बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

‘फोक्सट्रोट चार्ली’मा सक्कली डाक्टर पक्राउ परेपछि चिकित्सक संघको आपत्ति

सीआईबीका अनुसन्धानकर्तामाथि कडा कारबाही गर्न माग
सोमबार, २९ साउन २०८०, १५ : ००
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाल चिकित्सक संघले नक्कली भन्दै सक्कली प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गर्ने काम भएको भन्दै कडा आपत्ति जनाएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसन्धानकर्तामाथि कडा कारबाही गर्न माग गरेको छ । 

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिकित्सक विरुद्ध चलाएको फोक्सट्रोट चार्लीमा २०८० साल श्रावण २५ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्य रञ्जितकुमार यादवलाई पक्राउ गरि मानसिक तनाव सिर्जना गरिएको, निजको मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ  ।

संघले नेपाल मेडिकल काउन्सिलजस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सीआईबीलाई उपलब्ध गराउने र कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर त्रासको वातावरण सिर्जना गर्ने, विरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पु-याउने तथा चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्यको जति निन्दा गरेपनि कमै हुने जनाएको छ । 

‘चिकित्सकीय तथा स्वास्थ्य सेवामा इमान्दारपूर्वक समर्पित भइरहेका जनशक्तिलाई त्रसिद बनाउने, पद र अख्तियारको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति जिम्मेवार पदमा रहि रहने अधिकार छैन’, संघका महासचिव डा सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

‘चिकित्सकहरुको मान र प्रतिष्ठासँग खेलवाड गर्ने अधिकार कसैसँग पनि नभएको एवम् यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएकोले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

 यस घटनालाई गम्भीर रुपमा लिई कानूनी कारवाही अगाडी नबढाइएको अवस्थामा कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ।  सक्कली डाक्टरलाई नक्कली भनेर पक्राउ गरेको खुलासापछि सीआईबीले सोमबार यादवलाई रिहा गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप