ । पदाधिकारीबाट एजेण्डा फाइनल भएपछि १६ गते बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ । त्यसपछि साउन १७ गतेदेखि केन्द्रीय समिति बैठक बसेर एजेण्डामा केन्द्रित भइ छलफल गर्ने भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप