शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सांसदलाई समातेर पाकिस्तानजस्तो प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

काँग्रेसलाई सोधे, ‘कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?’
शनिबार, २७ साउन २०८०, १८ : ४९
शनिबार, २७ साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । 

उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठुलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताए । ओलीले भने, ‘देशको सबभन्दा ठुलो पार्टी नेपाली काँग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली काँग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली काँग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईँहरूलाई यसै गरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँड्ने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईँहरूलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए । 

उनले भने,  ‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिसोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाति सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ति पार्लियामेन्टमा सुनकाण्डबारे बिरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे । किन भन्दा खेरी उहिले तिमी विद्यार्थी हुँदा खेरी पढ्दा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले । तिमीले आफूले लेखेकै होइन । अर्को चिट चोरेर पास गरेको । त्यसको छानबिन गर्दैछौं । वा, हत्कडी चाहिँ लागि सक्यो । कसलाई ? एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहिँ छैन ।’

ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकार गम्भीर नभएको जिकिर समेत गर्नुभयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप