सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गौर घटनाका पीडितसँग वार्ता गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाइने

शनिबार, २० साउन २०८०, ११ : २४
शनिबार, २० साउन २०८०

काठमाडौँ । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै केही दिनदेखि आन्दोलन गरिरहेका अन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र आन्दोलनरत पक्षबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो ।

सो छलफलमा प्रधानमन्त्रीले गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्धता जनाएका छन् । १७ वर्षअघि रौतहटको राइस मिलमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडपमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको निधन भएको थियो । निधन भएका परिवारले न्यायको माग गर्दै आन्दोलन गर्दै आएका छन् । 

प्रधानमन्त्री प्रचण्डले पीडितहरुको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अगाडि बढाउने प्रतिवद्धता जनाएको संघर्ष समितिका सदस्य रुपसागर उपाध्यायले बताइन् ।

सरकारले ठोस रुपमा वार्ता सुरु गरेपछि मात्र आन्दोलन स्थगित गरिने उनले बताइन् । उनले भनिन्, ‘आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता भएको आधारमा हामी वार्ता स्थगित गर्दैनौ, उहाँले वार्ता टोली गठन गरेर गौर घटनाको बारेमा छलफल गरि अगाडि बढ्ने भन्नुभएको छ, त्यो टोली गठन भएर वार्ता सुरु भए मात्र आन्दोलन स्थगित हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । आफूहरुको माग सम्बोधन भएपछि मात्र आन्दोलन स्थगित गरिने कुरा राखेको उनले बताइन् ।  पीडितहरुले रौतहटमा केही दिनदेखि प्रदर्शन गर्दै रिले अनसन सुरु गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप