मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
गुण्डाराज

‘चरी’ र ‘घैँटे’को इन्काउन्टरपछि पलायन भएका गुण्डा फेरि सलबलाए

एसएसपी भन्छन्– गुण्डागर्दी बढ्न सक्छ, निर्मम बन्छौँ
आइतबार, २१ साउन २०८०, ०९ : ०६
आइतबार, २१ साउन २०८०

काठमाडौँ । कुनै बेला काठमाडौँमा ‘गुण्डाराज’ चल्थ्यो । गुण्डाराज अन्त्य गर्न प्रहरीले गोली चलाउने नीति लियो । २०७१ र २०७२ मा प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए ।

दुई वटा इन्काउन्टरसँगै साजन महर्जन र अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘गुण्डाराज’ विरुद्ध प्रहरीले निर्मम अपरेसन सुरु गरेसँगै गुण्डाहरूले उपत्यका छाडेका थिए । प्रहरीको ‘हिट लिस्ट’का गुण्डा दावा लामा लामो समय सिक्किममा गएर बसे । अहिले दावा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । दावा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

२०७१ साउन २१ मा काठमाडौँको भीमढुंगामा तत्कालीन अपराध महाशाखाको टोलीले दिनेश अधिकारी ‘चरी’माथि गोली प्रहार गरेको थियो । चरी नेकपा एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्व उपाध्यक्ष थिए ।

२०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा कुमार घैँटे मारिए । त्यसयता भागेका र चुपचाप बसेका गुण्डाहरू काठमाडौँमा फेरि सलबलाएका छन् ।

पछिल्लो समय गुण्डा सलबलाएका दुई वटा घटना यस्ता छन् :

घटना १ : २०७९ जेठ २६ मा दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले बालुवाटार बस्ने प्रतिष भास्कर सिंहलाई आक्रमण गरे । आक्रमणमा संलग्न थिए काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा समेत ७ जना ।

घटना २ : २०७९ असोज २५ मा प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई योजनाबद्ध खुकुरी प्रहार । बिहान ४ बजेतिर ड्युटी सकेर फर्किँदा बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा गएका ८ जनाले खुकुरी प्रहार गरे । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतले क्लब अगाडिबाट उनीहरूलाई फलो गरेर लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टे ओरालोमा कुरेर बसेका थप युवाहरू मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७९ भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण उनीहरूले आक्रमण गरेका हुन् । घटनामा संलग्न दोलखाका जीवन तामाङ, प्रदीप लामा, रामेछापका विकाश श्रेष्ठ, काभ्रेका जितेन्द्र लामा, सिन्धुपाल्चोकका राजेन्द्र कार्की र दावादोर्जे लामा उर्फ च्याङ्बा पक्राउ ।

काठमाडौँमा गुण्डागर्दीबारे अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी बढेको स्वीकार्छन् । क्लबहरूमा धम्क्याउने र हप्ता असुलीका घटना बिस्तारै बढ्न थालेका छन् । पुराना नाम चलेका गुण्डाहरू ठेक्कापट्टा र राजनीतिमा लागेपछि नयाँ गुण्डाहरूले बिस्तारै काठमाडौँमा साम्राज्य बनाउन खोज्दैछन् ।

गुण्डागर्दी बढिसकेको अवस्था नभए पनि ‘बढ्न सक्छ’ भन्नेमा प्रहरी चनाखो रहेको बताउँछन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी । उनी भन्छन्, ‘असार १५ मा ओम्निया क्लबको घटनापछि हामी निर्मम हुनुपर्छ भन्ने भएको छ ।’

थलीमा सलबलाएको ‘अरुण समूह’

काठमाडौँको थलीमा गुण्डा नाइके अरुण लामाको समूह सलबलाएको छ । अरुण समूहका ५ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । साउन १७ मा पक्राउ गरेर उनीहरूलाई हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रवीण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले छन् ।

प्रहरीले खोज्न थालेपछि अरुणको समूहमा आबद्ध मिकु तामाङ उर्फ मिकु, विकाश तामाङ उर्फ बंगाली र नोर्बु तामाङ फरार छन् ।

उनीहरूले थलीस्थित एउटा रेष्टुरेण्टमा गएर पटक–पटक झगडा गरेको र सञ्चालकलाई कुटेर दुई वटा सुनको सिक्री र दुई वटा मोबाइल लिएर गरेको आरोप छ । गुण्डागर्दीमा संलग्नहरूले सर्वसाधारणसँग विवाद गरेर डर–त्रास सिर्जना गराएका थिए ।

समूहमा गएर उनीहरूले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । 

घैँटे समूहका सानुभाइ

ठमेलस्थित क्लब ओम्नियामा गएर असार १५ मा झगडा गर्ने मुख्य आरोपी थिए, युवराज गुरुङ उर्फ सानुभाइ । युवराज गुरुङ इन्काउन्टरमा मारिएका ‘गुण्डा नाईके’ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । काठमाडौँको गुण्डा समूहमाथि निगरानी गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्ने गर्छन् ।

क्लबमा प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइसहितका युवाले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । सानुभाइ अहिले जेलमा छन् ।

ओम्निया क्लबमा भएको झगडामा संलग्न आरोपमा प्रहरीले सानुभाइसहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइ समूहका विनोद लामा र रघु लामा पनि पक्राउ परेका थिए ।

कुमार गुरुङ ‘घैँटे’ इन्काउन्टरमा मारिएपछि युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता नदिएको आरोपमा गोली प्रहार गरे । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई गतवर्ष उनले आक्रमण गरेका थिए । सानुभाइ नेपाली कांग्रेस निकट मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप