शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एलेक्स फर्गुसन भन्छन्– ‘लाग्थ्यो मेरो म्यानचेस्टर युनाइटेडविरुद्ध रोनाल्डो एक्लै खेलिरहेको छ’

२० वर्षअघि आजैको दिन ‘डेब्यू’ गरेका थिए रोनाल्डोले
बुधबार, ३१ साउन २०८०, १५ : ३०
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । आजभन्दा ठिक २० वर्षअघि अर्थात सन् २००३ को अगस्त १६ तारिख । त्यही दिन इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बोल्टनसँग खेलेर नयाँ सिजनको सुरुआत गर्दै थियो । युरोपियन फुटबलमा तहल्का मच्चाउने यो क्लबको प्रशिक्षक थिए, सर एलेक्स फर्गुसन ।

खेल सुरु भएको ६१ औँ मिनेटमा प्रशिक्षक फर्गुसनले एउटा १८ वर्षे ठिटालाई म्यानचेस्टर युनाइटेडको तर्फबाट ‘डेब्यू’ गराएका थिए । परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेको ती किशोर खेलाडी चार दिनअघि मात्र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । 

इङ्ल्यान्डका प्रभावशाली खेलाडी डेभिड बेकह्यामले भर्खरै म्यानचेस्टर युनाइटेड छाडेर स्पेनिस क्लब रियल म्याड्रिडतर्फ लागेका थिए । म्यानचेस्टर युनाइटेड पनि भविष्यमा बेकह्यामको स्थान लिन सक्ने युवा खेलाडीको खोजीमा थियो । 

यस्तै परिस्थितिबीच म्यानचेस्टर युनाइटेडले स्पोर्टिङ लिस्बनका यी किशोर खेलाडीमाथि आँखा लगाएको थियो । त्यतिबेला म्यानचेस्ट युनाइटेडले स्पोर्टिङ लिस्बनबाट यी युवा खेलाडीलाई भित्राउन करिब एक करोड २२ लाख पाउन्ड खर्चिएको थियो । 

बोल्टनविरुद्धको खेलमा मैदान प्रवेश गरेको ६० सेकेन्डपछि नै ती युवा खेलाडीको खुट्टामा बल पर्‍यो । त्यसपछि उनले विपक्षी खेलाडीहरूलाई छक्क्याउँदै बल अगाडि बढाए । त्यतिबेला बोल्टनको रक्षापँक्तिको जिम्मेवारी निर्वाह गर्ने प्रमुख खेलाडी थिए, निकोलस ब्रेट हन्ट (निकी हन्ट) ।  

हन्ट आफै पनि त्यतिबेला केवल १९ वर्षका थिए । निकै फुर्तिला र टेक्निकल फुटबल खेलिरहेका म्यानचेस्टर युनाइटेडका ती युवा खेलाडीलाई रोक्न हन्टलाई पनि हाम्मे परेको थियो । म्यानचेस्टर युनाइटेडले बोल्टन विरुद्दकाे खेलमा ‘डेब्यू’ गराएको ती किशोर खेलाडी थिए, वर्तमान समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो ।

ronaldo1

बोल्टनका खेलाडी हन्टले त्यो क्षण अझै बिर्सिएका छैनन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि ‘डेब्यू’ खेल खेलेको आज (बुधवार) ठिक २० वर्ष पुगेको छ । सोही अवसरमा २० वर्षअघिको त्यो खेलको स्मरण गर्दै बोल्टनका डिफेन्टर हन्टले भनेका छन्, ‘मलाई अहिले पनि राम्ररी याद छ । गजबको फुर्तिलो किशाेर थियो । उसलाई रोक्न मैले निकै परिश्रम गर्नु परेको थियो । सुरुमा मैले उसलाई सामान्य रूपमा लिएको थिएँ तर, म गलत थिएँ ।’

त्यो खेलभन्दा चार दिनअघि मात्र पोर्चुगिज खेलाडी रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले क्लबमा भित्राएको थियो । खासमा रोनाल्डोलाई क्लबमा भित्राउनुभन्दा पाँच दिनअघि स्पोर्टिङ लिस्बन र म्यानचेस्टर युनाइटेडबीच प्रि—सिजन मैत्रीपूर्ण खेल खेलिएको थियो । 

म्यानचेस्टर युनाइटेडविरुद्को त्यो खेलमा स्पोर्टिङ लिस्बनबाट रोनाल्डो पनि मैदानमा ओर्लिएका थिए । खेलमा रोनाल्डोको उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय रोनाल्डोको खेलबाट म्यान युनाइटेडका प्रशिक्षक फर्गुसन यति धेरै प्रभावित भए कि खेल सकिएलगत्तै उनले रोनाल्डोलाई क्लबमा भित्राउने प्रयास सुरु गरेका थिए । त्यसैको प्रतिफल हो, त्यो मैत्रीपूणर् खेल सकिएको नौ दिनपछि नै रोनाल्डो युरोपको प्रतिष्ठित क्लब म्यानचेस्टर युनाइटेडको जर्सीमा सजिएर मैदानमा ओर्लिएका थिए । 

म्यानचेस्टर युनाइटेड र स्पोर्टिङ लिस्बनबीच खेलिएको प्रि—सिजन मैत्रीपूणर् खेलको विषयलाई लिएर अर्को रमाइलो प्रसङ्ग पनि जोडिएको छ । त्यतिबेला म्यानचेस्टर युनाइटेडका प्रभावशाली डिफेन्डर थिए, रियो फर्डिनान्ड र जोन ओ’सिया । त्यो मैत्रीपूर्ण खेलका क्रममा रियो फर्डिनान्डले बढी उचाइमा खेल्नु परेकाले आफूलाई अक्सिजनको अभाव भएको बताएका थिए । 

त्यसको केही समयपछि म्यानचेस्टर युनाइटेडकै अर्का डिफेन्डर जोन ओ’सियाले रियो फर्डिनान्डलाई जिस्काउँदै भनेका थिए, ‘वास्तवमा त्यतिबेला उचाइका कारणले फर्डिनान्डलाई अक्सिजनको अभाव भएको थिएन । यथार्थ के हो भने उनी रोनाल्डोको लगातारको लगातारको आक्रमणबाट हैरान भएका थिए ।’

म्यानचेस्टर युनाइटेडका तत्कालीन प्रशिक्षक फर्गुसन अहिले पनि रोनाल्डोलाई क्लबमा भित्राउने आफ्नो निणर्य सटिक भएको बताउँछन् । ‘१८ वर्षको उमेरमै उसको प्रदर्शन गजबको थियो । साँच्चै भन्नु पर्दा रोनाल्डो एक्लैले मैत्रीपूर्ण खेलमा हाम्रो रक्षापँक्तिलाई हैरान पारेको थियो । म आफै पनि उसको खेलबाट मोहित भएको थिएँ,’ २० वर्षअघिको त्यो क्षण सम्झँदै फर्गुसन भन्छन् । 

ronaldo2

दुवै खुट्टाले बल प्रहार गर्न सक्ने रोनाल्डो खुसीबाट आफू सबैभन्दा बढी प्रभावित भएको फर्गुसन बताउँछन् । ‘उ अरू खेलाडीभन्दा फरक थियो । उ दुवै खुट्टाले उत्तिकै शक्तिशाली र सटिक प्रहार गर्न सक्थ्यो । कहिले दायाँ, कहिले बायाँ, अहिले अगाडि अनि कहिले मैदानको मध्य भागमा । लाग्थ्यो हामीविरुद्द मैदानमा उ एक्लै खेलिरहेको छ,’ विश्व फुटबलको सर्वाधिक सफल प्रशिक्षकमध्येका एक फर्गुसन भन्छन् । 

म्यानचेस्टर युनाइटेडमा त्यतिबेला डेभिड बेकह्यामले सात नम्बरको जर्सी लगाउँथे । बेकह्यामले क्लब छाडेपछि सात नम्बरको जर्सी कसैलाई पनि दिइएको थिएन । तर, किशोर रोनाल्डोको खेलबाट फर्गुसन यो हदसम्म प्रभावित भएका थिए कि उनले सात नम्बरको जर्सी उनलाई लगाउन दिए । ८१ वर्षीय फर्गुसन भन्छन्, ‘सायद रोनाल्डो नै त्यो खेलाडी थियो जो सात नम्बर जर्सीको सच्चा हकदार थियो । वास्तवमै रोनाल्डोले फुटबल खेल्न ईश्वरबाटै वरदान पाएको थियो ।’

बोल्टनको डिफेन्डर हन्ट २० वर्षअघिको एउटा घटना सम्झन्छन् । ‘हामी म्यानचेस्ट युनाइटेडविरुद् सिजनको पहिलो खेल खेल्ने तयारी गर्दै थियौँ । उसै पनि म्यानचेस्टर युनाइटेड बलियो क्लब थियो । त्यसमाथि खेलअघि नै डिएगो म्याराडोनाको झल्को दिने एउटा १८ वर्षे ठिटो हामी विरुद्ध मैदानमा ओर्लंदैछ भन्ने हल्ला चलिसकेको थियो,’ हन्ट भन्छन्, ‘सामान्यतः समाचार र टेलिभिजनहरू यस्ता हल्ला गरिरहन्छन् भनेर हामीले खासै वास्ता गरेनौँ । तर, जब मैदानमा रोनाल्डोसँग सामना भयो त्यसपछि हामीलाई लाग्यो समाचारको विश्वास नगरेर हामीले भुल गरेका रहेछौँ । वास्तवमै उसको खेल अभूतपूर्व थियो ।’ 

डिफेन्डर हन्टका अनुसार, त्यतिबेला रोनाल्डोलाई प्रत्यक्ष देख्ने कसैले पनि ऊभित्र अदभूत खेल क्षमता छ भनेर पत्याउँदैन थियो । ‘मैले देख्दा उ अत्यन्तै दुब्लो थियो । हुन त म आफै पनि दुब्लो थिएँ । तर, मभन्दा पनि उ निकै दुब्लो थियो । झट्ट हेदा कसैले पनि ऊभित्र अदभूत खेल क्षमता लुकेको छ भनेर सहजै विश्वास गर्दैनथ्यो,’ उनी भन्छन् । 

प्रशिक्षक फर्गुसन आफू विश्व फुटबलमा रोनाल्डोको उत्थानदेखिकै साक्षी भएको बताउँछन् । ‘म्यानचेस्टर युनाइटेडका लागि पहिलो सिजनमै उसले ६ गोल गर्‍यो । सन् २००७/०८ सिजनमा त उसले क्लबका लागि ४२ गोल गरेको थियो । म उसले आफ्नो खेल जीवनमा हासिल गरेको धेरै उपलब्धिको साक्षी हुँ । उसले म्यानचेस्टर युनाइटेडलाई घरेलु लिगको उपाधि चुमाउँदादेखि लिएर च्याम्पियन्स लिग जिताउँदासम्मको म साक्षी हुँ । अनि उसले पहिलो पटक बालन डी’ओर पाउँदाको साक्षी पनि हुँ,’ फर्गुसन भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप